कैलाली ।
सुदूरपश्चिम प्रदेशका पहाडी र तराई जिल्लाहरूमा निर्वाचन प्रहरीका लागि परेको आवेदन सङ्ख्यामा ठूलो अन्तर देखिएको छ । प्रदेशका केही पहाडी जिल्लामा माग गरिएको सङ्ख्याभन्दा निकै कम आवेदन परेका छन् भने तराईका जिल्लामा भने अपेक्षाभन्दा धेरैको आकर्षण देखिएको छ । यसले भौगोलिक अवस्था, पहुँच, सुविधा र जनसांख्यिकीय संरचनाले सरकारी सेवामा पर्ने प्रभावलाई पुनः उजागर गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार अछाम, डोटी, बझाङ, डडेल्धुरा र बैतडी जिल्लामा निर्वाचन प्रहरीका लागि माग गरिएको सङ्ख्याभन्दा कम आवेदन परेका छन् । जिल्ला प्रहरी कार्यालयमार्फत सार्वजनिक गरिएको विवरण अनुसार अछाममा मागभन्दा १७६ जना कम आवेदन परेको छ । अछाममा निर्वाचनका लागि एक हजार ४६३ जना प्रहरी आवश्यक रहेकोमा सो सङ्ख्यामा आवेदन नपरेको हो ।
त्यस्तै, डोटी जिल्लामा एक हजार ४० जनाको माग गरिएकामा ९० जना कम आवेदन परेको छ । बझाङ जिल्लाको अवस्था पनि उस्तै छ । त्यहाँ एक हजार ४८४ जना निर्वाचन प्रहरीको आवश्यकता रहेकोमा मागभन्दा ३८ जना कम आवेदन परेका छन् । डडेल्धुरामा भने कमी अझ बढी देखिएको छ । ९४४ जना निर्वाचन प्रहरी माग गरिएको जिल्लामा १३७ जनाको कमी देखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै कमी बैतडी जिल्लामा देखिएको छ, जहाँ एक हजार २७९ जनाको माग गरिएकामा २५९ जना कम आवेदन परेको छ । यी पाँचै पहाडी जिल्लामा आवेदन कम पर्नुका पछाडि भौगोलिक विकटता, रोजगारीका वैकल्पिक अवसरको अभाव, वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण र निर्वाचन अवधिमा खटिनुपर्ने कठिनाइ जस्ता कारणहरू रहेको अनुमान गरिएको छ ।
साथै, पहाडी जिल्लामा जनसङ्ख्या तुलनात्मक रूपमा कम हुनु पनि आवेदन सङ्ख्यामा असर पार्ने प्रमुख कारणका रूपमा हेरिएको छ ।यद्यपि, तराईका जिल्लामा भने ठीक विपरीत अवस्था देखिएको छ । कैलाली र कञ्चनपुर जिल्लामा निर्वाचन प्रहरीका लागि माग गरिएको सङ्ख्याभन्दा धेरै आवेदन परेका छन् । कैलाली जिल्लामा तीन हजार ५७६ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा पाँच हजार १५१ जनाको आवेदन परेको छ । यसले करिब १ हजार ५ सयभन्दा बढीको अतिरिक्त आवेदन देखाएको छ ।
कञ्चनपुर जिल्लामा पनि यस्तै उत्साह देखिएको छ । त्यहाँ दुई हजार ३५ जना निर्वाचन प्रहरी माग गरिएकोमा दुई हजार ९०६ जनाको आवेदन परेको छ । तराई क्षेत्रका यी जिल्लाहरूमा जनघनत्व बढी हुनु, यातायात र पहुँच सहज हुनु, तथा छोटो अवधिको रोजगारीप्रति युवाको आकर्षण हुनु आवेदन बढ्नुका मुख्य कारण मानिएको छ । यसैबीच, सुदूरपश्चिमका पहाडी जिल्लामै पर्ने बाजुरा र दार्चुलामा भने अपेक्षाभन्दा बढी आवेदन परेका छन् ।
यद्यपि यी जिल्लाको विस्तृत सङ्ख्या सार्वजनिक नगरिए पनि मागभन्दा बढी आवेदन परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसले देखाउँछ कि पहाडी जिल्लाभित्र पनि सबै स्थानमा समान अवस्था नरहेको र स्थानीय सामाजिक तथा आर्थिक अवस्थाले भूमिका खेलेको छ ।
समग्र सुदूरपश्चिम प्रदेशको तथ्यांक हेर्दा भने निर्वाचन प्रहरीका लागि माग गरिएको सङ्ख्याभन्दा आवेदन बढी परेको छ ।
प्रदेशका नौ वटै जिल्लामा गरी कूल १३ हजार ६६९ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा बिहीबारसम्म १६ हजार १९३ जनाको आवेदन परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यसअनुसार करिब ३ हजारभन्दा बढी अतिरिक्त आवेदन परेको देखिन्छ । अब प्रदेश प्रहरी कार्यालयले आवश्यकताभन्दा बढी परेको आवेदनमध्येबाट मापदण्डअनुसार छनोट प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
कम आवेदन परेका जिल्लामा अन्य जिल्लाबाट आवश्यक जनशक्ति व्यवस्थापन गर्ने विकल्पसमेत खुला राखिएको छ । आगामी निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित बनाउन पर्याप्त प्रहरी परिचालन अनिवार्य हुने भएकाले आवेदन सङ्ख्याको सन्तुलन मिलाउने कार्य प्रहरी प्रशासनका लागि चुनौतीपूर्ण तर आवश्यक विषय बनेको छ ।









प्रतिक्रिया दिनुहोस्