ज्ञान निजी नभई सामाजिक हुन्छ



चिन्तामणि घिमिरे

हरेक मानिसमा विशिष्ट प्रकारको क्षमता हुन्छ । मानिसमा बाल्यकालदेखि नै विशिष्ट गुण र प्रतिभाहरू लुकेर बसेका हुन्छन् । ती क्षमता र गुणलाई समयमै चिनेर प्रस्फुटन हुने वातावरण सिर्जना गर्नसकेमा उनीहरूमा राम्रो क्षमताको विकास हुन्छ र उनीहरू वैज्ञानिक बन्नसक्ने परिस्थिति सिर्जना हुन्छ । जिज्ञासा, लगाव र दृढताले मानिसलाई सफलताको मार्गतिर डो¥याउँछ । आदिम मानिसले प्रकृतिमा जे मिल्थ्यो त्यसैलाई उपभोग गरेर आफ्नो जीवननिर्वाह गर्दथ्यो । मानिसको सङ्ख्यामा वृद्धि हुँदै जानु र फलफूल र कन्दमूलले मात्र जीवन धान्न नसक्ने भएपछि विकल्पको खोजीमा लागे । उनीहरूले पहिला पत्थर र पछि काठका हतियारहरू बनाउन थाले र सिकार गर्न थाले । त्यो औजारको आविष्कार थियो । औजारको आविष्कार मानवजातिको पहिलो क्रान्ति थियो । औजारका कारण मानव जीवन अलि सहज बन्न पुग्यो ।

औजारको माध्यमबाट सिकार खेल्न र जंगली जनावरलाई मार्न र उबाट सुरक्षित हुन धेरै सजिलो भयो । यदि मानिसले औजार आविष्कार गर्दैनथ्यो र केवल प्रकृतिमाथि निर्भर हुन्थ्यो भने उसको अवस्था पनि डायनोसरकै जस्तो हालत हुन्थ्यो । मानिस विलुप्त प्राणीको श्रेणीमा हुन्थ्यो । औजारको आविष्कारले नै मानिसलाई अगाडी बढ्न हौसला मिलेको हो । सिकारी अवस्थाबाट क्रमशः उनीहरू पशुपालनतिर लागे । सिकारी अवस्थामै आगोको आविष्कार भयो । आगोको आविष्कार मानवजातिको दोस्रोे ठूलो क्रान्ति थियोे । आगोको आविष्कारपछि मानवजातिमा एउटा सभ्यताको विकास सुरु हुन थाल्यो । खानेकुरा पोलेर र पकाएर खाने सभ्यताको विकास भयो । मानिसले हरेक कामकुरा गर्दा अग्निलाई साक्षी मान्न थाल्यो । विवाह गर्दा पनि अग्निलाई साक्षी मान्न थाल्यो । हिन्दु विवाह संस्कारमा अग्निलाई साक्षी मानेर सातफेरे लिने चलन छ । प्राचीन समयमा ऋषिमुनिहरूले अग्निकै छेउमा रहेर यौनक्रीडा गर्दथे । क्रमशः बिस्तारै फलामको आविष्कार हुनपुग्यो ।

