बाँकेको नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस कुनै समय नेपालकै ठूलो र पख्र्यातमध्येको एक क्याम्पस रहेको थियो । यो क्याम्पसमा भर्ना हुननै विद्यार्थीहरूलाई हम्मेहम्मे हुने गर्दथ्यो । अझ छात्रावासमा बस्न पाउन त ठूलै लडाइँ जित्नुपर्ने अवस्था थियो । क्याम्पसमा दशौँ हजार विद्यार्थीहरू अध्ययन गर्ने गर्दथे । तर, समय सँगसँगै अहिले यो क्याम्पसमा विद्यार्थीको सङ्ख्या पनि ह्वात्तै घटेको देखिन्छ । त्यसमा सरकारले प्रमाणपत्र तह हटाउनु तथा सहरमा अत्यधिक सङ्ख्यामा निजी क्याम्पसहरू खोलिनु पनि कारण देखिन्छ । र पनि जे जति विद्यार्थी अहिले क्याम्पसमा पढ्ने गर्दछन्, उनीहरूका बास बस्नका लागि आवश्यक छात्रावास सही अवस्थामा नहुँदा कयौँ विद्यार्थीहरूले समस्या झेल्दै आएका छन् । क्याम्पसमा रहेका छात्रावासहरू अत्यन्तै जीर्ण अवस्थामा रहेका छन् त्यहाँ विद्यार्थीहरू ज्यानको जोखिम राखेर भए पनि बसिरहेका पाइन्छन् । करिब दुई दशकअघिसम्म व्यवस्थितरूपमा सञ्चालन हुँदै आएको छात्रावास अहिले भुतबंगला जस्तो जीर्ण अवस्थामा पुग्दासमेत क्याम्पस प्रशासन भने निदाएर बसेको छ । हालसम्म क्याम्पसमा पुरुष छात्रावास मात्रै सञ्चालन हुँदै आएको छ । सोही छात्रावास पनि लथालिंग अवस्थामा देखिन्छ ।
कुनै समय उक्त छात्रावासमा बस्नका लागि विद्यार्थी नेता, विद्यार्थी संगठन तथा क्याम्पस प्रशासनको नजिक हुनुपर्ने या उनीहरूका मान्छे हुनुपर्ने र तछाडमछाड हुने गर्दथ्यो । कतिपय अवस्थामा त लडाइँसमेत हुने गर्दथ्यो । तर अहिले भने न त उक्त छात्रावासमा बस्नलाई विद्यार्थीको रुचि देखिन्छ, न त छात्रावास नै व्यवस्थित देखिन्छ । दुई दशकदेखि क्याम्पसको छात्रावास व्यवस्थित नहुँदा बेवारिसे अवस्थामा रहेको र पुरानो भएर जीर्ण भइसकेको भवनमा अलिअलि विद्यार्थीहरू जोखिम मोलेर बसिरहेको देखिन्छ । सञ्चारमाध्यमहरूले समय समयमा उक्त छात्रावासका बारेमा समाचार प्रकाशित गरेपनि अझैसम्म क्याम्पस प्रशासनले व्यवस्थित गर्ने काम सुरु गरेको देखिँदैन् । क्याम्पसमा रहेको उक्त जीर्ण भवनलाई तत्काल व्यवस्थित गरेर सञ्चालनमा ल्याउनका लागि क्याम्पस प्रशासनसहित स्ववियु तथा क्याम्पसमा सक्रिय विभिन्न संगठनहरूले पहल गर्न आवश्यक देखिन्छ । आर्थिक अवस्थाका कारण बाहिर डेरा गरेर बस्न समस्यामा रहेका सयौँ विद्यार्थीहरूलाई उक्त छात्रावासमा बस्ने व्यवस्था गरेर उनीहरूको अध्ययनलाई सहजता प्रदान गर्न आवश्यक छ । छात्रावासमा बस्न चाहने विद्यार्थीहरूबाट आवेदन माग गरी आवेदन दिएका विद्यार्थीमध्ये कसलाई छात्रावासमा बस्न दिने भन्ने बारेमा निश्चित मापदण्ड बनाएर सोहीअनुसार निर्णय गरि कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।
इन्जिनियरहरूले जाँचबुझ गरी भवन जुनसुकै बखत भत्किन सक्ने भएकोले बस्न लायक छैन भनेर भनिसकेको अवस्था छ । उक्त जोखिमपूर्ण भवनमा को को बसेका छन् ? कति बसेका छन् ? कहाँका बसेका छन् ? विद्यार्थी मात्रै बसेका छन् कि अन्य बाह्य व्यक्ति पनि बसेका छन् ? भन्ने बारेमा पनि क्याम्पस प्रशासनलाई जानकारी नरहेको कुरा बाहिर आएको थियो । त्यहाँ बसेका विद्यार्थी र उनीहरूको स्थितिका बारेमा पनि क्याम्पस प्रशासनले कुनै चासो राखिरहेको थिएन । छात्रावासका भवनहरूको अवस्था हेरेर आवश्यक मर्मतसम्भार तथा पुनर्निर्माण गरी व्यवस्थितरूपमा सञ्चालन गर्न जरुरी छ । छात्रावासमा कस्ता विद्यार्थीहरूलाई बस्न दिने भन्ने विषयमा मापदण्ड तयार गरी बाँके जिल्लाभन्दा बाहिरका, विकट जिल्लाका र आर्थिक रूपले पनि विपन्न विद्यार्थीहरूले पहिलो प्राथमिकता पाउने गरी व्यवस्था गर्न आवश्यक छ । छात्रावासको रेखदेख र सुरक्षाका लागिसमेत आवश्यक कदम लिनु आवश्यक छ । लामो इतिहास बोकेको महेन्द्र बहुमुखी क्याम्पसमा रहेको ऐतिहासिक छात्रावासलाई तत्काल आवश्यक व्यवस्थापन गरी सञ्चालन गर्नका लागि सरोकारवाला निकायले गम्भीर ध्यान दिनु आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्