1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

शिविरबाट पाँच सय जना लाभाम्वित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ९, २०७५  

बर्दिया/  ग्रामीण भेगका बालबालिकाहरु फोहर पानी भएको पोखरीमा पौडी खेल्ने र नुहाउने गरेको कारण अधिकाँश बालबालिकाहरुको कानमा स्वास्थ्य समस्या सिर्जना भएको तथ्य बाहिर आएको छ । उक्त तथ्य बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खैरेनी गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आएका अधिकांश बालबालिकाहरुको कानमा यस्तो समस्या देखिएको हो ।

नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका बालरोग विशेषज्ञ डा. अनुप सिंहका अनुसार शिविरमा आएका अधिकांश बालबालिकाहरुमा फोहर पानीले नुहाउँदा पानी पसेर कानमा समस्या देखिएको बताए । पटक पटक रुघा लागेर समयमा उपचार नपाएको कारण बालबालिकाहरुको कान पाकेको, कान पटक पटक कान पाक्यो भने श्रवण शक्ति ह्रास हुँदै जाने र पठनपाठनमा समेत समस्या उत्पन्न हुँदै जाने डा. अनुप सिंहले बताए । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँके अन्तर्गत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा आएका सर्वसाधारणलाई चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

केन्द्रकी अध्यक्ष श्रीमती लता शर्माले दिएको जानकारी अनुसार शनिबार बिहान १० बजेदेखि साँझसम्म सञ्चालित उक्त शिविरबाट गेरुवा गाउँपालिका अन्तर्गतका ३३६ जना महिला र १६१ जना पुरुष समेत ४९७ जना सर्वसाधारण स्वास्थ्य सेवाबाट लाभान्वित भएका थिए भने सबभन्दा कम उमेर ३ महिनाको बालबालिकादेखि ८६ वर्षिय वृद्ध तथा ८० वर्षिया महिलाले स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि प्राप्त गरे । ९५ प्रतिशत भन्दा बढी थारु समुदायका सेवाग्राहीहरुको भीड लागेको थियो ।

सो शिविरमा स्वास्थ्य परीक्षणमा संलग्न नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा. नेत्रप्रसाद बन्जाडेका अनुसार फोहर पानी, खानपान, थारु जातिमा रक्सी मासु माछाको अत्यधिक प्रयोगले गर्दा पनि बाथ रोगको समस्या, आँखाको दुखाई, आँखाबाट पानी बग्ने, मोतिया विन्दू, कानबाट पिप बग्ने, छालाको समस्या, छाती र पेट दुख्ने, जिउ दुख्ने, चिलाउने आदि सम्बन्धि समस्याबाट पीडित देखिएका थिए । नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा. क्योक्यो सिंहका अनुसार अधिकाँश महिलाहरुमा पाठेघरको समस्या, बच्चा नपाउने समस्या, सेतो पानी बग्ने लगायतका समस्या देखिएको छ ।

स्थानीय श्री ज्ञानज्योति माध्यमिक विद्यालय परिसरमा सञ्चालित सो शिविरमा बढैयाताल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कर्ण बहादुर थापा, बढैयाताल गाउँपालिका स्वास्थ्य विभाग इञ्चार्ज डा. विष्णु प्रसाद पौडेल, सहइञ्चार्ज रमेश पौडेल, वडा सदस्यहरु रामाश्रय थारु, कमला गुरुङ, कौशिला विक, रामलाल थारु, युवा अगुवा रमेश सुवेदी, को सक्रिय सहयोग र सहभागिता रहेको थियो । वडा अध्यक्ष थापाले आयोजक संस्था र चिकित्सकहरुलाई शिविर सञ्चालन गरेर स्थानीय वासिन्दालाई सेवा दिएकोमा आभार व्यक्त गर्दै आगामी आर्थिक वर्षमा पनि यस किसिमको शिविर सञ्चालन गर्न सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले गाउँको नजिक कुनै पनि सुविधा सम्पन्न अस्पताल, स्वास्थ्य चौकी र मेडिकल हल समेत नभएको हुँदा धेरै ग्रामीण समुदायका विपन्न वर्गका नागरिक लाभान्वित भएको बताउनु भयो । आयोजक संस्थाका उपाध्यक्ष तारा केसी, कोषाध्यक्ष ममता आचार्य, नितेश गिरी, निखिल जायसवाल, स्वास्थ्यकर्मी राजेन्द्र वर्मा लगायतले सहयोग गरेका थिए ।

प्रकाशित मितिः आइतवार, मंसिर ९, २०७५     9:43:25 PM  |