
१. कला तथा साहित्य तपाईँका लागि सिर्जनात्मक सौन्दर्य हो कि सामाजिक प्रतिरोध ?
कला तथा साहित्य केवल सिर्जनात्मक सौन्दर्यको अभ्यास मात्र नभएर वैयक्तिक सामाजिक चेतनाको स्वर हो। सौन्दर्य त्यसको माध्यम, जसले कलालाई संवेदनशील साथसाथै आत्मीय बनाउँछ। कलाकारको काम केवल सुन्दर दृश्य सिर्जना गर्नुमा सीमित नभई समाज, सत्ता र शक्तिले नजरअन्दाज गरेका कथा÷आवाजलाई दृश्य र शब्दमा रूपान्तरण गर्नु हो।
२. एक कलाकारले बनाउने चित्र र सिर्जना गरिने साहित्यले समाज परिवर्तन गर्न सक्छ भन्नेमा तपाईँ कति विश्वास गर्नुहुन्छ ?
अवश्य गर्छ। तर त्यो परिवर्तन भने एक्कासि हुँदैन । कलाले मानिसलाई सोच्न बाध्य पार्छ, पीडा पोख्न सिकाउँछ, अन्यायको स्वरलाई सार्वजनिक गर्छ । जसको सूक्ष्म प्रभावहरूले समाजको चेतना परिवर्तन गर्न सहयोग गर्छ । कला मानसिकता र दृष्टिकोण परिवर्तन गर्ने मन्द क्रान्ति हो।
३. कला र साहित्यमा कुन विधाले बढी सन्तुष्टि दिएको छ ? फाइन आर्टको अध्ययनले तपाईँलाई ‘कलाकार’ मात्र होइन, ‘विचारक’ पनि बनाएको अनुभव गर्नुहुन्छ ?
मेरो लागि सन्तुष्टि कुनै एउटै विधामा सीमित छैन। सबै एक अर्कामा मिसिँदा त्यसको निकट पुगेकी भन्ने महसुस भने हुन्छ। फाइन आर्ट मेरो मूल भाषा हो । जसको जगमा टेकेर म सोच्ने र प्रश्न गर्ने प्रयास गरिरहन्छु । कलाको अध्ययनले मान्छेलाई कागज, भित्ता वा केवल दृश्यमा सम्म सीमित नबनाई समाज, समय र चेतनाको तहहरूसम्म पु¥याउन मदत गर्दो रहेछ।
४. एउटा कविता जन्मनु वा एक चित्र जन्मिनु अघि तपाईँको मनमा के–कस्तो मानसिक यात्रा हुन्छ ?
एक किसिमको अव्यवस्थित सोचहरूको जमघटबाट सुरु हुन्छ । बोल्न खोज्नु र मौन रहनु दुवै एकै समयमा भएजस्तो। कहिले सम्झनाको धुलो, कहिले समाजको पीडा, कहिले आफ्नै आत्माको प्रतिविम्ब। एक प्रकारको अनुभूतिजन्य पदयात्रा। जसको माध्यमबाट सत्य र जवाफ खोज्ने यत्न चलिरहन्छ । जसको अन्त्यमा कहिले म आफैँ हराउँछु र कहिले सिर्जना भेटिन्छ।
५. कलामा “रङ्ग“ र “खाली क्यानभास“ बिचको सम्बन्धलाई तपाईँ कसरी व्याख्या गर्नुहुन्छ ?
“रङ्ग” र “खाली क्यानभास” बिचको सम्बन्ध जीवन र सम्भावना बिचको सम्बन्ध जस्तै हो ।
६. सार्वजनिक भित्तामा बनाइएका चित्रहरू सधैँ सुरक्षित हुँदैनन्; यसलाई कला र सम्मानको दृष्टिले कसरी लिनुहुन्छ ?
सार्वजनिक भित्तामा बनेका चित्रले बन्दाबन्दै वा बनेको क्षणदेखि नै समाजसँग संवाद सुरु गर्छ, ध्यान आकृष्ट गर्छ, भावनामा हलचल ल्याउँछ, चेतना झङ्कृत गर्छ । आकृतिको आयु भन्दा पनि त्यसको प्रभावको सटिकता र फैलावट महत्त्वपूर्ण हुन जान्छ । सम्भवतः भित्ताहरू भत्किन्छन्, चित्रहरू मेटिन्छन् तर त्यसले जन्माएको संवाद, अनुभूति र प्रश्नहरू मेटिँदैनन्।
७.काठमाडौँका भित्ता रङ्गाउँदा नेपालगन्ज कोहलपुर सम्झनु भयो कि भएन ?
मेरो कलात्मक यात्रा र दृष्टिकोणलाई बेसिक आकार दिएको ठाउँ हो – बाँके बर्दिया । त्यहाँका मानिसहरूको जीवनशैली, वातावरण , मौलिकता र माटोले ममा सधैँ प्रभाव पारेको छ । आफ्नो धरातललाई कसरी बिर्सनु ?
८ भित्तामा चित्र कोर्दा–सामाजिक दबाब वा सेन्सर सिपको अनुभव गर्नुभएको छ ?
सार्वजनिक भित्तामा काम गर्नु केवल चित्र कोर्नु मात्र होइन, समाजसँग संवाद गर्ने, संवेदनशीलता जगाउने र आफ्नै विचार तिखार्ने अवसर हो। यस क्रममा कहिलेकाहीँ सामाजिक दबाब, आलोचना वा सेन्सर सिपको सामना गर्नु नै पर्छ। यसलाई निराशाको रूपमा नहेरी, सिर्जनालाई अझ स्पष्ट, साहसी र अर्थपूर्ण बनाउने मौकाका रूपमा हेर्न सकिन्छ।
९. सार्वजनिक कलामा ‘दर्शक’ र ‘कृति’ बिच संवाद कसरी सम्भव हुन्छ ?
सार्वजनिक कलामा ‘दर्शक’ र ‘कृति’ बिचको संवाद केवल प्रत्यक्ष प्रतिक्रियामा सीमित हुँदैन। दर्शकले कृतिलाई आफ्नो अनुभव, स्मृति र भावनासँग जोड्छ। जस कारण प्रत्येक व्यक्तिले कृतिलाई फरक अर्थ दिन सक्छन्। त्यसैले दुवै बिचको संवाद स्थिर नभई सधैँ परिवर्तनशील र बहुआयामिक हुन्छ।
कृतिले दर्शकलाई प्रश्न गर्न, सोच्न र आफ्नै दृष्टिकोणलाई चुनौती दिन प्रेरित गर्छ। यसले कहिलेकाहीँ मौन संवादको रूपमा पनि काम गर्छ । शब्द नभए पनि भावनात्मक र बौद्धिक स्तरमा प्रतिक्रिया जन्माउँछ। यसरी, सार्वजनिक कला कृति र दर्शकबिचको अन्तरक्रियात्मक अनुभवजन्य संवाद निर्माण हुन्छ ।
१०. नेपालजस्तो बहुभाषिक–बहु सांस्कृतिक समाजमा कलाले एकता कसरी सिर्जना गर्न सक्छ ?
कलाले साझा अनुभूति, प्रतीक र भावनालाई पहुँचयोग्य बनाउँदै भाषा र सांस्कृतिक भिन्नताको सीमा पार गर्ने सञ्चार माध्यमको रूपमा विभिन्न समुदायबिच संवाद र समझदारीको ढोका खोल्न मदत गर्छ। नेपालजस्तो बहुभाषिक–बहु सांस्कृतिक समाजमा कलाका सामूहिक सिर्जनात्मक गतिविधिहरूले सामाजिक सह–अस्तित्व, विश्वास र सहयोगको वातावरण बनाउन भूमिका खेल्छ। उदाहरणका लागि, समुदाय केन्द्रित भित्ते चित्र परियोजनाहरूले फरक जात, भाषा र धर्मका मानिसहरूलाई एउटै कथा र दृश्यमा जोड्दै साझा पहिचान र एकताको भावना विकास गर्न मद्दत गर्छ।
११. पुस्तक कभर वा भित्ते–चित्रमार्फत तपाईँले कुन सामाजिक सन्देशलाई निरन्तरता दिन खोजिरहनुभएको छ ?
किताबका कभर वा भित्ते–चित्रहरूमा व्यावसायिक रूपमा काम गर्दा डिमान्ड अनुसार काम गर्नु पर्ने हुन्छ । माग अनुसारको सेवा। कतिपयले सम्पूर्ण रूपमा सृजनात्मक छुट दिनुहुन्छ त्यस्तोमा बनाउनुको मूल मर्मलाई नमारी दर्शक वा पाठकलाई सोच्न, प्रश्न उठाउन र समाजमा सकारात्मक परिवर्तन र समुदायका अव्यक्त आवाजलाई उजागर गर्ने कोसिस रहन्छ ।
१२. विश्वव्यापीकरणले नेपाली कलामा ल्याएको प्रभावप्रति तपाईँको दृष्टिकोण के छ ?
