व्यवसायीहरू हामीलाई चुनावको बेला सीमा पारिको व्यापारको निर्भरताका विषयमा के गर्नु हुन्छ भनेर सोध्नु हुन्छ ? हामीले त्यसका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने भन्छौँ । म त भन्छु म बाट सुरु गरौँ न । कुनैपनि व्यवसायी त्यहाँ नगएर यतै काम गरौँ त । सकारात्मक थालनीका रूपमा यसलाई लिन सकिन्छ । त्यसैले व्यक्तिगत तहबाटै यस्ता कुराको सुरुवात हुँदा अझ राम्रो सन्देश जान्छ जस्तो लाग्छ मलाई । म रुपैडिहा गएर सामान किन्ने छैन भन्ने प्रण गरौँ । नजाऔँ । त्यसै रोकिन्छ ।
प्रदीप भट्टराई
अध्यक्ष, कोहलपुर उद्योग वाणिज्य संघ
१. स्वागत छ अध्यक्ष ज्यू, तपाईँको दैनिकी कसरी बितिरहेको छ, बताइदिनुहोस् न ?
सर्वप्रथम आउँदै गरेको बडादसैँ, शुभ दिपावली र छठ पर्वको सम्पूर्णमा शुभकामना व्यक्त गर्न चाहन्छु । देशको वर्तमान स्थिति आजभन्दा दुई हप्ताअघिको भन्दा फरक छ । आम नेपालीले नयाँ झिल्को आभास गरेको अवस्था छ । त्यो झिल्को दियोको रूपमा बलोस् भन्ने सम्पूर्ण नेपाली नागरिकको कामना रहेको छ । देशभरको व्यवसाय क्षेत्रसमेत सोहीअनुसार अघि बढेको छ ।
२. कोहलपुर उद्योग वाणिज्य संघले हाल कसरी काम गरिरहेको छ ?
कोहलपुर उद्योग वाणिज्य संघ निजी क्षेत्रको अभिभावकीय भूमिकामा रहेको एउटा प्रतिनिधिमूलक संस्था हो । यसले व्यवसायीहरूका हकहितमा आफूलाई समर्पित गर्दै आएको छ । यसले लामो समयदेखि सामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको छ । हामी निर्वाचित भएर आएदेखि कोहलपुर क्षेत्रको व्यवसायीकरण र व्यवसायीहरूका सुख, दुःखहरूमा काम गर्दै आइरहेका छौँ ।
३. भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा यहाँको व्यवसायमा कस्तो प्रभाव परेको छ ?
देशभर आन्दोलनका कारण धेरै क्षति भएको छ । विभिन्न सार्वजनिक सम्पत्तिहरू जलाइए । ठूला ठूला व्यवसायिक प्रतिष्ठानमा समेत आगजनी भयो । बाँके जिल्लाकै सन्दर्भमा धेरै क्षति पुगेको छ । सरकारीदेखि निजी सम्पत्तिमा समेत आगो लगाइयो । व्यवसायको हकमा भने त्यो भएन । कोहलपुरमा रहेका कुनैपनि व्यवसायीको व्यवसायमा क्षति पुगेको छैन ।
आन्दोलनमा यत्रो क्षति हुँदा व्यवसाय क्षेत्र भने जोगियो ।तुलनात्मकरूपमा हिजो व्यापारिक सहरको रूपमा रहेका नेपालगन्ज, वीरेन्द्रनगर र दाङलगायतका क्षेत्रमा क्षति भयो । ती सहरहरू व्यवसायिक इतिहास बोकेका सहरहरू हुन् । कोहलपुरसमेत व्यवसायिक क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गएको छ । यहाँ अझैपनि त्यसको विकास हुन जरुरी रहेको छ । यहाँका सरोकारवाला निकाय र स्थानीय सरकारले व्यवसायमैत्री नीति अवलम्बन गर्नुपर्छ भन्ने लाग्छ । आन्दोलनका क्रममा हाम्रै छिमेकी पालिकाहरूमा आगजनी र तोडफोड भएन, तर कोहलपुरले क्षति व्यहो¥यो ।
यसमा हाम्रै चुक भयो कि भन्ने विषयमा हामीले समीक्षा गर्नुपर्ने देखिन्छ । निजी क्षेत्रले पनि सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्न सकेन कि भन्ने भान भएको छ । एकीकृत हुन सकिन की भन्ने प्रश्न गरेको थिए । अहिले जे जस्तो आन्दोलन भयो, यो राजनीति र नेताप्रति नागरिक, युवाहरूको आक्रोशको प्रतिविम्बको रुप हो । आगामी दिनमा सबै कुरा सच्चिन आवश्यक छ ।
४. जेनजी आन्दोलन राजनीतिप्रतिको आक्रोशको रूपमा हेरिरहँदा, व्यवसाय क्षेत्रले समेत युवाका आवश्यकता र आंकाक्षा पूर्ति गर्न नसकेको हो कि ?
वास्तवमा अहिलेको अवस्था निकै फेरिएको छ । विगतमा अधिकारका लागि भन्दै आन्दोलन भए । युद्ध भयो । ती कुरालाई हामीले कति आफैँ भोग्यौँ । देख्यौँ पनि । नेपालमा हरेक एक दशकमा कुनै न कुनै परिवर्तन भएका छन् । ती आन्दोलनका क्रममा विभिन्न उपलब्धि भए ।नागरिकले धेरै आशा गरेका थिए । नागरिकको जीवनस्तर परिवर्तन हुने आशा थियो । त्यो भरोसामाथि बारम्बार प्रहार भयो ।
राज्यले जेनजीहरूका भावनाहरू नबुझेको कारण यस्तो परिस्थिति सिर्जना भएको हो भन्ने मलाई लागेको छ । जेनजी आन्दोलन त्यसैको उपज थियो । तपाईँले भनेको जस्तो यसमा कुनै न कुनै पनि व्यवसाय क्षेत्रपनि जिम्मेवार थियो । यस विषयमा पनि व्यापक रूपमा चर्चा हुनुपर्छ जस्तो लाग्छ ।
५. अब दसैँको प्रसंग जोडौँ, दसैँ घरमै आइपुगेको छ, बजार कत्तिको चलायमान भएको छ ?
म भर्खरैमात्र एउटा पसलको उद्घाटन गरेर आएँ । कोहलपुरमा महिनैपिच्छे विभिन्न व्यवसाय सञ्चालन भइरहेका छन् । कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा मलाई बोलाइरहनु हुन्छ । म त्यहाँ पुग्छु । आफ्ना कुरा राख्छु । पछिल्लो समयमा व्यवसायमा हात हाल्ने र व्यवसाय सुरु गर्ने कतिपय जेनजी पुस्ताका हुनुहुन्छ । त्यस्तो भएको हुनाले अहिलेको पुस्ता पहिलाको जस्तो छैन । उ आफैँ केही गर्न चाहन्छ । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्म प्रयोग गरेरसमेत व्यवसाय सञ्चालन गरिरहेका छन् ।
अर्कातिर जेनजी आन्दोलनमा जे जस्तो अवस्था सिर्जना भयो । नेपाली समाज यतिधेरै छिटो समयमा पूर्ववत अवस्थामा फर्किन्न कि भन्ने आम प्रश्न थियो । तर दैनिकी पूर्ववत अवस्थामा फर्किँदैछ । व्यवसाय चलायमान हुन थालेको छ । बजारमा हेर्नुभयो भने नागरिकहरू किनमेलका लागि आइरहेका छन् । व्यवसाय क्षेत्र चलायमान भइरहेको अवस्था छ । बजारको स्थिति के छ भनेर सोधेको थिएँ । सकारात्मक प्रतिक्रिया आएको छ। कोहलपुरलाई व्यावसायिकरूपमा अघि बढाउनुपर्छ । यसका लागि निजी क्षेत्र र सरकारी निकाय अघि बढ्न आवश्यक देखिन्छ ।
६. तपार्इँले बजार चलायमान हुँदैछ भन्दैगर्दा अहिलेपनि नेपाली उपभोक्ता छिमेकी देशको बजारमा बढी केन्द्रित देखिन्छन्, यसमा तपाईँको धारणा के छ नी ?
तपाईँले सोध्नुभएको प्रश्न जायज छ । नेपाली उपभोक्ताहरू अहिलेपनि भारतीय बजारमा निर्भर छन् । कोहलपुरबाट समेत त्यहाँ पुगेको देखिन्छ । यसका लागि नेपाल सरकारले नीतिगत रूपमा हेर्नुपर्छ जस्तो लाग्छ । भन्सार कार्यालय र नेपालगन्ज उद्योग वाणिज्य संघसँगसमेत समन्वय गरेका थियौँ । मूल्य समायोजनामा ध्यान दिनुपर्ने आवश्यकता मैले देखेको छु ।
त्यसमा राज्यस्तरबाट भूमिका आवश्यक देखिन्छ । त्यस्तो भयो भने हामी भारतीय बजार गइरहन पर्दैन । व्यवसायीहरू हामीलाई चुनावको बेला सीमा पारिको व्यापारको निर्भरताका विषयमा के गर्नु हुन्छ भनेर सोध्नु हुन्छ ? हामीले त्यसका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने भन्छौँ । म त भन्छु म बाट सुरु गरौँ न । कुनैपनि व्यवसायी त्यहाँ नगएर यतै काम गरौँ त । सकारात्मक थालनीका रूपमा यसलाई लिन सकिन्छ। त्यसैले व्यक्तिगत तहबाटै यस्ता कुराको सुरुवात हुँदा अझ राम्रो सन्देश जान्छ जस्तो लाग्छ मलाई ।
म रुपैडिहा गएर सामान किन्ने छैन भन्ने प्रण गरौँ । नजाऔँ । त्यसै रोकिन्छ । यसका लागि हामीले आफैँबाट सुरुवात गर्नुपर्ने आवश्यकता देखेको छु मैले । भन्सार कार्यालयमात्रै सिस्टममा चल्यो भने आधा कुरा त्यही दिनदेखि सल्टिन्छ । राज्य संयन्त्र लाग्नुपर्छ । चोरी निकासी रोक्नुपर्छ । आम नागरिक सचेत हुनुको विकल्प छैन ।
७. सीमा पारीको बजारको निर्भरता रोक्नका लागि कोहलपुर उद्योग वाणिज्य संघले संस्थागतरूपमा कस्ता प्रयास गरेको छ अहिलेसम्म ?
कोहलपुर अहिले जुन अवस्थामा छ । यसको ठूलो पृष्ठभूमि छ । कोहलपुर नगर विकास समितिको अवधारणा सुरु भएदेखि कोहलपुरमा सहरीकरणसँगै व्यवसायसमेत विकास हुँदै गएको देखिन्छ । कोहलपुरको छुट्टै आफ्नोपन र मौलिकता छ । अब यसलाई व्यवसायसँग जोड्नुपर्छ । कोहलपुरका धेरै क्षेत्र छन् । जहाँबाट हामीले नवीन खालका व्यवसाय सुरु गर्न सक्छौ । त्यसका लागि हामी नयाँ सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता देखेको छु ।
कोहलपुरमा होमस्टे व्यवसायको राम्रो सम्भावना रहेको छ । सिम्री क्षेत्रलाई होमस्टेको हबका रूपमा विकास गर्न सकिन्छ । चप्परगौडी परम्परागत बजार हो । यसलाई पनि नयाँ सोचका साथ अघि बढाउन सकिन्छ । यस्ता ससाना कुराबाट हामी भोलिका दिनमा बजार परनिर्भरताको अवस्थाबाट पछि हट्न सक्छौँ । कोहलपुर उद्योग वाणिज्य संघको नेतृृत्वको हिसाबमा मैले यस्ता कुरामा जोड दिइरहेको छ । अघि नै भनेँ हरेक व्यक्तिबाट सकारात्मक कुराको थालनी हुन आवश्यक छ । बिस्तारै सकारात्मक कुराको सबैले अनुसरण गरौँ । एकताबद्ध भएर अघि बढौँ ।
८. चाडपर्वको बेलामा मूल्यवृद्धि र कालोबजारीको ठूलो जोखिम रहन्छ, यसको नियन्त्रण र नियमनका लागि उद्योग वाणिज्य संघले कस्तो योजना बनाएको छ ?
राज्य संयन्त्रहरू कर, राजस्वलगायतका कार्यालयहरूको यतिबेला ठूलो सक्रियता आवश्यक पर्छ । निजी क्षेत्रका रूपमा राज्यका त्यस्ता राम्रा काममा हामीले सहकार्य गरिरहेका छौँ । सहकार्य हुने कुरामा दुईमत छैन । अहिले त स्थानीय सरकार पनि छ । स्थानीय सरकारले यसमा कडाइका साथ अघि बढ्नुपर्छ जस्तो मलाई लाग्छ ।
म आफैँ पनि विभिन्न ठाउँमा पुगिरहेको छ । यस्तो बेलामा कालोबजारी नहोस् भन्ने कुरामा हामी सचेत छौँ । त्यसका लागि कोहलपुर उद्योग वाणिज्य संघ लागिरहेको छ । संस्थागत रूपमैै हामीले अपील गर्नेछोँ । उपभोक्ताहरूले समेत सचेतना अपनाउन आवश्यक देखिन्छ । व्यवसायीहरूले समेत निहित स्वार्थमा काम व्यवसाय गर्नुहुँदैन । सबैजना सचेत रहौँ सोहीअनुसार अघि बढौँ भन्न चाहन्छु ।
९. अन्त्यमा सम्पूर्ण उपभोक्ता र व्यवसायीहरूलाई बडादसैँको अवसरमा कोहलपुर उद्योग वाणिज्य संघको तर्फबाट के भन्न चाहनुहुन्छ ?
देशको अवस्था फेरिएको छ । हिजो जस्तो आज छैन । भोलि पनि उस्तै नहुन सक्छ । हामी इतिहासको एउटा महत्वपूर्ण कालखण्ड व्यहोरेर अघि बढेको अवस्था छ । त्यस्तो पृष्ठभूमिमा दसैँलगायतका महत्वपूर्ण चाडपर्व मनाइरहेका छौँ । जेनजी आन्दोलनका क्रममा कम्तिमा ७२ जनाको ज्यान गयो ।
उहाँहरूले देशका लागि ज्यानको बलिदान दिनुभएको छ । उहाँहरूको बलिदान खेर नजाओस् । हाम्रो तर्फबाट खबरदारी गरौँ । कामना गरौँ, देशको अवस्था फेरिओस् । र तडकभडक रूपमा होइन । आफ्नो हैसियतअनुसार चाडपर्व मनाऔँ । सम्पूर्णमा यही शुभकामना व्यक्त गर्न चाहन्छु ।









प्रतिक्रिया दिनुहोस्