सुदूरमा वर्चस्व फर्काउन खोज्दै रावल



दुई वर्ष शान्त बसेका भीम रावल अहिले फेरि राष्ट्रिय राजनीतिमा सुदूरपश्चिमको पहिचान बोकेर उभिने तयारीमा देखिन्छन् । पूर्वप्रदेशसभा सदस्य कृष्ण सुवेदी भन्छन्, ‘लौ फेरि हाम्रो मान्छे उठ्दैछ । यसपालि सुदूरपश्चिमले ठूलो मौका पाउन सक्छ ।’ उनी केवल भावनामा सीमित छैनन् । यो सुदूरपश्चिमको राजनीतिक पुनर्जागरण को संकेत हो– जसको अग्रपंक्तिमा भीम रावल उभिएका छन् ।

शेरबहादुर ऐर । कैलाली ।

कैलालीको धनगढीमा बुधबार बिहान अलिक विशेष देखिन्थ्यो । सहरका मूल चोक, गल्लीमा असामान्य रूपमा चहलपहल बढेको थियो । धेरैजसो टोलबस्तीमा पोस्टर–ब्यानर टाँसिएका थिए– ‘नेपाली कम्युनिस्ट पार्टी, सुदूरपश्चिम घोषणा सभा–मंसिर १२ ।’ कार्यक्रमको तयारी हेर्दा सामान्य राजनैतिकसभा जस्तो लाग्न सक्छ । तर, भित्री तहमा हेर्दा धेरै फरक कथा बुनिँदैछ । यो सभा केवल पार्टीको औपचारिक घोषणा होइन, सुदूरपश्चिमको नेतृत्व–मानचित्र फेरि कोरिने निर्णायक क्षण पनि हो । यस सभाको केन्द्रमा छन्– एक समय नेकपा एमाले केपी शर्मा ओलीका कठोर आलोचक, पूर्वउपाध्यक्ष, तर अहिले नयाँ पार्टीमा छैटौँ वरियतामा पुगेका भीम रावल ।

सहरका क्याडरहरू भन्छन्, ‘रावल फेरि फर्किँदैछन् ।’ र यो फर्काइ केवल सुदूरपश्चिममै होइन, राष्ट्रिय राजनीतिमा पनि पुनः प्रवेशको संकेत मानिएको छ । झण्डै तीन वर्ष अघिसम्म सुदूरपश्चिममा नेकपा एमालेभित्र सबैभन्दा बलियो पकड राख्ने नेता रावल थिए । उनले गाउँदेखि राजधानीसम्म संगठन विस्तार गरे तर पार्टीभित्रको आन्तरिक राजनीति—विशेषगरी पार्टी अध्यक्ष केपी ओलीसँगको टकरावले उनलाई विस्तारै केन्द्रबाट टाढा धकेल्दै लग्यो । एमालेबाट कारबाहीमा परेपछि उनी केही समय प्रदेशमै ‘शान्त अवस्थामा’ बसे ।

तर, त्यो शान्तता ‘राजनीतिक त्याग’ होइन– एक प्रकारको संगठित मौन तयारी थियो । आज त्यही नेता फेरि उचाइमा उक्लिएका छन् । नयाँ गठबन्धन–दल, नयाँ भूमिका र पुरानै प्रदेश–आधार। नेपाली कम्युनिस्ट पार्टी– माओवादी केन्द्र, एकीकृत समाजवादी, एमालेका असन्तुष्टहरू मिलेर बनेको यो नयाँ संरचना– एक अर्थमा ओलीविरोधी संवेदनाको साझा प्लेटफर्म पनि हो । भीम रावल एमालेमा रहँदा ओली नेतृत्वका सबैभन्दा निरन्तर आलोचक थिए । त्यसैले नयाँ पार्टीभित्र उनी प्राकृतिक रूपमा ‘विश्वासिलो नेता’ बनेका छन् । कैलालीका एक स्थानीय नेता भन्छन्– ‘हामी धेरै वर्षदेखि भित्रैभित्रै असन्तुष्ट थियौँ । रावलज्यूले बोलिदिनुभयो, हामीले आधार पायौँ ।’ यही वातावरणले रावललाई भौतिकभन्दा बढी भावनात्मक कद दिएको छ ।

घोषणासभामा ५० हजार मानिस उतार्ने तयारी

एकता घोषणासभामा ५० हजार मानिस उतार्ने तयारी भइरहेकै छ । यति ठूलो भिड यो प्रदेशमा सामान्यतया चुनावबाहेक कहिल्यै देखिँदैन । यसले दुई कुरा संकेत गर्छ– रावलले अझै पनि ठूलो संगठनात्मक प्रभाव कायम राखेका छन् । नयाँ पार्टी सुदूरपश्चिमलाई शक्ति–केन्द्र बनाउन खोज्दैछ । त्यसो त थुप्रै उपसमिति गठन गरिएको छ—१३ वटा । घोषणासभाको संयोजक भने रावलनै छन् । कार्यक्रम स्थलदेखि प्रचारप्रसार, दूरदराज गाउँबस्तीमा कार्यकर्ता पठाउने काम सबैमा उनी अग्रपंक्तिमा देखिन्छन् । उनी यसरी सक्रिय हुनु केवल जिम्मेवारीको कारण मात्रै होइन । यो पुनप्रतिष्ठाको लडाइँ पनि हो ।

सुदूरपश्चिम ः राजनीतिक भूगोल फेरि रावलकेन्द्रित हुँदै

खासगरी विक्रम संवत २०१७ को राजनीतिक घटनाक्रम पछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय देउवा सुदूरपश्चिमको राजनीतिमा केन्द्रित थियो । तर नयाँ पुस्ताले अब विकल्प खोज्दैछ । बाँकी दलका नेताहरू स्थानीय प्रभावसहित देखा परे पनि राष्ट्रिय पहिचानमा सीमित छन् । रावल लामो इतिहास, विरोधबाट जन्मिएको लोकप्रियता, एमालेको संगठनात्मक पूँजी, वैचारिक नेतृत्व, प्रदेशीय प्रतिनिधित्वसहित एकै समयमा धेरै राजनीतिक गुण लिएर आएका छन् ।

यसैले धेरै विश्लेषक भन्छन्– ‘सुदूरपश्चिम फेरि रावलकेन्द्रित हुन सक्छ ।’ मंसिर १२ को घोषणासभा सामान्य राजनीतिक कार्यक्रम होइन । यो एमालेका असन्तुष्टहरूको दिशा तय गर्ने नयाँ पार्टीको प्रदेश नेतृत्व रूपरेखा बनाउने सुदूरपश्चिमको नयाँ राजनीतिक ध्रुव बनाउने रावलको पुनपरिभाषा गर्ने ऐतिहासिक क्षण हुन सक्छ । कार्यक्रम स्थलमा यदि विशाल भिड उम्लियो भने रावल केवल प्रदेश नेता होइन, नयाँ पार्टीकै शक्तिशाली राष्ट्रिय चेहरा बन्ने बाटो खुलेको अर्थ लाग्छ ।

दुई वर्ष शान्त बसेका रावल अहिले फेरि राष्ट्रिय राजनीतिमा सुदूरपश्चिमको पहिचान बोकेर उभिने तयारीमा देखिन्छन् । पूर्वप्रदेशसभा सदस्य कृष्ण सुवेदी भन्छन्, ‘लौ फेरि हाम्रो मान्छे उठ्दैछ । यसपालि सुदूरपश्चिमले ठूलो मौका पाउन सक्छ ।’ उनी केवल भावनामा सीमित छैनन् । यो सुदूरपश्चिमको राजनीतिक पुनर्जागरण को संकेत हो– जसको अग्रपंक्तिमा भीम रावल उभिएका छन् ।

प्रदेश नेतृत्व ः रावल, खगराज भट्ट र भानुभक्त जोशीबीच त्रिकोणीय प्रतिस्पर्धा

नयाँ दलमा सुदूरपश्चिम प्रदेश इन्चार्ज कसलाई बनाइने ? यो अहिले पार्टीभित्रको ठूलो बहसको विषय बनेको छैन । इन्चार्जका लागि तीन नाम चर्चामा आउँछन्– घोषणासभाका संयोजक भीम रावल, तत्कालीन नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट र एकीकृत समाजवादी पार्टीका नेता भानुभक्त जोशी रहेका छन् । तर तयारी, लोकप्रियता र एमाले असन्तुष्ट पक्ष–माओवादी–समाजवादी तीनै संरचनामाथिको ‘सडक प्रभाव’ रावलकै बलियो देखिन्छ । यद्यपि माओवादी पक्षले ‘माओवादी नेतृत्वविहीन प्रदेश भए ठिक हुँदैन’ भन्ने तर्क अघि सारिरहेको छ । रावल समर्थकहरू भन्छन्– ‘प्रदेश नै रावलका कारण चल्छ, नेतृत्व उनलाई दिनुपर्छ ।’ यही मतभेदले घोषणासभा नै ‘निर्णायक जनमत’ बन्ने स्थिति बनाएको छ ।

देउवापछिको खाली ठाउँ ः सुदूरपश्चिम फेरि राष्ट्रिय नेताको खोजीमा

सुदूरपश्चिममा लामो समय शेरबहादुर देउवा नै राष्ट्रिय पहिचान बोकेका नेता थिए । उनको नाम भन्नासाथ दार्चुलादेखि कैलालीसम्म राजनीतिक भाव जाग्थ्यो । तर अब देउवा नेपाली काँग्रेसको सभापतिमा दोहोरिने पक्षमा छैनन् । काँग्रेसभित्र भविष्यमुखी नेतृत्व खोज चलिरहेको छ । यही शून्य स्थानमा नेपाली कम्युनिष्ट पार्टीबाट रावल फेरि ‘सम्भावित राष्ट्रिय नेता’का रूपमा प्रतिविम्बित हुने तयारीमा छन् । नेकपा माओवादी केन्द्र्रका नेता लक्षीराम आचार्यले भन्छन्, ‘यो प्रदेशले सधैँ एक प्रमुख नेता चाहेको छ । देउवापछि त्यो सम्भावना रावलमा देखिन्छ ।’

नयाँ पार्टी पनि यो तथ्य बुझ्दैछ– रावललाई केवल प्रदेश नेता होइन, राष्ट्रियस्तरको ‘भविष्य–चेहरा’ बनाउन खोजिँदै छ । केपी ओलीको नेतृत्वशैली एमालेभित्र धेरै समयदेखि विवादको मूल कारण बनेको छ । आदेशमुखी शैली, केन्द्रित निर्णय प्रक्रिया, आन्तरिक आलोचनाप्रति असहिष्णुता– यी सबै कारणले एमालेभित्र ‘सुनिरहेको असन्तुष्ट भावनाको भण्डार’ बढ्दै आएको थियो । रावल त्यही आवाजको प्रतीक थिए । रावलले एमाले छोडेपछि पनि उनका समर्थकहरू सरकार र पार्टीमा ‘असन्तुष्ट–छायाँ’ जस्तै बाँकी छन् ।

यही समूह अहिले रावलको घोषणासभामा सहभागी हुन, नयाँ पार्टी हेर्न, अनि एमाले छोड्ने–नछोड्ने निर्णय गर्न एक प्रकारको ‘राजनीतिक यो–कस’मा छन् । यही कारण– घोषणासभा एमालेविरुद्धको मनोवैज्ञानिक रूपमा ठूलो क्षण बन्न सक्छ । नयाँ कम्युनिष्ट पार्टी आयाममा तीन धाराका संरचना छन्– माओवादी, समाजवादी, एमाले विद्रोही । यी धाराबीच कहिलेकाहीँ सहयोग, कहिलेकाहीँ प्रतिस्पर्धा हुन्छ । तर सबैले मान्ने एक कुरा छ– रावल तीनै धाराबीच सन्तुलन राख्न सक्ने ‘न्यूट्रल ब्रिज’ हुन् ।

माओवादीहरू उनीसँग असहज छैनन्, एकीकृत समाजवादीसँग उनी वैचारिक रूपमा नजिक छन्, एमालेका कार्यकर्ता त उनकै श्रोता हुन् । यही ‘त्रिकोणीय स्वीकार्यता’ उनलाई नयाँ पार्टीमा दीर्घकालीन रूपमा उभिन योग्य नेता बनाउँछ । घोषणासभापछि रावलले कुन भूमिका लिन्छन्– प्रदेश इन्चार्ज कि राष्ट्रिय राजनीतिमा प्रवेश ? यही प्रश्न अहिले मुख्य बहस हो ।

तत्कालिन नेकपा एकीकृत समाजवादी पार्टीका नेता दीर्घबहादुर सोडारी भन्छन्, ‘घोषणासभा सकिएपछि स्पष्ट हुन्छ । तर सम्भावना छ– रावल प्रदेशको जिम्मेवारी पनि सम्हाल्न सक्छन्, राष्ट्रिय राजनीतिमा पनि उठ्न सक्छन् ।’ सोडारीले दिएको अर्को संकेत– ‘देउवापछि प्रदेशको पहिलो राष्ट्रिय नेता रावल हुन् ।’ यो संकेत सामान्य छैन । यो प्रदेशभरि फैलिएको ‘रावल–मूड’को प्रतिनिधि जस्तो देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार