आजदेखि कोहलपुरमा आठौँ उपमेयर कप छात्रा क्रिकेट



कोहलपुर (बाँके) ।

आजदेखि आठौँ यू–१९ छात्रा माध्यमिक विद्यालयस्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । कोहलपुर नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आजबाट सुरु हुने प्रतियोगिता माघ ११ गतेसम्म सञ्चालन हुनेछ । नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले विद्यालयस्तरबाटै छात्रा क्रिकेट खेलाडीहरूको पहिचान र क्षमता विकासको लागि उपमेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको बताए ।

उनका अनुसार नगरस्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता मात्र नभइ नगरपालिकाभित्र रहेका विद्यालयहरूमा क्रिकेटका लागि आवश्यक पर्ने सामाग्रीसमेत प्रदान गर्दै आइरहेको उनको भनाइ छ । कोहलपुर नगरपालिका महिला क्रिकेटको उर्वरभूमि रहेकाले महिला क्रिकेट प्रतियोगिताहरू आयोजना हुन आवश्यक रहेको उनको भनाइ थियो । उपमेयर क्रिकेट कप प्रतियोगिताले महिलाहरूलाई क्रिकेटप्रति आकर्षित गर्नुका साथै उत्प्रेरणा जगाउने विश्वास लिएको उनले बताए ।

प्रतियोगितामा सहभागी हुने विद्यालयहरूले टिम दर्ताका लागि ३ हजार रूपैयाँ बुझाउनु पर्ने नगर खेलकुद विकास सदस्य मदन विकले जानकारी दिए । उनले प्रतियोगितामा कोहलपुर नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू गरेर जम्मा १३ वटा विद्यालयले सहभागिता जनाउने जानकारी दिए । प्रतियोगितामा प्रथम हुने विद्यालयले ३५ हजार नगद, किट ब्याग, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।

यस्तै द्वितीय हुने विद्यालयले २५ हजार नगद, किट ब्याग, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट बलरलाई ५ हजार नगद, ट्रफी र उत्कृष्ट ब्याटरलाई ५ हजार नगद प्रदान गर्नुका साथै प्लेयर अफद टुर्नामेन्टलाई ५ हजार नगद प्रदान गरिने उनले बताए । कोहलपुर–११ स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार