गाउँ र सहरको फ्युजन, कसरी होला खुसी जीवन ?



जीतबहादुर शाह

विद्यालयमा पढ्दा कहिलेकाहीँ शुक्रबारे कार्यक्रममा ‘सहरभन्दा गाउँ राम्रो’ भनेर वादविवाद प्रतियोगितामा सहभागी भएको याद छ र विषयको पक्ष वा विपक्षमा आफ्ना विचारहरू अभिव्यक्त गरेको पनि याद छ । विचारहरू जेजस्तो प्रस्तुत गरिए पनि तोकिएको पाठ्यक्रमबाट गाउँ नै राम्रो हो भन्ने आसयमा विषयवस्तुको तय गरिन्थ्यो । विषयको मर्म यस्तो भए पनि हाम्रो कर्म भने सहरोन्मुख हुँदै गएछ । सहरीकरण हुनु पनि राम्रै हो, तथापि त्यसका राम्राभन्दा नराम्रा पक्षको उपभोग र प्रयोगमा हामी बढी अभ्यस्त हुन थालेछौँ । हाम्रा गुरुहरूले पनि हामीलाई वादविवाद प्रतियोगितामा सहरभन्दा गाउँ राम्रो भने पनि उनीहरू पनि अलिअलि बचत गरेको पैसा सहरतिरै घरघडेरी जोड्न थालेछन् ।विद्यार्थीहरूलाई धनभन्दा विद्या ठूलो भनेर वादविवाद प्रतियोगितामा हामीलाई प्रवचनका लागि विषयवस्तु रटाए पनि आफूले भने विद्याको कोठामा ताल्चा लगाएर धनको कोठालाई भरिभराउ बनाउने ध्याउन्नमा लाग्न थालेछन् । उमेर बढ्ने क्रममा यो कुराको बारेमा भेउ पनि बढ्दै गयो ।

संसारमा हुने हरेक कार्य, विषयवस्तु र गतिविधिहरूका सकारात्मक र नकारात्मक दुवै पक्षहरू हुने गर्दछन् । सहरीकरण पनि दुवै पक्षलाई स्वीकार गर्दै हाम्रा वस्तीहरू हुँदै विश्वस्तरमा आक्रामक तरिकाले प्रवेश गरिरहेको छ । अरु पक्ष र क्रियाकलापहरूमा जस्तै सहरीकरण जस्तो मानवीय क्रियाकलापहरूमा पनि मानिसका लागि सकारात्मक र नकारात्मक पक्षहरू दुवै एकैसाथ आइरहेका छन् । यस्तो अवस्थामा हामी मानिसहरूले हाम्रा क्रियाकलापहरूलाई सेचततापूर्वक खुसीका साथसाथै गम्भीरसमेत भएर हाम्रा क्रियाकलापहरू सम्पादन गर्नुपर्ने देखिन्छ ।
अल्पविद्या भयङकरी भनेझैँ हामीले सहरीकरणका राम्रा कुराहरूको साथै खराबीहरूका बारेमा सचेत हुन सकेनौँ भने हामीलाई सहरीकरणले कहिल्यै उत्रिन नसक्ने गरी सधैँका लागि डुवाउने स्थिति छ । पिसाबको न्यानोलाई सधैँको न्यानो सम्झेर हामी पनि सहरीकरणमा अन्धाधुन्ध किसिमबाट हाम फाल्यौँ भने हाम्रो हाम फाल्ने काम पौडी खेल्न नजानेरै नदीमा हाम फालेको मान्छेको जस्तै हुने सम्भावना छ । सम्भावनाहरू मात्र होइन कि लक्षणहरू समेत त्यस्तै त्यस्तै देखा परिरहेका छन् ।

देश विकास गर्नु पर्छ भन्ने सामाजिक अभियन्ता र राजनीतिकर्मीहरू मुलुकलाई समुन्नत बनाउँदै समाजवाद र साम्यवाद ल्याउने कुरा गर्दछन् । मलाई त लाग्छ, हाम्रा गाउँहरूमा उनीहरूले कुरा गर्नु पहिले नै समाजवाद र साम्यवादका शिलस्वभावहरू परम्परादेखि नै चलिरहेका थिए र छन् । मानिसहरू अरिमोपरिमो गर्दै एउटा घरकोले अर्को घरकालाई सहयोग गर्ने चलन थियो जो अहिले अलि कमजोर हुँदै गए पनि चलिरहेकै छ । गाउँवस्तीको कुनै मानिसलाई रोगव्याधीले दुःख दियो भने सरसापट र एैँचोपैँचोको माध्यमबाट अप्ठ्यारोमा काम चलाउने चलन पहिले पनि थियो र त्यो चलन अहिले पनि छ । गाउँभरिको कार्यतालिका मिलाएर एकले अर्कोलाई सहयोग गर्दै खेत रोपाइँ गर्ने चलन अहिले पनि छ । आआफ्ना जाति र समुदायका मानिसहरू जम्मा भएर पूजाआजालगायत चाडपर्व मान्ने चलन अहिले पनि छ । एउटाको घरमा निकोमिठो पाक्यो भने छरछिमेकसम्म बाँडचुड गरेर खाने चलन अहिले पनि छ । मलाई त लाग्छ, यी र यस्तै हाम्रा परम्परागत चलनहरू हामीले भन्ने गरेका समाजवाद र साम्यवादका बीउ चलनहरू हुन् जसलाई समाजवाद र साम्यवादलगायत सहरीकरणको अन्धानुकरण गर्नेेहरूबाटै कमजोर पार्ने कामहरू भइरहेको देखिन्छ ।

कुरा यो पनि प्रष्ट छ कि बिनायोजना अर्थात् आफ्नो योजना नबनाइ अरु कसैको योजनाअनुसार चल्नेहरूले अरुकै स्वार्थअनुसार काम गर्नुपर्ने हुन्छ । योजना बनाउनेको योजनाले उसलाई घाटा र हामीलाई नाफा कहिल्यै हुँदैन । अहिले सडक गाउँवस्तीसम्म सडक बनाउने काम ऋण सहयोग लिएर भए पनि सरकारले गरिरहेको छ तर त्यसमा गाडी कुँदाउने काम केही निश्चित हुनेखाने वर्गले गरिरहेका छन् भने सबैभन्दा ठूलो फाइदा विदेशी उद्योगपतिहरूले लिइरहेका छन् । हाम्रो सडक अघि बढ्दैछ, सडक सँगसँगै उनीहरूको उत्पादनहरूको बजार पनि अघि बढ्दैछ । हाम्रो सडक विस्तार भएमा हामीले के सामानहरू निर्यात गर्ने र के सामान आयात गर्ने बारेमा हामीसँग योजना भएन । त्यसैले पनि अहिले कर्णालीका कुना कुना र दुर्गम वस्तीसम्म रूपैडिहा पारीबाट काउली, सुन्तला, स्याउ र पेय पदार्थहरू पुगिरहेका छन् । हाम्रा गाउँवस्तीहरूका उर्वर फाँटहरू झाडी र बुट्यानमा परिणत भइरहेका छन् । हामीले निर्यात गर्ने भनेकै हाम्रा चेलीबेटी र युवाहरू हुन् भने आयात गर्ने भनेका जङ्कफूड, विदेशी उत्पादन, विदेशी संस्कार र संस्कृतिहरू हुन् ।

सहरीकरणकै कारणले हामीसँग भएको समाजवाद सुहाउँदो संयुक्त परिवारको प्रणाली अहिले खुम्चिएर आमाबाबा र छोराछोरीमा सीमित भएको छ । पहिले चालिसपचास जनाकै एउटा परिवार हुन्थ्यो । जहाँ हजुरबुवा र हजुरआमादेखि पनाति र पनातिनीसम्म सँगै बस्ने गर्दथे । बालबालिकाहरूका लागि मेहेनेत गर्न सिक्ने, माया गर्न सिक्ने, पुराना परम्परा र संस्कृतिहरू सिक्ने कार्यका लागि उक्त संयुक्त परिवारले एउटा सिङ्गो समाजकै भूमिका निर्वाह गर्दथ्यो । अहिलेको सहरीकरण हुँदै गएको समाजमा सबैभन्दा ठूलो चुनौती बालबालिका र बुढाबुढीहरूलाई भइरहेको छ । बालबालिकाहरूलाई रेखदेख गर्ने घरमा कोही छैन । बाहिर निस्केर खेल्नका लागि कतै खाली ठाउँ छैन । पार्क त छन् तर अलि टाढा छन् । व्यापारिक प्रयोजनले निर्माण गरेका पार्कहरूमा बालबालिकालाई पु¥याएर फर्काउनका लागिसमेत मान्छे छैन । संयुक्त परिवार वा अर्को शब्दमा समुदायबाट हुँदाका बखत बुढाबुढीहरूलाई समेत दिन बिताउन सजिलो थियो । सहरीकरणले अरु सुविधा त दियो होला हामीलाई तर समुदायवादको यो धारणालाई भने समाप्त पार्दै लिएको निसन्देह साँचो हो ।

गाउँमा घरहरू टाढा भए पनि मनहरू नजिक थिए, गाउँभरिका घरहरूमा सानादेखि ठूलासम्म सबैसँग चिनजान र हार्दिकता हुन्थ्यो भने अहिले सहरमा एउटै घरको भिन्न कोठामा बस्ने मानिसहरूसँग पनि उठबस र परिचय छैन । सडक, यातायात, टेलिफोन, मोबाइल, इन्टरनेट आदिले मानिसहरूको बीचको भौगोलिक दूरी त घटायो तर मनको दूरी भने बढाएको अवस्था छ । स्वास्थ्य र शिक्षाका सुविधाहरू पनि बढेका छन् तर त्यहाँ हुनुपर्ने मानवीयता र हार्दिकताहरू पातलिएका छन् । दाम छैन भने हुने काम पनि नहुने अवस्थामा पुगेको स्थिति छ । उपचार हुन सम्भव रोगहरूको उपचारका लागि पैसा नभएर पनि कतिपय मानिसहरू अकालमै मृत्युको मुखमा परिरहेका छन् । सहरमा सँगै बसौँ, भलाकुसारी गरौँ, खेलौँ, हाँसौँ भने पनि शुल्क तिरेर होटेल, कटेज र बारतिर जानुपर्छ । गाउँमा जस्तो भलाकुसारी र कामकाजका लागि चौतारो, मेला र पाखोबारी सहरमा भेट्न गाह्रो छ । गाउँमा उहिलेउहिले मान्छे भेटिए भने भर लाग्यो अहिले सहरतिर मान्छे भेटिए भने डर लाग्ने स्थितिको सामना मानिसहरूले गरिरहेको अवस्था छ । आज त घरमा एक्लै छु, आफ्नै पाराले मस्ती गरेर बसिन्छ भनेर फेसवालमा स्टाटस लेख्नेहरूलाई घरमै गएर मान्छेहरूले इज्जत लुट्ने गरेका घटनाहरू पनि अनौठा मानिँदैनन् अहिले ।

मानिस जन्मजात प्रकृतिप्रेमी हुन्छ । यसको प्रमाण भनेको सहरको सुविधामा हुर्किएको मानिस पनि गाउँवस्तीको नजिक रहेको वनजंगल, हिमाल, खोलानाला आदि भएको ठाउँमा पुग्यो भने रमाइलो महसुस गर्छ । अबको हामी सबैको ध्यानाकर्षणको विषय भनेको मानववस्तीलाई गाउँमा भएका प्राकृतिक रमणीयता र मानवीय भावनालाई प्रवर्धन गर्ने गरी सहरीकरण गर्ने हो । तथापि त्यसो हुन नसकिरहेको अवस्था छ ।
बरु गाउँवस्तीहरू पनि सहरको साँस्कृतिक एवम् वातावरणीय प्रदूषण, अमानवीय र अनैतिक व्यवहार, नाफा र भौतिक सुविधामुखी क्रियाकलाप आदिबाट आक्रान्त हुने क्रम बढ्दो छ । यसरी मानवीय भावना र हार्दिकता खुम्चिँदै जानुको अर्थ मानिसले खुसी र शान्तिपूर्वक बाँच्नका लागि उपयुक्त स्थानहरू गुमाउँदै गएको लक्षण हो । एउटा मानिसले अर्को मानिसलाई भेट्दा खुसी हुने समय सकिँदै गएको आभास हुन थालेको छ मानिसलाई । यो भनेको मानवीय हिसाबले वस्तीयोग्य वातावरणको मरुभूमिकरण हो भन्दा अतिसयोक्ति नहोला । माथि उल्लेख गरिएझैँ कतिपय मुलुकहरूले गाउँको जस्तो अर्गानिक खानपान, स्वच्छ हावापानी, हार्दिकतापूर्ण मानवीय व्यवहार र सहरको जस्तो सुविधा भएका वस्तीहरूको विकास गर्ने कार्यहरूको आरम्भ गरेका छन् । हाम्रै मुलुकमा रहेको लमजुङ जिल्लाको बेसीसहर नजिक रहेको घले गाउँलाई उदाहरणको रूपमा लिन सकिन्छ । जसलाई स्मार्ट भिलेज र सार्क राष्ट्रको नमुना गाउँ भनेर चिनिन्छ ।

यसगाउँका पूर्वाधारहरू पत्थरबाट बनेका छन् र छत रातो जस्ताका छन् । गुरुङ जातिको संस्कृति र परम्परालाई जगेर्ना गर्ने गरी घाटु, सोरठी, सेलो नाचको प्रदर्शन गरिन्छ । अर्गानिक खानपानको प्रवन्धन गरिन्छ । हरेक घरमा होमस्टेको व्यवस्था छ । यसरी हुने आम्दानीको केही अंश सामुदायिक कोषमा जम्मा गरी समुदायको सहयोग र विकासका निम्ति लगानी गरिन्छ । यहाँका बासिन्दा र आगन्तुक पाहुनाहरूलाई स्वागत, आतिथ्यता, सम्मान र मानवीय भावनाको सवालमा खुसी हुने गरी व्यवहार गरिन्छ । यत्ति भएर पनि सहरमा हुने शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडक र सञ्चारको सुविधालाई पनि पर्याप्त मात्रामा विस्तार गरिएको छ । त्यसो त स्याङ्जाको सिरुबारी, तनहुको बन्दीपुर, कास्कीको घान्द्रुक र बर्दियाको डल्लागाउँलाई समेत घलेगाउँलाई जस्तै अघि बढाउन प्रयास गरिएको छ तथापि यी प्रयासहरू नगण्य रूपमा रहेका छन् ।
अन्य मुलुकको कुरा गर्नुपर्दा पाकिस्तानको उत्तरी भूभागमा रहेको हुन्जा उपत्यकालाई नमुनाको रूपमा लिन सकिन्छ जहाँका मानिसहरू स्वच्छ हावापानी र अर्गानिक खानपानका कारणले उनीहरूको औषत आयु र प्रजनन उमेर अन्य पाकिस्तानीहरूभन्दा बढी छ र उक्त उपत्यका सहरको सुविधामा पनि कमजोर छैन, जहाँका मानिसहरूको साक्षरतादर ९५ प्रतिशतभन्दा बढी रहेको छ भन्ने कुरा अध्ययनबाट जानकारी लिन सकिन्छ ।

यसरी नै अमेरिकाको न्यूयोर्कमा इथाका सहर नजिकको गाउँमा वातावरण र मानवतामैत्री गाउँ छ, जहाँका मानिसहरूको बस्ने घर अलगअलग भएपनि भान्सा व्यवस्था साझारूपमा गरिएको छ, यसले गर्दा खानपानको समयमा मानिसहरूसँग भलाकुसारी र आत्मीयताको प्रवद्र्धन हुने गर्दछ । त्यसरी नै स्कटल्याण्डमा फाइन्डहोर्न नामको यस्तो वस्ती छ, जहाँ नवीकरणीय ऊर्जा (पवन टर्वाइन)बाट बिजुली निकालिएको छ र जहाँका मानिसहरू शान्ति, सादगी र प्रकृतिप्रेमी जीवनशैलीलाई प्राथमिकता दिने गर्दछन् । को–हाउजीङमार्फत यस्तो कार्य नेदरल्याण्ड र डेनमार्कका नमुना वस्तीहरूमा पनि देख्न सकिन्छ । सारमा हामी सबैले सहरको सुविधालाई उपयोग गर्दै मानवता र हार्दिकताले भरिएका गाउँवस्तीहरूको विकास गर्नु अहिलेको टड्कारो आवश्यकता भइसकेको छ । हाम्रो वस्ती यस्तो हुनु आवश्यक छ, जहाँ गाउँको जस्तो भरोसा, सहयोगको वातावरण, बालबालिकाका र वृद्धवृद्धाका लागि सामाजिक वातावरण, स्वच्छ र स्वस्थ हावापानी र सहरको जस्तै शिक्षा, स्वास्थ्य र सञ्चारको सुविधा होओस् । मानिसहरू इन्टरनेटका तारहरूले होइन कि मन र मानवताका तारहरूले जोडिने वातावरणको सिर्जना हुनु जरुरी छ । यस्तो वातावरण सम्पन्न विपन्न सबैलाई चाहिएको छ । तैपनि पहल कसैबाट भएको देखिँदैन । गाउँवस्तीको जस्तै आत्मीय मन र सहरको जस्तै सुविधायुक्त जीवन जोडेर एउटा खुुसी, सम्पन्न र अर्थपूर्ण जीवनको लागि एकपटक हामी सबैले सोँच्ने कि ? तदनुरुपकै कर्म पनि गर्ने कि ? बाँकी जो हजुरहरूको मर्जी !

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार