कोहलपुर ।
मंगलबारदेखि देशभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान औपचारिकरूपमा सुरू भएको छ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो । प्रत्येक वर्ष नोभेम्बर २५ को अवसर पारेर मनाइने अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस हरेक वर्ष झैँ यस वर्ष पनि सुरु भएको हो ।
यो अभियान यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । कोहलपुरमा मंगलबार प्रभातफेरी गर्नुका साथै कोणसभामा परिणत भएर महिला हिंसासम्बन्धी सचेतना गराइएको कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले बताइन् । पछिल्लो समय प्रविधिको विकाससँगै त्यसको दुरुपयोग बढेकाले महिलाहरू लैंगिक हिंसामा पर्ने गरेको जानकारी दिइन् ।
यस वर्ष ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ’ छ । मंगलबारबाट सुरु भएको अभियान विभिन्न वडाहरूमा सञ्चालन गरिने उनको भनाइ छ । लैंगिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अभियानमार्फत अघि बढाउने उनले बताइन् ।
संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो । नेपालमा भने यो दिवस २०७५ सालदेखि मनाउन थालिएको हो । हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाबाट उत्पन्न समस्या अहिलेसम्म पूर्णरूपमा अन्त्य हुन सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्