कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्रबिघा मैदानमा निर्माण हुने कोहलपुर फुटबल रंगशालाको प्याराफिट निर्माण सुरु गरिएको छ । गत भदौ महिनामा शिलान्यास गरिएको रंगशालाको प्याराफिट निर्माण सुरु भएको हो । रंगशाला निर्माण योजना अन्तर्गत पहिलो चरणको प्याराफिट निर्माणको काम तीव्र गतिमा भइरहेको हो । प्याराफिट निर्माणको जिम्मा कोहलपुर–२ स्थित शुभ आर्शिवाद– श्री वि.जी.जे.भीले लिएको छ ।
रंगशाला निर्माणको जिम्मा लिएको कम्पनीले नै प्याराफिट निर्माणको काम गरिरहेको वडा नम्बर २ का वडाध्यक्ष हरी कठायतले जानकारी दिए। उनका अनुसार प्याराफिट निर्माण कार्यको अनुगमनसमेत गरिएको छ । ‘कोहलपुर फुटबल रंगशाला हाम्रो सपना हो । सोही अनुसार कार्य अघि बढिसकेको छ । प्याराफिट निर्माणको कामसमेत सुरुवात भइसकेको छ,’ उनले भने । रंगशाला निर्माणका कार्यका लागि नगरपालिका र निर्माण व्यवसायीबीच १ वर्षे सम्झौता छ ।
दुवै पक्षबीच रंगशाला निर्माण कार्यका लागि २०८२ साउन २२ गते सम्झौता भएको थियो । निर्धारित समयमै काम सम्पन्न गर्नेगरी काम सुरु भएको निर्माण व्यवसायी अमृत खत्रीले बताए । उनका अनुसार सम्झौतामा २०८३ असार मसान्तभित्र प्याराफिट निर्माण गरिसक्नुपर्ने उल्लेख छ। निर्धारित समयमै काम सम्पन्न गरिने खत्रीले बताए । कूल सात करोड रूपैयाँ लागतमा रंगशालाको प्याराफिट निर्माण हुनेछ ।
रंगशाला निर्माणका लागि कोहलपुर नगरपालिकाले ब्रिक कन्सल्टेन्ट प्रालिसँग मिलेर तयार गरेको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो । डीपीआर अनुसार फुटबल रंगशाला निर्माणका लागि २२ करोड लागत लाग्नेछ । फुटबल रंगशाला निर्माण सम्पन्न गर्न कूल २२ करोड ७५ लाख ५४ हजार २ सय ७२ रूपैयाँ २३ पैसा लागत लाग्ने डीपीआरमा उल्लेख छ ।
उक्त रकम लगानीमा रंगशालामा चारैतर्फ सुविधासम्पन्न प्याराफिट निर्माण गरिनेछ । यस्तै वाउन्डिङ वाल, होस्टेल ब्लक, शौचालय, पार्किङस्थल लगायतका संरचना निर्माण हुनेछन् । यस मैदानमा तीन वर्षदेखि लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो धनराशीको फुटबल प्रतियोगिता मुख्यमन्त्री कोहलपुर गोल्डकप सञ्चालन हुँदै आएको छ । कोहलपुर–२ स्थित कोहलपुर रेसिङ साहारा क्लबको आयोजना प्रतियोगिता सञ्चालन हुँदै आएको हो ।









प्रतिक्रिया दिनुहोस्