एक पालिका एक सामुदायिक बीउ बैंक बनाउन पहल



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेशमा एक पालिका एक सामुदायिक बीउ बैंकको व्यवस्था गर्न पहल गरिएको छ । कर्णालीका ७९ वटै पालिकालाई रैथाने तथा उन्नत जातका बीउ र खाद्यन्नमा आत्मनिर्भर बनाउन एक पालिका एक सामुदायिक बीउ बैंकको अवधारणा ल्याइएको हो । एक पालिका एक सामुदायिक बीउ बैंकको विषयमा छलफल गर्न बुुधबार प्रदेशस्तरीय नीति संवाद कार्यक्रमको आयोजना गरिएको थियो । कर्णाली सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, अक्सफाम, ली–वर्ड र सामुदायिक बीउ बैंक संघ नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

नीति संवाद कार्यक्रममा सरोकारवाला निकायबीच कर्णालीमा सामुदायिक बीउ बैंक, वर्तमान अवस्था र विस्तारको आवाश्यकताबारे छलफल भएको हो । छलफलमा सरोकारवाला निकायहरू एक पालिका एक सामुदायिक बीउ बैंकको व्यवस्था हुनुपर्ने निष्कर्षमा पुुगेका थिए । त्यसका लागि सामुदायिक बीउ बैंक स्थापना तथा व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने निष्कर्ष भएको थियो । ली–वर्ड र सामुदायिक बीउ बैंक संघ नेपालले पहल सुुरु गरेको एक पालिका एक सामुदायिक बीउ बैंकको विषयमा थप छलफल गरी आवश्यक नीति अवलम्बन गरिने कर्णाली सरकारका कृषिमन्त्री विनोदकुमार शाहले प्रतिबद्धता जनाए ।

सरकारका तर्फबाट गरेका प्रयास पर्याप्त नभएको स्वीकार गर्दै उनले सरकारमाथि मात्र निर्भर भएर विकास सम्भव नहुने तर्क गरे । ‘हामीले आवश्यक ऐन बनाइसकेका छौँ । हाम्रो काम नीति बनाउने र लागू गर्ने हो । तर त्यसलाई कार्यान्वयन गर्ने पक्षबाट केही समस्या छ,’ उनले भने, ‘रैथाने बाली संरक्षणको सवालमा कर्णाली सरकार अन्य प्रदेशभन्दा अघि नै छ । कर्णालीलाई खाद्यन्नमा आत्मनिर्भर बनाउन चाहन्छौँ । तर त्यसका लागि सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ ।’

कृषि सचिव सञ्जिवकुमार कर्णले रैथाने बीउको पहुँचमा सबै कृषकलाई पु¥याउनुपर्ने बताए । यसका लागि भएका नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न र आवश्यक नीति तथा कार्यक्रम बनाउन प्रदेश सरकार तयार रहेको उनको भनाइ छ । ‘सबै स्थानीय तहमा बीउ बैंक स्थापना गर्न आवश्यक छलफल गरि प्रक्रिया अघि बढाउन पहल गर्नेछौँ,’ उनले भने, ‘किसानलाई रैथाने उत्पादनमा आकर्षित गर्न के कस्तो सहयोग चाहिन्छ ? सोहीअनुसार प्रदेश सरकारले रणनीति बनाएर अघि बढ्नुपर्छ ।’ कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले तत्काल एक पालिका एक सामुुदायिक बीउ बैंक स्थापना गर्न सम्भव नभएपनि यसका लागि पहल सुुरु हुनुुपर्ने बताए ।

पहिलो चरणमा नमुनाका रूपमा भएपनि यो कार्यक्रम कार्यान्वयनमा जानुुपर्ने उनको भनाइ छ । मध्यपश्चिम विश्वविद्यालयका डिन प्रो.डा. चन्द्रेश्वर श्रीवास्तवले रैथाने तथा सबै अन्नबालीको संरक्षण र प्रर्वद्धन कार्यमा सामुुदायिक बीउ बैंकको महत्वपूूर्ण भूूमिका रहने भन्दै यो कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्रम कार्यान्वयनका लागि आवश्यक परेमा अनुुसन्धानदेखि तथ्यांकीय कार्य विश्वविद्यालयले गर्नसक्ने उनको भनाइ छ ।

दुई बीउ बैंक मात्रै संघमा आबद्ध

सामुदायिक बीउ बैंक संघ नेपालका कार्यक्रम सल्लाहकार पीताम्बर श्रेष्ठले संघमा आबद्ध देशभरका २९ वटा सामुदायिक बीउ बैंकमध्ये कर्णालीमा दुई वटा मात्रै रहेको जानकारी दिए । कर्णालीका कृषकहरूलाई फाइदा हुने गरि उत्पादन भएमा मात्रै रैथाने बीउ संरक्षण हुने उनको तर्क छ । ‘हाल बीउ संरक्षणका सचेतना फैलाउनेदेखि संरक्षण तथा उपभोग बढाउने काम बीउ बैंकले गरिरहेका छन्,’ उनले भने, ‘कर्णालीका रैथाने बाली राष्ट्रकै सम्पत्ति भएकाले यसको अभिलेखीकरण गरि उत्पादन र उपभोग बढाउनुपर्छ ।’

नेपालमा रैथाने बालीका हजारौँ जातहरू भएपनि अधिकांश बाली पञ्जीकरण नगरेरै उत्पादन र उपभोग भइरहेको उनले बताए । ‘ती रैथाने बालीले किसानहरूको आयआर्जन, जीविकोपार्जन र नेपालको अर्थतन्त्रमा ठूलो सहयोग गरेका छन्,’ उनले भने, ‘कृषि जैविक विविधता महासन्धी १९९२ अनुसार सकारले धेरै काम गर्न बाँकी छ, कर्णाली सरकारले एक पालिका एक बीउ बैंकको अवधारणा लागू गर्नसके कृषिमा ठूलो परिवर्तन आउने पक्का छ ।’

कृषि विकास निर्देशनालय सुर्खेतका कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले सबै जिल्लामा बीउ बैंक रहेपनि संघमा आबद्ध नहुँदा कम सङ्ख्या देखिएको बताए । जिल्लामा रहेका बीउ बैंकले रैथाने बाली संरक्षण र प्रवद्र्धनको काम गरिरहेको उनको भनाइ छ । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड)का कार्यकारी निर्देशक भरत भण्डारीले पछिल्लो समय जलवायु परिवर्तन र जैविक विविधताको विषय जटिल बन्दै गएको बताए ।

कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख बखतबहादुर खड्काले रैथाने बाली संरक्षण र प्रवद्र्धनका लागि आवश्यक कार्यक्रम बनाएर कर्णाली सरकारले काम गरिरहेको जानकारी दिए । नेपालमा सामुदायिक बीउ बैंकको विस्तारमा ली–बईबाट भएका पहलहरूबारे वरिष्ठ कार्यक्रम अधिकृत निरन्जन पुडासैनीले प्रस्तुुति राखेका थिए ।

नमुना बन्यो हाँकु बीउ बैंक

तातोपानी गाउँपालिका–४ जुम्लास्थित हाँकु सामुदायिक बीउ बैंक कर्णाली प्रदेशकै नमुनाको रूपमा स्थापित भएको छ । कर्णाली प्रदेशको नमुना सामुदायिक बीउ बैंकका रूपमा आफूलाई पहिचान बनाउन सफल भएको हो । यो बीउ बैंकले लोप हुन लागेका स्थानीय जातहरूको संरक्षण तथा रातो कोदो र लाल मार्सेको पञ्जीकरण नै गराएको छ भने थरिथरिका स्थानीय जातहरूका बीउ उत्पादन तथा समुदाय, पालिका, जिल्लाभित्र र बाहिर आपूर्ति गर्दै आएको छ ।

नीति संवाद कार्यक्रममा बीउ बैंककी अध्यक्ष कविता जैसी पराजुलीले संस्थाले गरिरहेका गतिविधि र असल अभ्यासबारे प्रस्तुतीकरणमार्फत जानकारी दिएकी हुन् । उनको प्रस्तुुतिपछि कर्णालीका सरोकारवाला निकायले हाँकु सामुदायिक बीउ बैंकको सराहनीय कामको खुलेरै प्रशंसा समेत गरे । कृषकहरूबाट बीउ तथा खाद्यान्न खरिदमार्फत उनीहरूको आय वृद्धिमा टेवा पुगेको अध्यक्ष जैसीले बताइन् ।

उनका अनुसार धौलिगाड सहकारी संस्थामार्फत सञ्चालित यस बीउ बैंकले एक जना कर्मचारीसमेत राखेको छ भने विसं २०८२ साउन १६ गते प्रथम राष्ट्रिय कोदो दिवसका अवसरमा कृषि विभागद्वारा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । ‘बचत संकलन तथा परिचालनमार्फत सदस्यहरूलाई सहजरूपमा साना कर्जा उपलब्ध गराउँछौँ । बीउ बिक्री वितरण गर्ने थलोको रूपमा बीउ बैंक स्थापित हुँदै गएको छ,’ अध्यक्ष जैसीले भनिन्, ‘सदस्य तथा गैरसदस्यहरूलाई सहुलियत दरमा कुटानी पिसानी सेवा उपलब्ध गराउँदै आएका छौँ । वार्षिक ५०० घरधुरीले यो सेवा लिन्छन् ।’

कृषकहरू र सहकारीको आम्दानीको स्रोत वृद्धि भएको छ भने बीउ बैंकले हाल वार्षिक कारोबार लगभग २० लाख बराबर गर्ने गरेको छ । उपभोक्ताहरूलाई गुणस्तरीय तथा मिसावटरहित कृषि उपज उपलब्ध गराउनुका साथै बचत संकलन तथा परिचालन र कृषि तथा पशुपालनसम्बन्धी आयमूलक कार्य तथा घरारयी प्रयोजनका लागि ऋण परिचालन गर्ने गरिएको छ ।

तरकारीका उन्नत बीउ उत्पादन

पञ्चकोशी समाज सुधार सहकारी दुल्लु दैलेखले तरकारीका उन्नत बीउ उत्पादन गर्दै आएको छ । नीति संवाद कार्यक्रममा भाग लिँदै सहकारीका अध्यक्ष पूर्णबहादुर शाहीले तरकारीका उन्नत बीउ उत्पादनमार्फत सदस्यहरूको आय वृद्धि भएको जानकारी दिए । ‘कृषि तथा पशुपालनसम्बन्धी आयमूलक कार्य तथा घरारयी प्रयोजनका लागि ऋण परिचालन गरिएको छ,’ उनले भने, ‘बचत संकलन तथा परिचालनमार्फत सदस्यहरूलाई आर्थिक स्रोतमा पहुँच र स्थानीय बाली विविधता संरक्षणप्रति सदस्यहरूमा चेतना जागरण भएको छ ।’

पञ्चकोशी सामुदायिक बीउको कार्यक्षेत्र दुल्लु नगरपालिकाभरि विस्तार गर्ने र यसलाई जिल्लाको नमुना सामुदायिक बीउ बैंकका रूपमा स्थापना गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । सहकारीद्वारा उत्पादित उन्नत तरकारीका बीउ पञ्चकोशी ब्राण्डमा बिक्री वितरण गर्ने गरिएको छ । यो सहकारीले पनि बीउ बैंकको रूपमा जुम्लाको हाँकु सामुदायिक बीउ बैंकलाई पछ्याइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार