जमुनाह नाका हुँदै अनधिकृतरूपमा भारत प्रवेश गर्ने विदेशी नागरिकहरूलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिनेक्रम बढेको छ । दिल्लीमा भएको बम ब्लाष्टपछि सीमा नाकामा कडा निगरानी थालेको भारतीय सुरक्षाकर्मीले अनधिकृतरूपमा भारत प्रवेश गर्ने विदेशी नागरिकलाई पक्राउ गर्न थालेका हुन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्जको जमुनाह नाका हुँदै अनधिकृतरूपमा भारत प्रवेश गर्ने विदेशी नागरिकहरूलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिनेक्रम बढेको छ । दिल्लीमा भएको बम ब्लाष्टपछि सीमा नाकामा कडा निगरानी थालेको भारतीय सुरक्षाकर्मीले एकजना चिनियाँ नागरिकलाई पनि नियन्त्रणमा लिएका छन् । भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले पछिल्लोपटक दुई दिनअघि नेपाल भारत सीमा नजिकबाट लीऊ कुन्जिङ नामका चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूमा खबर छ ।
लीऊलाई बहराइचमा पर्ने रूपैडिहा नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको न्यूज १८ मा खबर छ । ती चिनियाँ नागरिक अवैधरूपमा भारतीय सीमामा प्रवेश गर्न खोजिरहेका बेला समातिएका समाचारमा उल्लेख छ । उनको साथबाट पाकिस्तानी भिसाका साथै ३ वटा मोबाइल फोन, एक प्लाइटेक ट्रान्सलेटर, चिनियाँ पासपोर्ट, पाकिस्तान, नेपाल र भियतनामका भिसा, युनिपे कार्ड, नेपालको नक्सा, १५ हजार दुई सय ३५ नेपाली रूपैयाँ, आठ हजार नौ सय ५० पाकिस्तानी रूपैयाँ र ८ हजार पाँच सय ६ चिनियाँ मुद्राका साथै चीन, नेपाल र पाकिस्तानका सिक्का बरामद भएको भारतीय मिडिया अमर भारतीको समाचारमा उल्लेख छ ।
सीमा पिलर नम्बर ६५१÷०७ बाट करिब ६० मिटर नजिकै भारतीय क्षेत्रभित्र मोबाइलले भिडिओ खिचिरहेको अवस्थामा ती चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको बताइएको छ । सोधपुछका क्रममा पक्राउ परेका व्यक्ति केवल चिनियाँ भाषा मात्रै बोल्ने भएकोले ट्रान्सलेटर एप प्रयोग गरी उनको पहिचान गर्दा उनी चीनको हुयाङ प्रान्तका ४९ वर्षीय नागरिक भएको थाहा भएको समाचारमा भनिएको छ । ती व्यक्ति चीनबाट पाकिस्तान पुगेका, त्यसपछि पाकिस्तानबाट नेपाल आएर अहिले नेपाल हुँदै भारतमा अवैध प्रवेश गर्ने प्रयासमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको भनिएको छ ।
दिल्लीमा भएको बम विस्फोटपछि सुरक्षा एजेन्सीहरू उच्च सतर्कतामा रही सीमा क्षेत्रमा कडा निगरानी गरिरहेका छन् । उनीहरूले प्रत्येक व्यक्तिको गहन जाँच गरिरहेका छन् । नोभेम्बर १५ तारिखमा नेपालगन्जमा भएको एक स्वास्थ्य शिविरमा आएका बेला रूपैडिहा गएका एक पाकिस्तानी जोडीलाई पनि एसएसबीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेकी ६१ वर्षीया महिला सुमित्रा शकील ओलिभिया ब्रिटिस मूलकी भए पनि हाल पाकिस्तानी नागरिक रहेको र ३५ वर्षीय हस्सन अमान पाकिस्तानका स्थायी बासिन्दा हुन् ।
उनीहरू नेपालगन्जमा स्वास्थ्य शिविरमा आएका बेला असावधानीवश अनधिकृतरूपमा भारतीय सीमा क्षेत्रमा पुगेका शिविर आयोजक पक्षले बताउँदै आएको छ । पक्राउ परेकाहरूलाई प्रहरीले बहराईच अदालतमा पठाएको समाचारमा उल्लेख छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक पातलीले पनि नेपालको भिसा भएका तर भारतको भिसा नभएका व्यक्ति रूपैडिहा पुगेका बेला पक्राउ परेको जानकारी पाएको बताएका छन् ।
भारतको रूपैहिडामा रहेको अध्यागमन कार्यालय कोरोनाकालदेखि नै बन्द छ । जसकारण यस नाका हुँदै भारत प्रवेश गर्न चाहने विदेशीहरूले अध्यागमनसम्बन्धी सेवा लिन सकिरहेका छैनन् । यसअघि २०२३ को २ डिसेम्बरमा पनि चिनियाँ महिला ली जिन मेयी पनि रूपैडिहा सीमाक्षेत्रबाटै पक्राउ परेकी थिइन् । ती महिलाले चीनको पासपोर्ट र नेपालको भिसा देखाए पनि भारत प्रवेशका लागि कुनै पनि वैध कागजात प्रस्तुत गर्न नसक्दा विदेशी ऐनअनुसार आठ वर्षको साधारण कैद र ५० हजार भारतीय रूपैयाँ जरिवाना सजाय तोकिएको अमर भारतीले लेखेको छ ।









प्रतिक्रिया दिनुहोस्