कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा जारी कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कोहलपुर महोत्सव–२०८२ मा आयोजित विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिताको उपाधि कोहलपुर–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलले जितेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल प्रतिष्पर्धामा पाँच वटा विद्यालयहरूलाई पछि पार्दै गोरखाले उपाधि जितेको हो ।
उपाधि जितेको गोरखाले नगद् ५० हजार रूपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । कूल ३ सय पूर्णाङ्कको प्रतियोगिताले गोरखाले २१५.५ नम्बर प्राप्त गरेको थियो । कोहलपुर महोत्सव कला, संस्कृति तथा अतिथि सत्कार उप–समितिका सह–संयोजक देवीलाल सुनारका अनुसार निम्बल एकेडेमी स्कुलले १९३ नम्बर प्राप्त गर्दै द्धितीय र जनज्योति माध्यमिक विद्यालयले १९२.५ नम्बर प्राप्त गर्दै तृतीय स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा द्धितीय र तृतीय स्थान प्राप्त गरेका विद्यालयले नगद् ३० हजार र २० हजारसहित प्रमाणपत्र प्राप्त गरेको उनले जानकारी दिए ।प्रतियोगितामा कूल १६ वटा विद्यालयले सहभागिता जनाउने भनेपनि प्रतिष्पर्धामा दुई वटा विद्यालय अनुपस्थित रहेका थिए । फाइनलमा ६ वटा विद्यालयले प्रतिष्पर्धा गरेका थिए ।
विजेता विद्यालयहरूलाई कोहलपुर महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले पुरस्कार वितरण गरेका थिए । कला, संस्कृति तथा अतिथि सत्कार उप–समितिका संयोजक चण्डीप्रसाद गैरेले कोहलपुरस्तरमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्