18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

चालक र सह–चालकमा आँखाको एलर्जीको समस्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस २७, २०७७  

कोहलपुर ।

सवारीका चालक तथा सह–चालकहरुलाई आँखाको एलर्जीको समस्या धेरै भएको पाइएको हो । बाँकेको कोहलपुर चौराहामा आइतबार गरिएको चालक सह–चालकको स्वास्थ्य परीक्षणको क्रममा आँखाको एलर्जीको समस्या धेरै देखिएको हो ।

जिल्ला ट्राफिक कार्यालय बाँकेले फत्तेबाल आँखा अस्पताल, नेपाल प्रहरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा सवारी चालक तथा सह–चालकको निःशुल्क स्वास्थ्य तथा आँखा परीक्षण गरेको थियो ।

सो क्रममा सबैभन्दा धेरै चालक तथा सह–चालकमा आँखाको एलर्जीको समस्या धेरै पाइएको स्वास्थ्य परीक्षणमा संग्लन शिक्षण अस्पताल कोहलपुर चिकित्सक डा. देवेन्द्र आचार्यले जानकारी दिए ।

‘स्वास्थ्य परीक्षणको क्रममा उहाँहरुमा धेरै आँखाको एलर्जीको समस्या देखियो’ उनले भने, ‘धुलो धुवाँका कारण पनि त्यस्तो भएको हुनसक्छ ।’ सवारी दुर्घटना न्यूनिकरणका लागि गरिएको निःशुल्क स्वास्थ्य जाँचमा २२२ चालक र सह–चालकको स्वास्थ्य तथा आँखा जाँच गरिएको ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा २ जनालाई उच्च ब्लड प्रेसर, ३ जनालाई दूरदृस्टी समस्या र ८० जनालाई आँखा सम्बन्धी एलर्जी देखिएको स्वास्थ्य परीक्षणमा संग्लन चिकित्सकहरुले जानकारी दिए । समस्या देखिएका सबै चालक र सह–चालकलाई तत्कालका लागि सामान्य औषधी दिई विशेषज्ञ चिकित्सकलाई देखाउन आग्रह गरिएको थियो ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजु भण्डारी समय समयमा यस्ता खाले कार्यक्रमहरु गरिने जानकारी दिए । ‘सवारी चालक र सह–चालक स्वस्थ भएमा यात्रुहरु आफ्नो गन्तव्यमा सहि तरिकाले पुग्न सक्छन्’ उनले भने, ‘सोही कारणले नै हामीले स्वास्थ्य परीक्षण कार्यक्रम राखेका हौं ।’

आगामी दिनहरुमा सवारी चालकका लागि आँखा विशेषज्ञ नै ल्याएर आँखा जाँच कार्यक्रम राख्ने योजना बनाइएको जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, पुस २७, २०७७     11:00:54 AM  |