फलामको आविष्कार हुँदा समाज पशुपालनबाट कृषितिर प्रवेश गरिसकेको थियो । कृषि अवस्थामा फलामको फाली भएको हलो र अन्य कृषिजन्य औजारहरू बन्नथाले । त्यसपछि तामा, पित्तल र सुनको खोजी भयो । बिस्तारै आधुनिक हातहतियारहरूको निर्माण हुन थाल्यो ।समाजमा उद्योगहरूको स्थापना हुन पुग्यो । समाज क्रमशः विकसित हुँदै जाँदा आजको अवस्थामा आइपुगेको हो । अर्थात् मानिस ओडार हुँदै आजको कृत्रिम बौद्धिकता सम्मआइपुगेको छ । ज्ञान कहाँबाट आउँछ भन्ने प्रश्नको जवाफमा भन्न सकिन्छ कि ज्ञान व्यवहारबाट आउँछ । मानवजातिले आफ्नो जीविकोपार्जनको दौरानमा जब उत्पादन गतिविधिमा भाग लिन थाल्यो तब उसमा नयाँनयाँ ज्ञान र चेतनाको विकास हुनपुग्यो । उत्पादनकै दौरानमा नयाँ नयाँ आविष्कारहरू हुनथाले । त्यो आविष्कारको जननी श्रमिक वर्ग थियो र छ पनि । इतिहासमा श्रमिकवर्गले आश्चर्यपूर्ण तरिकाले श्रम गर्दै आइरहेकोे छ । विश्वका सात आश्चर्यजनक वस्तुहरूको निर्माण श्रमिक मजदुरले नै गरेका थिए । चिनको ग्रेटवाल, आग्राको ताजमहलदेखि अन्य आश्चर्यजनक वस्तुहरूको निर्माणमा श्रमिक ज्यामीहरूको ठूलो योगदान रहेको छ । ठूलाठूला लामा र चौडा सडकहरू र भवनहरूको निर्माण ज्यामी मजदुरहरूले गरेका थिए र छन् पनि । त्यस्तै सिँचाइको लागि पनि लामालामा र ठूलाठूला नहरहरूको निर्माण पनि श्रमिक वर्गले नै गरेको थियो ।

त्यस्तै नेपालको सन्दर्भमा भन्नुपर्दा मानिसहरू के भन्छन् भने सिंहदरबार चन्द्र शमशेरले बनायो भन्छन् । पाठ्यपुस्तकमा पनि त्यही लेखेको छ । जनतालाई पनि त्यही घोकाइएको छ । तर सिंहदरबार कालिगड र मजदुरले बनाएको हो । त्यसमा कालिगड र मजदुरको रगत र पसिना छ । तर चन्द्रशमशेरको होइन् । इतिहासको निर्माण शासक वर्गले होइन जनताले गर्दछन् । जनता नै इतिहासका असली निर्माता हुन् । श्रमिक वर्गले उत्पादन र निर्माणका क्रममा नै आफ्नो ज्ञानको विकास गरेको हो । ज्ञान मानवजातिको लाखौँ वर्षको संघर्षको परिणाम हो । मानवजातिले उत्पादनका दौरानमा जुन सीप, दक्षता र अनुभवहरू हासिल ग¥यो त्यसैलाई नै ज्ञान भनिन्छ । उत्पादनका लागि संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगबाट ज्ञानको विकास हुन्छ । यो ज्ञान आकाशबाट फुत्त खस्ने चीज होइन । मानवजातिले आफ्नो श्रमलाई प्रकृतिसँगको संघर्षमा प्रयोग गर्ने दौरानमा ठूलाठूला उपलब्धिहरू हासिल गरेको छ । त्यही उपलब्धि नै ज्ञान हो । ज्ञानको असली आविष्कारकर्ता र हकदार श्रमिक वर्ग नै हो ।अहिले त्यो ज्ञानलाई पुँजीपति वर्गले कब्जा गरेर राखेको छ र आफ्नो हित अनुकूल प्रयोग गर्दै आइरहेको छ । श्रमिक वर्गलाई ज्ञानविहीन र स्वामित्वविहीन बनाउँदै आइरहेको छ । श्रमिक वर्गले आफूमाथि भइरहेको शोषणलाई बुझ्न जरुरी छ ।

ज्ञानको स्वरुप सामाजिक प्रकृतिको हुन्छ । ज्ञानलाई सबैले उपयोग गर्न पाउनुपर्ने हुन्छ । कसैलाई पनि ज्ञान आर्जन गर्नपाउने कुराबाट बञ्चित गर्न पाइँदैन । यदि कसैले कसैलाई ज्ञान आर्जन गर्न पाउने नैसर्गिक अधिकारमाथि बन्देज लगाउन खोज्छ भने त्यो प्राकृतिक कानुनविपरीत हुन्छ । ज्ञान श्रम र पसिनाबाट पैदा हुन्छ । अझ झन् हातका ठेलाहरूबाट जन्मन्छ । जसले श्रम गर्दैन, पसिना बगाउँदैन उसले ज्ञानको बारेमा सही ढंगले बुझ्न सक्दैन । श्रमको महत्त्व पसिना बगाउनेहरूलाई मात्र थाहा हुन्छ । ज्ञान प्राप्तिको यो प्रक्रिया सजिलोसँग सम्पन्न भएको होइन । बरु सयौँ र हजारौँ वर्षहरूको दौरान सम्भव भएको हो । वास्तवमा ज्ञान पैदा शारीरिक श्रमको कारण भएको हो । श्रम गर्ने र उत्पादनको कामकारबाहीको दौरानमा मानवजातिले ज्ञानको विकास गरेको हो । यसप्रकार मानिसले जंगली र पशुपालन युगबाट अगाडी बढेर कबिला समाज बनायो । तब मानिसले व्यक्ति होइन समूहको रूपमा सोच्न र आफू एक्लैको लागि होइन बरु पूरै कबिला समाजको आवश्यकता पूरा गर्नको लागि उत्पादन गर्न थाल्यो ।

समय यस्तो आयो कि जब उत्पादन आवश्यकताभन्दा धेरै हुन थाल्यो, तब त्यसको भण्डारण र त्यसपछि पनि बचेको चीजको लेनदेन (व्यापार) गर्नुपर्ने आवश्यकता प¥यो । त्यसको हिसाबकिताबको लागि गणित र व्यापार गर्ने उद्देश्यका कारण विभिन्न इलाकाहरूमा बसोबास, जलवायु, परिवेशलाई बुझ्नको लागि भूगोलको उत्पत्ति भयो । आज संसारभरि नै थरीथरीका भाषाहरू र बोलीहरू चलनचल्तीमा छन् । कुनै चीजको बारेमा बताउन कति सहज र सरल लाग्छ । इतिहासले हामीलाई बताउँछ कि मानिसले कसरी पहिले संकेतहरूको माध्यमबाट कुरा गर्दथ्यो ।
जब उसले सामूहिक जीवन अपनाउँदै गयो, उसलाई संवादको आवश्यकता महसुस भयो । परन्तु बोल्ने शब्दहरूको ज्ञान आखिरमा उसले पायो कहाँबाट ? प्रकृतिको लय र गतिबाट उसले शब्द उधारो लियो । जस्तै रुखबाट पात खस्दाखेरी पतपतको आवाजबाट पात शब्द पैदा भयो। मानिसको वाकशक्तिको विकसित हुने क्रममा नै ज्ञानको विस्तार पनि सम्भव भयो । पछिका दिनहरूमा जब बोलीलाई चित्रहरूको सट्टा बोल्ने र लेख्नेबाट अगाडी गएर भाषा लिपिमा लेख्न थालियो ।

हाम्रा ती पू्र्खाहरूको ज्ञान पनि लिपिबद्व भयो र हाम्रो लागि ज्ञानको सञ्चित भण्डार बन्न गयो । यसप्रकार ज्ञान कैयौँ पुस्ताहरूबाट गुज्रिएर हामीसम्म आइपुगेको हो । जुन सामूहिक सोच र उत्पादनको कार्बाही को परिणाम थियो । यो एक सामाजिक सम्पदा थियो र यसमाथि समाजका सबै मानिसहरूको हक थियो । फेरि आखिर यो केवल केही मानिसहरूको बपौती कसरी बन्न गयो ? जब कबिलाहरूको लागि संशाधनहरू कम हुन थाले तब उपलब्ध संशाधनमाथि अधिकार जमाउनको लागि कबिलाहरू बीच लडाइँ भयो । लडाइँमा विजयी कबिलाले पराजित कबिलाका मानिसहरूलाई दास बनाउन थाल्यो । त्यस समयसम्म आवश्यकताभन्दा बढी उत्पादनको भण्डारण, त्यसको वितरण र व्यापारसँग जोडिएको हिसाबकिताबको रेखदेख र प्रबन्ध गर्नको लागि पहिले मुखिया र फेरि समाजको एउटा सानो समूहलाई साझा श्रमबाट मुक्त गरिएको थियो । तिनीहरूको आवश्यकता र सुविधाहरूको लागि दास जरुरी बन्न गयो । श्रम विभाजनको सुरूवात भइसकेको थियो । पूरै समाजद्वारा उपलब्ध ज्ञानमाथि केवल ती मानिसहरूको अधिकार हुन लाग्यो, जो समाजलाई सञ्चालित गर्न र काम कार्बाहीलाई अगाडी बढाउने साझा श्रमबाट मुक्त भएका थिए । शारीरिक श्रम गर्नेहरू ज्ञानबाट वञ्चित हुन पुगे ।

समाज विकासको मञ्जिलहरूमा अगाडी बढ्दै जाँदा जसरी सुविधाहरूको उपभोग गर्नेहरू सम्पन्नशाली र आधारभूत सुविधाहरूसम्मबाट वञ्चित शारीरिक श्रम गर्ने मानिसहरूमा समाज विभाजन हुन पुग्यो । मानसिक र शारीरिक श्रमको अन्तर बढ्दै गयो । समाजको साझा श्रमबाट उपलब्ध हुनुको बाबजुद ज्ञान एक निजी सम्पत्तिको रूपमा देखा पर्न लाग्यो । मानसिक श्रमलाई श्रेष्ठ र शारीरिक श्रमलाई हेय मानिन थालियो । मानसिक श्रमको आधारमा विशेषाधिकार मिल्यो र समाजमा माथिल्लो हैसियत तय भयो । जबकि शारीरिक श्रम गर्नेहरू समाजको सबैभन्दा तल्लो खुड्किलोमा पु¥याइए । श्रमिक वर्ग नहुने हो र शारीरिक श्रम नगर्ने हो भने समाजको गति नै बन्द हुन्छ । हामीले लगाउने कपडा कसले उत्पादन ग¥यो ? जुत्ता, घडी, मोबाइल, कम्प्युटर, ल्यापटप, अन्न, खाना बनाउने भाँडा, हामी बस्ने घर, यातायातका साधन, सञ्चारका साधन, उद्योगका साधन, कृषिका साधनलगायत अन्य भौतिक सामाग्रीहरू कसले उत्पादन ग¥यो ? उत्तर छ श्रमिक वर्गले । यदि सामाजिक श्रम हुँदैनथ्यो भने जति धन खर्च गरेपनि यी सारा चीज हामी व्यक्तिगतस्तरमा एक्लै उत्पादन गर्न सक्दैनथ्यौँ । कुरा स्पष्ट छ कि हामीले जुन ज्ञान हासिल गर्दछौँ त्यो सामाजिक हुन्छ । हामीलाई ज्ञान आर्जन गराउनमा पूरै समाजको भूमिका हुन्छ ।

अहिले पनि हाम्रो समाजमा शारीरिक श्रम र मानसिक श्रम बीचको भेदभाव कायमै छ । शारीरिक श्रम गर्नेहरूको समाजमा कुनै मानसम्मान रहेको पाइँदैन । उनीहरू अत्यन्तै अपहेलित देखिन्छन् । तर नागरिक र राज्यबाट सबैभन्दा बढी मानसम्मान र इज्जत पाउनुपर्ने उनीहरूले हो तर त्यसो देखिँदैन । धर्तीलाई हराभरा बनाउने वर्ग वा समूह राज्यबाट पूरै उपेक्षित छ । राज्यको र राज्यकोषको दोहन सीमित टाठाबाठाहरूले गर्दै आइरहेका छन् । श्रमिक वर्गले अब बिस्तारै कुरा बुझ्दैछ । उ अहिलेसम्म जति झुक्कियो अब उ झुक्किँदैन । आफ्नो श्रमको महत्त्वबारे उसलाई ज्ञान हुँदैछ । उसले जतिपनि चीजहरूको निर्माण र उत्पादन ग¥यो, आफू त्यसको मालिक हुन पाएन । अब उ विगतमा खोसिएको सम्पत्ति फिर्ता माग्ने अभियानमा छ । उ नयाँ संसारको खोजीमा छ । जहाँ उसले स्वतन्त्र र भयरहित वातावरणमा आफ्नो जिन्दगी यापन गर्न सकोस् । उ सुनौलो बिहानीको पर्खाइमा छ जहाँ सबै मानिसहरू एकआपसमा मिलेर हासीखुसी बाँच्न चाहन्छन् । सारा ज्ञानलाई सामूहिक ढंगले उपयोग र उपभोग गर्नेछन् । यसैमा नै सम्पूर्ण मानवजातिको कल्याण छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २१ गते मंगलबार