‘पुस्तकालयलाई भविष्य निर्माण गर्ने शक्तिका रूपमा पहिचान गर्नुपर्छ’



कोहलपुर ।

पुस्तकालय केवल अतितको धरोहर मात्र नभइ भविष्य निर्माण गर्ने शक्तिका रूपमा पहिचान गर्नुपर्ने लुम्बिनी प्रदेश सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले बताएका छन् । शनिबार उनले ज्ञानोदय सामुदायिक पुस्तकालयको २१औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले पुस्तकालयलाई भविष्य निर्माणको शक्तिका रूपमा परिवर्तन गर्न नसके पुस्तकालयको स्थापनाको सान्दर्भिकता बिस्तारै विलय भएर जाने बताए ।

संसारको शक्तिशाली हतियार भनेकै शिक्षा रहेकाले त्यसमा जोड दिनुपर्ने उनको भनाइ थियो । पश्चिम नेपालको केन्द्रमा रहेको ज्ञानोदय पुस्तकालयलय समाज रुपान्तरणमा लागेको भन्दै खुसी व्यक्त गरे । उनले खानेपानी, सिँचाइ र सडकभन्दा शिक्षाको आवश्यकता धेरै रहेको बताउँदै लुम्बिनी प्रदेश सरकार शिक्षा क्षेत्रमा संवेदनशील रहेको र पुस्तकालयलाई परिमार्जन गर्न आवश्यक रहेकोमा जोड दिए ।

ज्ञानोदय पुस्तकालय कोहलपुरको गहना र सम्पत्ति रहेकाले संरक्षण गर्नुपर्नेमा लुम्बिनी प्रदेश सांसद सञ्जुकुमारी थारूले जोड दिइन् । उनले पछिल्ला युवा पुस्ताहरूमा पुस्तक पढ्ने बानी हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरिन् । उनले पुस्तकालयलाई परिमार्जन गरेर अघि बढाउन तथा पुस्तकालय पठनपाठन गर्नका लागि मात्र नभइ खोज तथा अनुसन्धानको रूपमा पनि विकास गर्न आग्रह गरिन् । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले अहिलेको प्रविधिसँग पुस्तकालयलाई जोड्न जोड दिए ।

अहिलेको डिजिटल युग रहेकाले बिस्तारै ई–लाइब्रेरीका रूपमा विकास गर्न सुझाव दिएका थिए । पुस्तक पढ्ने बानी हराएकाले त्यसको विकास गर्न समाजसम्म पढ्ने बानीको विकास गर्न जोड दिए । पुस्तकालयले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरेको थियो । साथै आगामी दिनहरूमा पुस्तकालयलाई थप व्यवस्थित बनाउन योजनाहरू समेत प्रस्तुत गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार