नेपालगन्जमा डोजर लगाएर हटाइए संरचना



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिकाले अपांगमैत्री फुटपाथ निर्माण र वृक्षरोपण गर्ने भन्दै डोजर लगाएर सडकपेटी खाली गराएको छ । उपमहानगरले यसअघि १५ दिनको सूचना जारी गरेर नालाबाट ७ फिटभित्रका संरचनाहरू आफैँ हटाउन भनेकोमा स्थानीयहरूले अटेर गरेपछि डोजर लगाएर आफैँ हटाएको हो । त्यसक्रममा नगरप्रमुख प्रशान्त बिष्ट र प्रमुख प्रशासकीय अधिकृत रामहरी जोशी पनि उपस्थित थिए। तर उपमेयर कमरुद्दिन राई उपस्थित थिएनन् ।

त्यसक्रममा अधिकांश अस्थायी संरचना, सडक क्षेत्रमा लगाइएका टायल तथा पर्खालजस्ता संरचनाहरू हटाइएको थियो । धम्बोझी चोकनजिकै रहेका दुईवटा घरका स्थायी संरचना भने घरधनी आफैँले हटाउने गरी काम सुरु गरेका छन् । नगरप्रमुख बिष्टले पटक–पटक सार्वजनिक सूचना जारी गरेर सचेत गराउँदासमेत अवैध संरचना नहटाइएपछि डोजर लगाएर संरचना हटाइएको बताए । अब केही दिनमा फुटपाथ निर्माणको काम सुरु हुने उनले बताए ।

हाललाई सुर्खेत रोडको पश्चिमपट्टी फुटपाथ बनाइने र अर्काे चरणमा पूर्वपट्टीका साथै कारकाँदो चोकसम्मै फुटपाथ बनाइने योजना रहेको उनले बताए । नेपालगन्ज उपमहानगरपालिकाले कात्तिक १८ गते नेपालगन्जको विपीचोकदेखि धम्बोझीसम्म फुटपाथ निर्माण तथा वृक्षरोपण गरिने भन्दै नालाको बाहिरी किनाराबाट ७ फिटभित्रका संरचना हटाउन सूचना जारी गरेको थियो । उक्त सूचनामा संरचना हटाउन दिइएको समय सकिँदा पनि स्थानीयहरूले संरचना हटाएका थिएनन् ।

उपमहानगरले साविकको नेपालगन्ज मेडिकल कलेज हाल सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजका साथै केही विपी चोकसम्मका संरचनाहरू जोगाउने गरी सूचना जारी गरेको थियो । २०८० सालको माघ महिनाबाट गणेशमान चोकबाट सुरु भएको उक्त योजना नेपालगन्ज मेडिकल कलेजसम्म सात सय मिटर मात्रै सम्पन्न भएको छ । तर, त्यसभन्दा यता निर्माणका लागि त्यहाँ भएका पसल र मेडिकल कलेजले संरचनाहरू भत्काउन मानेनन् । उपमहानगरले ती संरचना भत्काउन पहल गरेन् ।

संरचना नभत्काएकै कारण ठेकेदारले उक्त काम पूरा गर्न नसकेपछि अहिले पुरानो ठेकेदारलाई उपमहानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाएको छ । उक्त ठेकेदारले पहिलोपटक गरेको निर्माणकार्य कमसल रहेपछि पुनः पहिले लगाइएको टायल उप्काएर नयाँ टायल बिछ्याउँदै समय व्यतित गरेको थियो । पुरानो ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाएको उपमहानगरले सडक क्षेत्र मिचेर संरचना बनाएका र हटाउन अटेर गरिरहेका मेडिकल कलेज, केही पुस्तक तथा किराना पसल र औषधि पसललाई जोगाउनेगरी नयाँ योजना अघि सारेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १२ गते शुक्रबार