नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहार नजिकिएसँगै विभिन्न स्थानहरूमा कानुनले बर्जित गरेको जुवातास सञ्चालन हुन लागेका विभिन्न घटनाहरू बाहिर आउन लागेका छन् । नेपालगन्जमा मात्रै १३ लाखभन्दा बढी रूपैयाँसहित १४ जना जुवाडेहरू पक्राउ परेको समाचार बाहिरिएको छ । जुवातासले गर्दा समाजमा अशान्ति बढ्ने, घरपरिवारमा अशान्ति बढ्ने हजारौँ मात्र नभएर लाखौँलाख रूपैयाँमा हारजित हुने हुँदा यसले भविष्यमा समेत ठूलो आर्थिक संकट हुनसक्ने भएका कारण यसलाई कानुनले बर्जित गरेको छ । चाडबाडका समयमा हुने यसप्रकारका गैरकानुनी क्रियाकलापका कारण कतिपय व्यक्तिको जीवन उजाड भएको देखिन्छ भने कतिपय घर न घाटको अवस्थामा पनि पुगेको देख्न सकिन्छ । व्यक्ति मात्र नभएर उसको सम्पूर्ण परिवारका सदस्यहरू वर्षौँसम्म पीडित हुने गरेको देखिन्छ ।जुवातासका कारण घरमा झैझगडा हुने, लडाइँ हुने घटना पाइन्छन् ।
जसका कारण समाजमा पनि यसले सामाजिकरूपमा नकारात्मक असर पारिरहेको हुन्छ । चाडबाडका समयमा मात्र नभएर अन्य समयमा पनि नियमितरूपमा जुवातास सञ्चालन भइरहेका पनि पाइन्छन् । बढी गरेर चाडबाडका समयमा हुने जुवातासका कारण शान्तिसुरक्षामा समेत असर पार्नेगरी घटनाहरू हुने गरेका पाइन्छन् । यसलाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासनले बलियो कार्ययोजना बनाइ कार्यान्वयन गर्न जरुरी छ । जुवाडेहरूलाई पक्राउ गर्नुमात्रै पनि यसको दीर्घकालीन उपाय होइन । पक्राउ गरेर कानुनअनुसारको कारबाही गराउनका लागि प्रहरीले उल्लेख्य भूमिका निर्वाह गर्नु आवश्यक छ । नेपालको कानुनले जुवातास खेल्ने र खेलाउने कार्यलाई अपराध मानेको छ । जोकोही होस् अपराध गर्नेहरूले कानुनी कारबाही भोग्नु जरुरी छ । कुनै कुनै घटनामा त प्रहरी आफैँ जुवामा संलग्न भएको पनि पाइएका उदाहरण छन् । प्रहरीकै संलग्नता र प्रहरीकै संरक्षणमा जुवातासहरू हुने गरेका यसअघि विभिन्न घटनाहरूले देखाएका पनि छन् । प्रहरीले नेतृत्वले यो दागलाई हटाउन आवश्यक छ । यदी प्रहरी कर्मचारी पनि यस कार्यमा संलग्न भएको पाइएमा कारबाहीको दायरामा ल्याउन र यस किसिमका हर्कतमा प्रहरी संलग्नता नगराउन पनि नेतृत्व गम्भीर बन्न जरुरी छ ।
जुवातासकै कारण अन्य आपराधिक क्रियाकलापहरू पनि हुने गरेका पाइन्छन् । चाडबाडमा बढी खेल्ने र खेलाइने जुवातास हुने स्थानको खोजी, पहिचान र संलग्नलाई कानुनी दायरामा ल्याउनु जरुरी छ । यतिमात्रै नभएर जुवातास कार्य अपराध भएका कारण यसका विरुद्धमा समाजमा सचेतना फैलाउन समेत आवश्यक छ । जुवातास ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रूपैयाँ जरिवाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो । तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ । उक्त संहिताको दफा १२५ मा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था छ । दोस्रोपटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ ।
दोस्रोपटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेकपटक थप तीन महिनासम्म कैद र १० हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी जुवा खेल्न प्रयोग भएका साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ । यो व्यवस्थालाई अक्षरस पालना गराउनका लागि प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ । पक्राउ परेका विरुद्ध कुनैपनि राजनीति दबाब वा अन्य प्रलोभनमा नपरी कानुनी व्यवस्थाअनुसार कडारूपमा कारबाहीलाई अगाडि बढाउन आवश्यक छ । जुवातास नियन्त्रणका लागि केवल प्रहरीको मात्रै एकल प्रयासले पनि असम्भव हुन्छ । यो आपराधिक क्रियाकलाप भएका कारण यसलाई नियन्त्रण गर्न सबै आम नागरिकको पनि कर्तव्य हो । तसर्थ सबैसँग हातेमालो गर्दै जुवातासमुक्त समाज निर्माण गर्नु आजको आवश्यकता हो ।









प्रतिक्रिया दिनुहोस्