विज्ञानसम्बन्धी केही जानकारी



चिन्तामणि घिमिरे

समय समयमा मानिसले आफू र आफ्नो वरिपरि र विश्वको बारेमा जुन प्रश्नहरूको बारेमा समाधानको उत्तर खोजिरहेको थियोे र उसलाई जुनजुन उत्तर प्राप्त भयो त्यो विज्ञानको इतिहास हो । विज्ञानले हामीलाई के, किन र कसरीको उत्तर बताइदिन्छ । विज्ञानको उद्देश्य यो रह्यो कि प्रकृतिका हरेक चिजहरूलाई बुझ्नु, खोज अनुसन्धान गर्नु र ती चिजहरूमाथि आधिपत्य जमाई मानिसको हितको लागि ती शक्तिहरूलाई प्रयोग गर्नु । वैज्ञानिक सत्यको खोज र अनुसन्धान गरिरहेको बेला उसले कुनै चिजको वा कठिनाइको प्रर्वाह गर्दैन । ठूलाठूला र महान वैज्ञानिकहरूलाई आफ्नो समयमा धर्मका ठूलाठूला ठेकेदार, समाजका स्थम्भोहरूसँग टक्कर लिनुप¥यो । प्रकृतिका गूढ रहस्यहरूलाई बुझ्नको लागि उनीहरूलाई एकाङ्की सन्यासीहरूको जस्तो जीवन बिताउनु प¥यो । कतिपय वैज्ञानिक यस्ता पनि थिए, जसलाई आफ्नो प्रयोगशालामा बसीबसी बिनाभोजन पनि कैयौँ दिन बितिरहेका हुन्थे । अँधेरो, अन्धकार कोठामा बसीबसी आफ्नो स्वास्थ्य र धनको चिन्ता नगरिकन उनीहरूले काम गरिरहेका हुन्थे वा कार्यरत हुन्थे किनकि उनीहरूको ध्येय उचो हुन्थ्यो । उनीहरूको त्यागबाट करोडौँ अर्बौँ मानिसहरूले लाभ उठाउँथे ।

विज्ञानको सुरूवातको चरण प्लेटो र अरस्तुबाट आरम्भ भएको प्रतीत हुन्छ । ग्रिकका यी दार्शनिकहरूले सत्य, तर्क र नियमहरूको पछाडी आफ्नो सारा जीवन समर्पण गरिदिए । यिनीहरूले यस कुराको खोज गर्दै रहे कि आखिर त्यो कुन पदार्थ हो जसबाट यो ब्रह्माण्ड बनेको छ । मध्यकालीन युगका विचारकहरूको अगाडि यी समस्या उठी खडा भए कि प्रकृतिको कारणहरू र प्रभावहरूको अध्ययन गर्नु सही हो या प्रत्येक वस्तुको गीता, कुरान र बाइबलले भनेअनुसार भगवान्, अल्लाह र परमेश्वरको इच्छा मानिलिनु । १४औँ शताब्दीमा अरस्तुका केही विचारहरूको प्रभाव क्षीण हुँदै गइरहेका थिए । मान्छेहरूले बुझ्न लागिसकेका थिए कि विज्ञानको मुख्य उद्देश्य प्रकृतिका अचल नियमहरूको रहस्योद्घाटन गर्नु थियो र यी कारणहरूबाट प्रयोगात्मक विज्ञानको महत्व बढ्न लाग्यो । एउटा रूख उनीहरूको लागि अब दाउरा तथा औषधिको महत्व बताउने अङ्ग रहेन, उसमा अब प्रकृतिको पूरा कहानी छिपेको थियो । सूर्य, चन्द्रमा र ताराहरूको बारेमा पुराना धारणाहरूको जग हल्लिन थालिसकेको थियोे । कोपरनिकसलाई आफ्नो सिद्धान्त प्रचार गर्नको लागि यति संघर्ष गर्नुपरेको थियोे कि उनलाई आफ्नो मृत्युशैयामा परिरहेको समयमा सूर्यकेन्द्रित सिद्धान्तसम्बन्धी आफ्नो पुस्तकको एक प्रति प्राप्त भएको थियोे । ग्यालिलिओ ग्यालिलिलाई बुढेसकालमा निर्वासित जीवनको सजाय भोग्नुप¥यो । जियोर्दार्नो ब्रुनोलाई ज्युँदै आगोमा खरानी बन्नुप¥यो केपलर र न्युटनले वस्तुहरूको गतिशीलताको बारेमा नियमहरू पत्ता लगाउँदा समस्या झेल्नुप¥यो ।

