नेपालगन्जमा व्यापार महोत्सव सुरु



नेपालगन्ज ।

नेपालगन्जमा बुधबारबाट आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा बाँकेको आयोजना सुरु भएको महोत्सवको लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सिता चौधरीले उद्घाटन गरिन् ।

महोत्सव उद्घाटन गर्दै मन्त्री चौधरीले महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, घरेलु तथा साना उद्योगको बजार विस्तारमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् । प्रदेशसभा सदस्यहरू रत्न खत्री, अम्बिका काफ्ले लगायतको पनि सहभागिता रहेको उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, उद्योगी र व्यवसायिक क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम उद्घाटनअघि विभिन्न समुदायको संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिएको थियो । कृषि तथा पर्यटन क्षेत्रको प्रचार, प्रवद्र्धन र विकास गर्न तथा उपभोक्तालाई नयाँ प्रविधिसँग परिचित गराउन महोत्सव गर्न लागिएको आयोजकको भनाइ छ । महोत्सवको मुख्य आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने पनि आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका व्यापारिक स्टल, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि सामग्री, सूचना प्रविधिसम्बन्धी सामाग्री प्रदर्शनी पनि अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । महोत्सवमा विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता पनि आयोजना गरिने जानकारी दिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार