अघोषित लोडसेडिङका विषयमा सर्वपक्षीय छलफल



कोहलपुर ।

बाँकेको कोहलपुर क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङको विषयमा सरोकारवालासँग सर्वपक्षीय छलफल गरिएको छ । नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको आयोजनामा नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रको परिसरमा सर्वपक्षीय छलफल गरिएको हो ।पटक पटक विद्युत् जाने समस्याले उद्योगीदेखि सर्वसाधारण नागरिकहरू समस्यामा परेको नेकपा माओवादी नगर अध्यक्ष बलबहादुर खड्काले बताए । अघोषित लोडसेडिङ हुँदा कोहलपुरका स्थानीय पीडामा रहेको उनको भनाइ छ ।

झ्याप्प–झ्याप्प बत्ती जाने समस्याका बारेमा नागरीकस्तरबाटै गुनासो बढ्न थालेपछि सरोकारवालासँग छलफल गरिएको उनले बताए । नगर समितिले बेलाबखत खबरदारी गर्दै आएपनि समस्या समधान हुन नसकेको गुनासो गरे । उनले गत जेठ १२ गते विभिन्न मागसहित ७ बुँदे ज्ञापनपत्र बुझाउँदासमेत समस्या समाधान गर्न पहल नभएको उनले बताए । झ्याप्प–झ्याप्प बत्ती जाने तर खबर गर्दा लोडसेडिङ नभएको बताउने गरेको र उपभोक्तालाई जानकारी दिएर मात्रै लाइन काट्न आग्रह गरे ।

विभिन्न फिडरहरूबाट विद्युत् वितरण गरिरहेको कोहलपुर वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार फिडरहरूमा ओभरलोड हुने भएकाले पानी र हावाहुरी आउँदा समस्या हुने गरेको र जनघनत्व बढ्दो रहेकाले माग पूरा गर्न केही समस्या भएको हो । कार्यक्रममा सहभागी सबैले बत्ती झ्याप्प–झ्याप्प काट्ने काम नगरेर यदि समस्या भए समयतालिका सार्वजनिक गरेर मात्रै काट्न आग्रह गरे । झ्याप्प–झ्याप्प विद्युत् काट्दा उद्योगी व्यवसायीदेखि कोहलपुरका आम नागरिकहरू विद्युतको प्रयोगभन्दा पनि बील तिर्न मात्रै बाध्य भएको उनीहरूको भनाइ थियो।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २० गते शुक्रबार