विज्ञानले मानिसलाई सत्य खोज्न र बुझ्न धेरै मद्दत गर्छ । सत्य बुझेमा उनीहरूमा आत्मविश्वास बढ्छ । आत्मविश्वासले मानिसहरूलाई अन्धविश्वासी हुनबाट जोगाउँछ । अन्धविश्वासी नहुँदा मान्छेहरू विवेकशील हुन्छन् । विवेकशील मान्छेहरूको अगाडि अन्याय टिक्न सक्दैन् । विज्ञानप्रतिको आत्मविश्वासले मान्छेहरूमा साहस र सिर्जनशीलताको विकास हुन्छ । विज्ञानले मानिसलाई जिज्ञासु बन्न सिकाउँछ ।  र्मभिरुहरूले विज्ञानको सत्यतालाई पचाउन सकेनन् र विज्ञानको विरुद्धमा धुवाँधार तरिकाले लागे र विज्ञानलाई पराजित गर्न खोजे तर विज्ञान कहिल्यै पनि पराजित भएन बरु धर्म आफैँले हावा खायो । इसाको १८औँ शताब्दीमा वैज्ञानिक ग्यासको अध्ययन र खोजमा व्यस्त भए । केही विद्युत्को रहस्यमयी शक्तिको खोजमा लागे । १९औँ शताब्दीमा विकासवाद तथा रोगहरूको किटाणुको सिद्धान्त अगाडि आयो । जीव विज्ञानको क्षेत्रमा चाल्र्स डार्विनको प्रसिद्ध पुस्तक ‘जातिको उत्पत्ति’ (यचष्नष्ल या कउभअष्भक)ले विचारहरूको एक नयाँ क्षितिज खोलिदियो । ग्रेगर जोहान्न मेन्डलका सिद्धान्तहरूले फसलहरूको उन्नतिमा र पशुहरूको नश्ल सुधारमा धेरै नै प्रगति गरिदिए । लुई पास्चरको किटाणु सिद्धान्तले करोडौँ मान्छेहरूको जीवनरक्षाको उपायलाई सदाको लागि खोलीदिए ।

अहिले विज्ञानको क्षेत्रमा अभूतपूर्व क्रान्तिहरू भएका छन् । पछिल्लो समयमा कृत्रिम बौद्धिकता (ब्चतषष्अष्ब िष्लतभििष्नभलअभ ब्क्ष्)को विकास यसको उदाहरण हो । सूचना सञ्चार र सामाजिक सञ्जालमा जुन परिवर्तन आएको छ, त्यो विज्ञानकै कारणले भएको हो । मानिसले विज्ञानको क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरेको छ । विज्ञान र प्रविधिको विकासले हरेक क्षेत्रलाई प्रभाव पारेको छ । कृषि, उद्योग, स्वास्थ्य, यातायात र निर्माणको क्षेत्रमा नयाँ प्रविधिको विकास भएको छ । जसले मानिसलाई काममा सजिलो बनाएको छ । हामीकहाँ सूचना सञ्चार र सामाजिक सञ्जालको विकास भएको छ । अरु कुरामा हामी धेरै पछाडि छौँ । विकासको लागि आर्थिक चाहिन्छ तर हाम्रो आर्थिक वृद्धि दर एकदमै न्यून छ । सरकारी तवरबाट विज्ञानको विकास र प्रचारमा उदासिनता देखिन्छ । भ्यु टावर र धार्मिक कार्यमा लगानी गर्नुभन्दा बरु शिक्षालाई गुणस्तर र व्यवस्थित बनाउन र वैज्ञानिक अनुसन्धान केन्द्रहरू स्थापना गरेको भए राम्रो हुन्थ्यो । सरकारी पक्षलाई यस्ता कुरामा कुनै चासो छैन । हामीसँग थुप्रै विद्वान् र विशेषज्ञहरू नभएको होइन तर राज्यको उदासिनताको कारण उनीहरू देशभित्र बस्न नसकी बाहिरिए । राज्यले उनीहरूको संरक्षण गर्नुपथ्र्यो । तर गरेन र गर्न चाहेन पनि । हाम्रो देशको सरकार शिक्षित चेतनशील र जागृत जनशक्तिसँग एकदमै डराउँछ । उ शिक्षित जनशक्तिलाई देख्न चाहँदैन । जसरी हुन्छ जनतालाई भुलभुलैयामा राखिरहन चाहन्छ ।

जनता अशिक्षित भएपछि शासकहरूलाई शासन गर्न धेरै सजिलो हुन्छ । आजको संसार विज्ञानमय बन्दै गइरहेको छ । विज्ञानको माध्यमबाट अहिलेको जेनजी पुस्ताले आफूलाई हरेक क्षेत्रमा अपडेट गराउँदै लगिरहेको छ । जेनजी पुस्ता जन्मदेखि नै प्रविधिसँग खेलेर आयो । उ अहिले पनि प्रविधिमा रमाइरहेको छ । जेनजी पुस्ताले आफ्नो प्रविधिसम्बन्धी ज्ञानलाई समाजविज्ञानसँग जोड्नु अति आवश्यक हुन्छ । समाजविज्ञानको अध्ययनबिना विज्ञान र प्रविधिमा मात्र जोड दिनु ज्ञानको एकाङ्गिपना हुन्छ । ज्ञान बहुआयामिक हुन्छ । बहुआयामिक ज्ञानले मात्र मानिसलाई अगाडी बढन सजिलो बनाइदिन्छ । त्यस्तै जेनजी पुस्ता पछि जेन अल्फा भन्ने पुस्ता छ, जसले माध्यमिक शिक्षा आर्जन गरिरहेको छ । उ पनि प्रविधिमा हुरुक्कै छ । उ प्रविधिभन्दा दायाँबायाँ गर्न चाहन्न् ।

तर यो पुस्तालाई पनि विज्ञानसम्बन्धी सही ज्ञान र समाजविज्ञानको ज्ञानले समयमै सुसूचित गराउनुपर्ने हुन्छ । नत्र यन्त्रमानव बन्ने खतरा रहन्छ । यसबारेमा बेलैमा सचेत हुन आवश्यक देखिन्छ । जेनजी र जेन अल्फा दुवैले राजनीति बुझ्न जरुरी छ । राजनीति नबुझेमा मानिस कुहिरोको काग बन्ने खतरा रहिरहन्छ । अहिले यी दुवैमा दलीय राजनीतिप्रति अत्यन्तै वितृष्णा छ । उनीहरूलाई राजनीति सरल तरिकाले बुझाउनु जेन एक्स र जेन वाईको कर्तव्य हुन जान्छ । तर पनि नयाँ पुस्ता हरेक विषयवस्तुमा ज्ञान लिन उत्सुक देखिन्छ । उ हरेक कुरामा प्रश्न गर्न चाहन्छ । उसले हरेक क्षेत्रमा नयाँ गर्न चाहन्छ । विज्ञानमा पनि नयाँ विकास भइरहेकोले नयाँ पुस्ताले आफूलाई त्यहीअनुसार विकसित गराउँदै लगिरहेको देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार