वास्तवमा क्रिकेट भनेको मनोबलको खेल हो । उच्च मनोबल भएको खेलाडी विपक्षी खेलाडीको नामभन्दा बलमा ध्यान दिन्छ । दुईपटकको टी ट्वान्टी विश्वकप च्याम्पियन वेष्ट इण्डिजलाई हराउनु चानचुने कुरा होइन । यसले खेलाडीको मनोबल मात्रै नभएर विपक्षी टोलीलाई थप दबाबमा पार्नेछ ।
भुपेन्द्र जिसी, खेल पत्रकार
१. विश्वकप छनोटलाई नेपालको तयारी कस्तो पाउनुभयो ?
यस छनोट खेल्ने ९ टोलीमध्ये सबैभन्दा राम्रो तयारी सायद नेपालको नै होला । गत अप्रिलयता नेपालले १८ टी–२० खेल खेलेको छ । खेलाडी सबैले राम्रो म्याचएक्सपोजर पाएका छन् । यसअघि जस्तो खेलको कुनैपनि कमी छैन । खेलाडीलाई आफ्नो कमजोरी पत्ता लगाउने र सुधार गर्ने पर्याप्त खेल पाएका छन् । त्यसैले अब तयारीमा दोष दिने ठाउँ नै छैन ।
२. एसिया छनोटमा इस्ट एसियाप्यासिफिक (ईएपी) एसियामै गाभिएपछि नेपाललाई झनै सहज भएको हो ?
यसपटक त इस्ट एसियाप्यासिफिक छनोट गाभ्नुको मुख्य एसियाका राम्रो टोली नै विश्वकप खेलुन् भनेर हो । कोटाले गर्दा एसियाका राम्रो टिम विश्वकप खेल्न पाएका छैनन् । गतवर्ष युएई त्यसको मुख्य उदाहरण हो । ईएपीमा पपुवान्युगिनीलाई प्रतिस्पर्धा दिने अन्य टोली नै भएनन् । अनि विश्वकपमा पपुवान्युगिनीको प्रदर्शन पनि त्यति राम्रो छैन । त्यसैले राम्रो टोलीलाई अवसर दिन यो निर्णय लिएको हो ।
यस्ले हामीलाई झनै फाइदा हुन्छ । किनभने एक दुई खेल खराब खेल्दापनि विश्वकपमा पुग्ने समीकरण बलियो हुन्छ । यसअघि एसियाबाट दुई टोलीमात्रै विश्वकपमा पुग्दै आएका थिए । तर यसपटक तीन टोली छन् । इएपी जोडिए पनि चुनौती दिने ठूला टोली नआउँदा नेपाललाई सहज भएको हो । यो नै नेपालले विश्वकपमा पुग्न खेलेको सबैभन्दा सहज छनोट पनि हो ।
३. विश्वकपमा पुग्न नेपालले कति खेल जित्नुपर्छ होला ?
पहिला म तपाईँलाई समूह र सुपर सिक्स प्रष्ट पार्दछु । समूह ‘ए’मा मलेसिया, कतार र युएई छन् । समूह ‘बी’मा जापान, कुवेत र नेपाल तथा समूह ‘सी’मा ओमान, पपुवान्युगिनी र सामोआ छन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा अर्को समूहबाट आएका चार टोलीसँग प्रतिस्पर्धा हुनेछ ।
आफ्नो समूहबाट गएको टोलीसँग भने सुपर सिक्समा प्रतिस्पर्धा हुनेछैन । सुरुमा दुवै खेल जितेर दुई अंकका साथ सुपर सिक्समा जानु पर्दछ । सुपर सिक्समा चारमध्ये तीन खेल जिते विश्वकपमा पक्का हो । यदि दुई खेल जिते पनि विश्वकपको सम्भावना रहन्छ । तर सुपर सिक्समा दुई खेल मात्रै जितेका भने नेटरनरेटमा भर पर्नुपर्छ । हाम्रो लक्ष्य भनेको अपराजित रहँदै विश्वकप खेल्ने नै हो । विश्वकपमा पुग्नलाई सुपर सिक्समा तीन जित आवश्यक देखिन्छ ।
४. छनोटअघि दुईपटकको विश्वकप च्याम्पियन वेष्ट इण्डिजलाई हराउँदा कतिको फाइदा हुन्छ ?
वास्तवमा क्रिकेट भनेको मनोबलको खेल हो । उच्च मनोबल भएको खेलाडी विपक्षी खेलाडीको नामभन्दा बलमा ध्यान दिन्छ । दुईपटकको टी ट्वान्टी विश्वकप च्याम्पियन वेष्ट इण्डिजलाई हराउनु चानचुने कुरा होइन । यसले खेलाडीको मनोबल मात्रै नभएर विपक्षी टोलीलाई थप दबाबमा पार्नेछ ।
५. विश्वकप छनोटमा नेपालको बलियो र कमजोरी पक्ष के के हुन् ?
नेपालको सबैभन्दा बलियो पक्ष भनेको नै प्रायः एउटै खेलाडी पछिल्लो समय लगातार टोलीमा छन् । यस्ले टिममा सबैलाई खेलाडीको भूमिका र क्षमता थाहा हुँदा एकअर्कालाई बुझ्न सजिलो हुन्छ । गतवर्ष विश्वकप खेल्दाका ११ खेलाडी यसपटक छनोट खेल्दैछन् । गतवर्ष विश्वकप टोलीमा नपरेका लोकेश बम, आरिफ शेख, आदिल आलम र नन्दन यादव पनि नेपालका म्याच विनर खेलाडी हुन् ।
नन्दनबाहेक अन्य सबै खेलाडी ओमानमा यसअघि नै गएर खेलेका छन् । अर्कोतर्फ नेपालको ब्याटिङ लाइनअप यस प्रतियोगिताकै सर्वोत्कृष्ट छ । किनभने ललितबाहेक अन्य सबै खेलाडी ब्याटिङबाट कुनैपनि नम्बरमा गएर जिताउन सक्छन् । यस्तो ब्याटिङ लाइनअप पहिला वेष्ट इण्डिजको हुन्थ्यो । कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, आदिल अन्सारी, करण केसी जस्ता टी २० का हिटर हुँदा नेपालको ब्याटिङ नै नेपालको बलियो पक्ष हो । बलिङमा पनि नेपालको प्लेइङ ११ मा ७÷८ बलिङ विकल्प छ ।
तर डेथ ओभर (अन्तिम पाँच ओभर) नेपालले अझै काम गर्नुपर्छ । लक्ष्य पछ्याउँदा पनि नेपालको इतिहास राम्रो छैन । डटबल अली बढी खेल्ने बानी हाम्रो ब्याटरमा छ । विशेषगरी डेथ ओभर र डटबल बढी खेल्ने बानीलाई सुधार गर्नुपर्दछ । ओपनरबाट राम्रो साझेदारी नभएको धेरै भएको छ । नेपाल सुरुवात उत्कृष्ट गर्नुपर्दछ ।
६. नेपालको विश्वकपमा पुग्ने सम्भावना कतिको छ ?
नेपाल विश्वकपमा नपुग्नु भनेको विश्व क्रिकेट अचम्ममा पर्नु हो । पछिल्लो दुई वर्षमा नेपालले विश्व क्रिकेटमा सानदार क्रिकेट खेलेको छ । गतवर्ष विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई जितनजिक पुगेर हार्न पुगेको थियो । यस प्रतियोगितामा नेपाललाई टक्कर दिने टोली युएई हो । युएईको पनि शीर्ष क्रमको ब्याटरमा बढी निर्भर छ । त्यसैले नेपालले आफ्नो क्षमताअनुसारको क्रिकेट खेले अपराजित रहँदै च्याम्पियन बनेर विश्वकपमा पुग्नेछ । नेपाल आफ्नो क्षमताको ६० प्रतिशत खेल मैदानमा देखाउन सके पनि विश्वकप खेल्ने देखिन्छ ।
७. के यसपटक एसियाबाट विश्वकपमा कुनै टोलीले डेब्यू गर्लान् ?
मेरो विचारमा उमेर बढी भएका र फिटनेस समस्याको कारण ओमान र पपुवान्युगिनीलाई विश्वकपमा पुग्न मुश्किल देख्छु । नेपाल र युएई विश्वकप खेल्ने फेभरेट टोली हुन् । तेस्रो टोलीको रूपमा मैले कुवेत र मलेसियाबीच प्रतिस्पर्धा हुने देख्दछु । अझ कुवेतले पछिल्लो समय जसरी क्रिकेट खेलेको छ त्यसले छनोटमा धेरैलाई सरप्राइज दिनसक्छ । गत अप्रिलमा कुवेतले चार देश सम्मिलित सिरिजको फाइनलमा नेपाललाई हराउँदै उपाधि जितेको थियो । त्यसअघि गल्फ टी–२० च्याम्पियनसिपमा युएईलाई निकै कडा प्रतिस्पर्धा दिएको थियो । मेरो विचारमा कुवेत पटकपटक विश्वकप खेल्ने सम्भावना बढी छ ।
८. ओमानमा नेपालको इतिहास राम्रो छैन नि ?
हो नेपाल २०२२ को टी ट्वान्टी एसिया छनोट र २०२४ को एसीसी इस्टर्न रिजनमा ओमानमा राम्रो गर्न सकेको थिएन । क्रिकेटमा इतिहासले नतिजालाई केही फरक पर्दैन । जित्नलाई मैदानमा राम्रो खेल्नुपर्छ । सकिएको कुरा सकियो । हरेक दिन शून्यबाट सुरु गर्नुपर्दछ । पहिला च्याम्पियन बनेको भएपनि यसपटक बन्न राम्रो क्रिकेट खेल्नैपर्छ । इतिहासले कुनै फरक पर्दैन । अब इतिहास बनाउन नेपालले ध्यान दिनुपर्दछ।
९. विश्वकप छनोटलाई हाम्रो उत्कृष्ट प्लेइङ–११ कुन होला ?
प्लेइङ– ११ विपक्षी टिम, पिच कन्डिसन, कप्तान, प्रशिक्षक र टिम म्यानेजमेन्टमा भरपर्छ । छनोट हुँदा नेपालले उत्कृष्ट–११ खेलाडीलाई नै मैदान उतार्ने देखिन्छ । ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । तेस्रो नम्बरमा रोहित पौडेल, चौथो नम्बरमा कुशल मल्ल र पाँचौँ नम्बरमा दीपेन्द्रसिंह ऐरीको सम्भावना छ ।
छैटौँ र सातौँ नम्बरमा गुल्शन झा र आदिल अन्सारीको सम्भावना छ । वेष्ट इण्डिजविरुद्ध दोस्रो टी–२० आई खेलमा अर्धशतक प्रहार गरेका सन्दीप जोरालाई मध्यक्रममा खेलाउन परे आदिल बेञ्चमा हुनेछन् । आठौँ, नवौँ र दशौँ नम्बरमा सोमपाल कामी, करण केसी र नन्दन यादव हुनेछन् । नेपालका प्रमुख तीन प्रमुख तीव्र गतिका बलर यी तल्लो क्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । सन्दीप लामिछाने अन्तिम नम्बरमा ब्याटिङ गर्नेछन् । स्पिनरमा सन्दीपसँगै दीपेन्द्र, कुशल मल्ल, कुशल भुर्तेल र रोहित पौडेल हुनेछन् । पार्टटाइम तीव्र गतिका बलरमा गुल्शन र आदिल हुनेछन् ।
१०. अन्त्यमा हामी विश्वकपमा पुग्यौँ भने के के कुरा फाइदा हुन्छ ?
हामी विश्वकपमा पुग्नु भनेको क्रिकेट मात्रै नभएर पूरा देशलाई फाइदा हुनु हो । जेनजी आन्दोलनपछि देश हरेक कुराले निराशामा फसेको छ ।यो निराशाबाट बाहिर ल्याउन र खुसी दिलाउन विश्वकपमा पुग्नु नै सबैभन्दा राम्रो काम हो । देशलाई फेरि क्रिकेटले एकतामा बाध्नेछ । नेपाली भनेपछि हामी कुनै पनि खेललाई माया गर्दछौँ । क्रिकेटको माहोल फेरिन्छ । ठूला टोलीविरुद्ध हामी सिरिज र खेल खेल्न पाउँछौँ । विश्वकपको प्रदर्शन विश्वले हेर्ने हुँदा नेपालको नाम संसारभर चिनिन्छ । नेपाली खेलाडीलाई विश्वभरका लिगहरूमा खेल्ने अवसर आउँछ ।
नयाँ खेलाडीलाई क्रिकेटमा लाग्न प्रेरणा मिल्छ । क्यानलाई प्रायोजक पाउन सजिलो हुन्छ । अर्कोतर्फ आईसीसीले दिने अनुदान बढ्छ । ठूला टोलीलाई देशमै ल्याएर सिरिज खेल्दा आर्थिक, पर्यटन र रोजगारीको अवस्था सिर्जना हुन्छ । विश्वका ठूला टोलीहरूले नेपाललाई हेर्ने नजरमा फरक आउँछ । खेलाडीको सेवा सुविधा फेरिन्छ। खेलाडीहरूले प्रशस्त मात्रमा खेलहरू खेल्न पाउँछन् ।









प्रतिक्रिया दिनुहोस्