विश्वव्यापीकरणले कलाकारलाई अन्तर्राष्ट्रिय प्रवृत्ति, नयाँ प्रविधि र विविध दृष्टिकोणसँग परिचित गराएको छ। जसले सिर्जनामा नवीनता र प्रयोगात्मकता थपिरहेको छ। कलाकारलाई संसारसँग संवाद गर्ने अवसर पनि दिइरहेको छ । जस्तो ब्क्ष् ले कलाकारलाई केवल सजिलो टुल्स मात्र उपलब्ध गराएको छैन । उनीहरूलाई कल्पना र प्रयोगको सीमा विस्तार गर्ने क्षमता पनि दिएको छ। डिजिटल प्लेटफर्म र ग्लोबल पहुँचले कलाकारलाई आफ्नो कामलाई विश्वव्यापी दर्शकसँग जोड्ने अवसर दिएको छ। जसले स्थानीय कथा र कलालाई अन्तर्राष्ट्रिय बनाउने सम्भावना बढाएको छ।
तर यसले स्थानीय सांस्कृतिक पहिचान र मौलिकता माथि दबाब पनि पार्ने चुनौती रहन्छ। विदेशी प्रवृत्ति र बजारको मागले हाम्रो मौलिक शैलीलाई प्रभावित गर्न सक्छ। यस्तोमा कलाकारलाई आफ्नो मौलिक आवाज र संवेदनशीलता कायम राख्न चुनौती रहन्छ। मेरो बिचारमा कलाकारले आफ्नो सांस्कृतिक जरा र स्थानीय संवेदनशीलता भुल्न हुँदैन । वास्तवमा सार्थक कलाकार त्यही हुन्छ जसले वैश्विक प्रभाव र स्थानीय मौलिकता बिच सन्तुलन कायम राख्न सक्छ।
१३. कला व्यावसायिक रूपमा टिकाउ बनाउन कलाकारले के–कस्तो रणनीति लिनुपर्छ ?
मूलतः आफ्नो मौलिक शैली र पहिचान स्पष्ट बनाउनुपर्छ। समय अनुसार डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमार्फत कामलाई विश्वव्यापी दर्शकसम्म पु¥याउन सकिन्छ। वर्कसप र कमिसन जस्ता आम्दानीका स्रोतहरू प्रयोग गर्नुपर्छ। सृजनशीलता र व्यावसायिक सोचलाई सँगै लैजान सकेमा कला टिकाउ र अर्थपूर्ण बन्न सक्छ।
१४. नेपाली कलाकार अन्तर्राष्ट्रिय स्तरमा कमजोर देखिनुको मूल कारण के हो भनी तपाईँको धारणा छ ?
नेपाली कलाकार अन्तर्राष्ट्रिय स्तरमा कमजोर छैनन्। उनीहरूको सिर्जनात्मक क्षमता अत्यन्त उच्च छ। अन्तर्राष्ट्रिय स्तरमा पहिचान पनि बनाउँदै छन् । तर ढिलो चैँ भएको हो जसको मुख्य कारण अनेक छन्, जसमध्ये पूर्वाधारको कमी, अन्तर्राष्ट्रिय सम्पर्कको अभाव, व्यावसायिक सीमितता, सांस्कृतिक र भाषिक अवरोध, साथै हाम्रो लोककलालाई समकालीन कला र विश्वव्यापी प्रवृत्तिको मूलधारसँग जोड्न नसक्नु हो।
ग्यालरी, सङ्ग्रहालय र प्रदर्शनीमा पहुँच सीमित छ। विदेशका क्युरेटर वा संस्थासँग सम्बन्ध कम हुनु पनि यसका केही कारण हुन्। आफ्नो कामलाई प्रभावकारी ढङ्गले प्रचार र मूल्य निर्धारण गर्न नसक्नु र स्थानीय सांस्कृतिक कथा वा दृष्टिकोणलाई अन्तर्राष्ट्रिय दर्शकले बुझ्न कठिन हुनुले पनि नेपाली कलाकारलाई विश्व स्तरमा देखिन ढिलाइ भएको हुनसक्छ। यस्तोमा सरोकारवाला र सम्बन्धित सबैको अझ धेरै प्रयास, रणनीति र अवसरको आवश्यकता देखिन्छ ।
१५. नयाँ पुस्ता ‘डिजिटल आर्ट’ मा आकर्षित भइरहेका छन्, यसले परम्परागत चित्रकलामा कस्तो प्रभाव पार्छ ?
मेरो दृष्टिमा, डिजिटल र परम्परागत कलालाई एक अर्कासँग विरोधी होइन, पूरकको रुपमा हेर्न सकिन्छ । डिजिटल आर्टले परम्परागत कलालाई नयाँ माध्यम र दर्शकसम्म पु¥याउन सक्छ भने परम्परागत कलाले गहिरो अनुभव र सांस्कृतिक जरासँग जोड्ने कम गर्छ । दुवैलाई सन्तुलित रुपमा प्रयोग गर्दा कलाकार सृजनात्मक र आर्थिक रूपमा सशक्त बन्न सक्छ।
१६. तपाईँका लागि ‘सफल कलाकृति’ को मापदण्ड के हो—दर्शकको प्रतिक्रिया, कलात्मक सन्तुष्टि, वा बजार मूल्य ?
मेरो बुझाइमा “सफल कलाकृति ” भन्ने अवधारणा निकै व्यक्तिगत र बहुआयामिक हुन्छ। अझ कलाको सफलता कुनै एक मापनले निर्धारण हुँदैन जस्तो लाग्छ । धेरै कुराको संयोजन चाहिन्छ । त्यस्तो कलाकृतिले समयको सीमा पार गर्नु पर्छ । आजको मात्र नभएर भोलि पनि हुनुपर्छ ।
१७. तपाईँले आफूलाई नेपालका अन्य समकालीन कलाकारहरूभन्दा कुन पक्षमा फरक देख्नुहुन्छ ?
आफैलाई खोज्ने चरणमै छु, भेटेको दिन भनौला है ।
१८. तपाईँका कलाकृतिहरूमा ‘स्व’ (individual identity) र ‘समूह’ (collective identity) को सन्तुलन कसरी देखिन्छ ?
मेरो ‘स्व’ त्यही ठाउँ हो जहाँबाट आवाज सुरु हुन्छ र त्यो आवाज अन्ततः सामूहिक अनुभवको प्रतिध्वनि बन्छ। दुवै एकै रङका दुई छाया हुन् ।
१९. एक कलाकारको दृष्टि र साधारण दर्शकको दृष्टिबिच कस्तो टकराब हुन्छ भनी अनुभव गर्नुभएको छ ? चित्र बनाउँदा दर्शक वा समाज के सम्झनु हुन्छ ?
टकराब दृष्टिकोणको हुन् सक्छ । जुन कहिलेकाहीँ आवश्यक हुन्छ, किनभने त्यहीँबाट कला र समाजबिचको संवाद सुरु हुन्छ। चित्र बनाउँदा म आफू, दर्शक र समाजलाई एउटै घेरा वरपर महसुस गर्छु । एउटा साझा भाषाको सम्भावना देख्छु । दर्शन सधैँ सम्भावनाको दर्शक बनिरहेकै देख्छु ।
२०. काठमाडौँ महानगरकाका भित्तामा तपाईँले कोरेका चित्रहरूले समाजलाई कुन चेतना दिन खोजेका छन् ?
काठमाडौँका भित्तामा कोरिएका चित्रहरू खुला संग्रहालय हुन्। त्यहाँको मौलिकता, ऐतिहासिकता तथा सांस्कृति इत्यादिलाई देखाउने । ती भित्ताहरूमा शहरको आत्मा र जनजीवनको कथा लेख्ने प्रयास गरिएको झैँ लाग्छ । मेरो दृष्टिमा, अब ती केवल पर्खाल होइनन्। ती जीवित सतहहरू हुन् । आशाको सङ्केत हुन् ।
२१. नेपाली कलामा स्थानीय संस्कृति र आधुनिकता बिचको सङ्घर्षलाई तपाईँ कसरी मिलाउन खोज्नुहुन्छ ?
परम्पराको आत्मा र आधुनिक विचारको स्वर एउटै क्यानभासमा भेट्दा गजब हुन्छ जस्तो लाग्छ। संस्कृति स्थिर होइन, त्यो समयसँगै रूपान्तरण हुने चेतना हो। स्थानीय प्रतीक, मिथक र रङ्गहरूलाई आधुनिक संरचना र विचारसँग मिसाउँदै नयाँ भाषा खोज्नु पर्छ झैँ लाग्छ ।
२२. एक चित्र जन्मिसकेपछि कलाकार र कृत्तिबिचको सम्बन्ध टुट्छ कि अझै बलियो बन्छ ?
चित्र जन्मिसकेपछि कलाकार र कृत्तिबिचको सम्बन्ध टुट्दैन बरु, बदलिन्छ। चित्र पूरा भएपछि म सर्जकबाट दर्शकमा रूपान्तरण हुन्छु ।
२३ तपाईँको अन्तिम सपना—तपाईँले छोडेर जाने “कलात्मक सम्पदा“ कस्तो होस् भन्ने चाहनुहुन्छ ?
एउटा महसुस र चेतना छोडेर जान सकियोस् भन्ने हो।
[कलाकार तथा साहित्यकार रसिकराजसँग मिसन टुडेका साहित्य सम्पादक महानन्द ढकालले गरेको कुराकानी ]









प्रतिक्रिया दिनुहोस्