नारायण लाभग्राहीको पहुँच सुनिश्चितता नगर घोषणा



दैलेख ।

जिल्लाको नारायण नगरपालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा सबै योग्य लाभग्राहीको पहुँच सुनिश्चितता नगर घोषणा गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रममार्फत नारायण नगरपलिकालाई योग्य लाभग्राहीको पहुँच सुनिश्चितता नगर घोषणा गरिएको हो। सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा सबै लाभग्राहीको पहुँच रहेको जिकिर गरिएको छ ।

सोही अनुरुपको सूचकहरू पूरा गरेपश्चात् नगर घोषणा कार्यक्रम गरिएको बताइएको छ । जुन नेपालकै पहिलो नगर भएको समेत दाबी गरिएको छ । घोषणासभामा बोल्दै कर्णाली सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सामाजिक सुरक्षा भत्ता केवल खर्च जोहो गर्ने माध्यम मात्र बन्न नहुने बताए । ‘यसको सदुपयोग रोक्न उचित ठाउँमा लगानी गरिनुपर्छ ।

यसका लागि लाभग्राही नागरिक र सरकारबीचको समन्वय हुनु आवश्यक छ,’ उनले भने, ‘सामाजिक सुरक्षाअन्तर्गत कर्णाली प्रदेश सरकारले शैक्षिक छात्रवृत्ति, छोरीबुहारी छात्रवृत्ति, बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम जस्ता प्रभावकारी कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ ।’

सन् २०३० सम्म सामाजिक सुरक्षामा सबै नागरिक पहुँच सुनिश्चितता गर्ने लक्ष्य सरकारको छ । यसको शुभारम्भबमोजिम नारायणले पहिलो पटक घोषणा गर्न सफल भएको नगरप्रमुख लोमन शर्माले बताए । सामाजिक सुरक्षा नीति बमोजिम नियम र कार्यविधि बनाई सबै नागरिकको पहुँचमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सफल भएको उनले जानकारी दिए ।

यसको दिगोपनाका लागि स्थानीय सरकारको तर्फबाट पहल निरन्तर हुने प्रतिबद्धता जनाउँदै आमनागरिकले समेत सहयोग गर्न उनको आग्रह छ । साथै मन्त्रालयले भाषा, कला, संस्कृति, परम्परागत सीपलाई प्रमाणीकरण र नागरिक जीवनस्तरलाई सुदृढीकरण गर्न विभिन्न सीपमूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । सबैलाई यी कार्यक्रमहरूमा सहभागी हुन मन्त्रालयको अपिल छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार