पुर्वमेयरको ‘मेची–महाकाली’ साइकल यात्रा



युरोप, अमेरिकालगायत पश्चिमा मुलुकहरूमा वर्षौँवर्षसम्म साइकल लिएर देश देशावर गर्ने आम ट्रेन्ड रहेको छ, नेपाली साइकलयात्री दोलखाका पुष्कर शाहले साइकलबाट नै पृथ्वीलाई साढे ५ फन्को मारेको जीवन्त उदाहरण मात्रै होइन पोखराका अजित बरालदेखि अहिले झन्डै एक दर्जनबढी नेपाली युवाहरू साइकलमा संसार डुलिरहेको सूचना र खबरहरू सामाजिक सञ्जालमा प्रशस्त भेटिन्छ ।

सतिश निरौला

सामान्यतया यसो २÷४ किलोमिटर पनि साइकल चलाउन अप्ठ्यारो र असजिलो मान्छन् हाइप्रोफाइल र अलिकति आर्थिक अवस्था उक्लिएकाहरू अझै पनि हाम्रो समाजमा । तर यस्तै अवस्थामा पनि अलि फरक चेतना र साधारण जीवनशैलीका मानिसहरू पनि भेटिन्छन् यदाकदा । यसैको पछिल्लो उदाहरण बन्नुभएको छ भद्रपुर नगरपालिका झापाका ६२ वर्षीय पूर्वमेयर जीवनकुमार श्रेष्ठ । पूर्वमेयर श्रेष्ठसहित झापाका मनोज सिंह, विश्वचन्द्र महतो, देविबहादुर श्रेष्ठ र समिर पोखरेलले कात्तिक २३ गते झापा मेची पुलबाट यात्रा सुरु गरि महाकालीको गड्डाचौकी मंसिर १ गते पुगी ९ दिनमा सफलरूपमा ‘मेची–महाकाली’ साइकल यात्रा पुरा गर्नुभएको छ । राजनीतिक तथा सामाजिक काममा दशकौँदेखि क्रियाशील रहनुभएका पूर्वमेयर जीवनकुमार श्रेष्ठको दैनिकी नै पछिल्लो समययता साइकलबाट सुरु हुने गरेको छ । बिहानै उठेर साथीहरू र युवाहरूलाई जगाउँदै नियमितरूपमा गरिएको साइक्लिङ्गले स्वास्थ्य सचेतना मात्रै होइन अहिलेको जेनजी पुस्तालाई समेत सकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।

श्रेष्ठकै अगुवाइमा हालसालै भद्रपुर साइकल समाजसमेत गठन भएको छ । नगरपालिकाको मेयरजस्तो उच्च ओहोदामा रहेर काम गरिसकेका परिपक्व व्यक्तित्व जीवनकुमार श्रेष्ठको सक्रियताले झापामा मात्रै नभएर देशैभर सकारात्मक सन्देश प्रवाह गरेको छ । आफ्नो दैनिक जीवनयापन र दैनिक गतिविधिमा अधिकतमरूपमा साइकलको प्रयोग गर्न सके आर्थिक बचत, स्वास्थ्य आर्जन र तन्दुरुस्ती साथै वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा सकारात्मक योगदान पुग्ने निचोड श्रेष्ठको छ । मेचीमहाकाली साइकल यात्रा गर्दा देशको भूगोललाई नजिकबाट चिन्ने, हेर्ने र बुझ्ने मौका मात्रै नमिलेर देशभरका विभिन्न सहर र ग्रामीण क्षेत्रको अवस्था, रीतिरिवाज, परम्परासँग समेत साक्षात्कार गर्न र साइकलको चेनमार्फत नयाँ नयाँ सम्बन्ध र मित्रताको हात मिलाउन पाउँदाको खुसी र आनन्द बेग्लै भएको अनुभूति छ पूर्वमेयर श्रेष्ठको । युरोप, अमेरिकालगायत पश्चिमा मुलुकहरूमा वर्षौँवर्षसम्म साइकल लिएर देश देशावर गर्ने आम ट्रेन्ड रहेको छ, नेपाली साइकलयात्री दोलखाका पुष्कर शाहले साइकलबाट नै पृथ्वीलाई साढे ५ फन्को मारेको जीवन्त उदाहरण मात्रै होइन पोखराका अजित बरालदेखि अहिले झन्डै एक दर्जनबढी नेपाली युवाहरू साइकलमा संसार डुलिरहेको सूचना र खबरहरू सामाजिक सञ्जालमा प्रशस्त भेटिन्छ ।

यही दौड र यस्तै यात्राहरूको सिको गर्दै र प्रेरणा लिँदै सयौँको सङ्ख्यामा धेरैले प्रत्येक वर्ष मेचीमहाकाली वा महाकालीमेची यात्रामा निस्किरहेका तस्वीर र भिडिओहरू सामाजिक सञ्जालमा साझा गरेको भेट्न पाइन्छ । म आफैँले पनि ‘पहिलो नेपाली टेन्डम साइकलयात्री’का रूपमा सन् २०२४ मा महाकालीको कुतियाकभरदेखि मेचीको कचनकवलसम्मको १,११५ किलोमिटरको साइकल यात्रा नेपालगन्जकै अर्का साइकलयात्री रमेशकुमार मल्लको साथमा पूरा गरिसकेको छु । समाजमा सकारात्मक सन्देश दिन र देश दर्शन गर्न साइकलमा निस्कनुभएका भद्रपुरका पूर्वमेयर जीवनकुमार श्रेष्ठसहितको ५ सदस्यीय टोलीले ९ दिनमा मेचीमहाकाली साइकल यात्रा पूरा गरि साइकलबाट नै फेरि महाकालीमेची पनि पूरा गर्नेगरि यात्रा प्रारम्भ गरेको छ । साइकलको चेनमार्फत देश जोड्ने र देशलाई नजिकैबाट नियाल्ने अनि देशको भूगोलसँग साक्षात्कार गर्ने साहसिक र सफल साइकल यात्राका लागि पूर्वमेयर जीवनकुमार श्रेष्ठसहित भद्रपुर साइकल समाजका ५ सदस्यीय टिमलाई बधाइ तथा शुभकामना ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार