शिवु खनाल । दाङ ।
प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । बुधबार लमहीका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको झण्डै २८५ लिटर अवैध मदिरा नष्ट गरेको हो । वडा प्रहरी कार्यालय लमहीबाट केही दिनदेखि अभियानको रुपमा रहेको घरेलु अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणमा बरामद गरी जनप्रतिनिधि, पत्रकार, भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको हो ।
वडा प्रहरी कार्यालय लमहीमा संकलन गरिएको अवैध मदिरा बुधबार नष्ट गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिए । ‘अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बरामद गरेर नष्ट गरेका छौँ,’ उनले भने । उनले लमही बजारमा रहेका विभिन्न होटलहरुमा घरेलु अवैध मधिरा अवैध रुपमा बिक्री वितरण भइरहेको खबर प्राप्त हुना साथ वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लमही ५ लमही बजार, रातोडाँडा, लमही गल्ली र सनलाइटचोक समेतका बजार क्षेत्रहरुमा रहेका विभिन्न होटलहरुमा अवैध रुपमा राखिएको अवस्थामा फेला परेको घरेलु मदिरा (रक्सी) राखिएका निलो रङको २० लिटरका जर्किनमा रहेको जर्किन ३ थान, पहेलो रङको १० लिटरका जर्किन ७ थान, निलो रङको १० लिटरका जर्किन ३ थान, पहेँलो रङको ५ लिटरका जर्किन १९ थान, मिनिरल बोत्तल १५ थान, सिसाको क्वाटर ६० थान गरी जम्मा २ सय ८५ लिटर घरेलु अवैध मदिरा फेला परेकोले बताए ।
रितपूर्वक बरामद गरिएका उक्त घरेलु मदिराको तरल पदार्थ सरकारले तोकेको मापदण्डबमोजिम नभएकाले स्थानीय जनप्रतिनिधि, पत्रकारको रोहबरमा वडा प्रहरी कार्यालयको परिसरभित्र खाल्डो खनी नष्ट गरिएको प्रहरी प्रमुख पाण्डेले बताए । चाडपर्वको समयमा लमहीमा सबैभन्दा बढी घरेलु मदिरा खपत हुने गरेको छ । प्रहरीले विगतका वर्षमा चाडपर्वको समयमा ठूलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ । यसैगरी प्रहरीले अवैध रुपमा मदिरा उत्पादन गर्दै आएको घरमा लुकाइ राखेको अवस्थामा कच्चा पदार्थ पनि नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
समाजमा विशेषगरी चाडपर्वको समयमा घरेलु मदिरा सेवन गरी झैझगडा लगायतका गतिविधिहरु बढ्दै गएपछि प्रहरीले यसलाई नियन्त्रण गर्न अभियानलाई तीव्रता दिएको हो । आगामी दिनमा यस कार्यलाई स्थानीय निकायहरुसँग समेत समन्वय गरी ग्रामीण क्षेत्र तथा गाउँस्तरमा समेत यो तीव्रता दिई सर्च अभियान सञ्चालन गरी अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने कार्यलाई नियन्त्रण गरिने पाण्डेले बताए ।
प्रहरीले सञ्चालन गरेको यस कार्यले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने कार्यमा गतिलो टेवा पुगेको स्थानीय समाजसेवी शसिराम नेपालीले बताए ।








प्रतिक्रिया दिनुहोस्