नेपालगन्ज ।
भेरी अस्पतालमा रहेको लैंगिक हिंसापीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्रबाट विगत तीन वर्षमा एक हजार एक सय सत्र जना पीडितले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । केन्द्रको तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा सेवा लिनेहरुको संख्या बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७९–८० मा तीन सय ५२, २०८०–०८१ मा तीन सय ६६ जना र आव २०८१–८२ मा तीन सय ९९ जना पीडितले सेवा लिएका छन्।
गत आर्थिक वर्षमा सेवा लिएकामध्ये १२ जना पुरुष रहेकोमा अरु सबै महिला रहेका केन्द्रका इन्चार्ज फरेन्सिक विशेषज्ञ डा.अर्विन शाक्यले जानकारी दिए । सबैभन्दा बढी १९ देखि ४९ वर्ष उमेरका दुई सय ३६ जना रहेकोमा १२ जना १० वर्षमुनिका बालबालिका रहेका छन् ।
गत वर्ष केन्द्रमा आएका पीडितहरुमध्ये सबैभन्दा बढी दुई सय ३३ जना शारीरिक हिंसामा परेका, ९२ जना मानसिक हिंसामा परेका, ९० जना बलात्कामा परेका, २५ जना यौन हिंसामा परेका, ४२ जना बहुविवाहबाट पीडितहरु रहेका छन् ।
चालू आर्थिक वर्षको भदौसम्म ८४ वटा नयाँसहित ९० जना पीडितहरु केन्द्रमा आएका तथ्यांक छ । तीमध्ये सबैभन्दा बढी शारीरिक हिंसाका ४८ जना पीडितहरु रहेका छन् भने बलात्कारका पीडितहरु ३१ जना, मानसिक हिंसाका २० जना रहेका छन् । भेरी अस्पतालमा आउने केशहरुमा सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् भने सबैभन्दा कम जानकी गाउँपालिकाका रहेका छन् ।
करिब १३ प्रतिशत पीडितहरु अन्य जिल्लाका पनि रहेका शाक्यले जानकारी दिए । २०७४ सालमा स्थापना भएको केन्द्रमा हाल चारवटा कक्ष रहेको र सेवालाई थप प्रभावकारी बनाउँदै लगिएको शाक्यको भनाइ छ । यसैबीच लैंगिक हिंसा पीडितको न्यायमा एकद्वार संकट व्यवस्थापन केन्द्रको भूमिकाका विषयमा मंगलबार अन्तक्र्रिया कार्यक्रम पनि गरिएको छ । लंंैगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा पीडितको न्यायमा पहुँचका लागि गर्न सकिने सुधारका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै शाक्यले पीडितको पहिचानमै सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै पहिचान भइसकेपछि पनि कानुनी जटिलता, प्रहरीमा उजुरी गर्न नचाहने, सीमित जनशक्ति र बजेटको चुनौतीहरु रहेको बताएका थिए । कार्यक्रममा बोल्दै चिकित्सक तथा अधिकारकर्मीहरुले भेरी अस्पतालमा फरेन्सिक विशेषज्ञसतिको टिमले केन्द्रबाट सेवा दिनु सुखद रहेको र सेवालाई थप व्यवस्थित बनाउँदै लैजानुपर्ने बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्