चीन भर्सेज अमेरिका – व्यापार युद्धले निम्त्याउँदै छ विश्वव्यापी विपत्ति



 सागर गैरे- अन्तर्राष्ट्रिय घटनाक्रमहरु निरन्तर परिवर्तन भइरहेका हुन्छन् । चीन अमेरिका व्यापार युद्व पनि निरन्तर परिवर्तन भइरहेको छ । अहिले यी दुई देशबीचको व्यापारिक तनावले बिस्तारै शीतयुद्ध –२ को रुप लिँदैछ । दुवै देशले एक अर्कालाई ट्यारिफ थोपरेका छन् । यसको असर दुई देशबीच मात्रै सीमित छैन । यो व्यापार युद्धको विश्वव्यापी प्रभाव परेको छ । व्यापार युद्ध अब विश्वभरी सुरु भएको छ र यो विभिन्न रुपमा निरन्तर बढिरहेको छ । भनिन्छ कुनै पनि युद्ध शुरुवात नहुँदै रोकिनुपर्छ जब त्यो शुरुवात हुन्छ त्यसले केही न केही क्षति पु¥याएरै थामिन्छ । युद्ध सुरु भइसकेपछि त्यसलाई पुरानो अवस्थामा फर्काउनु फलामको च्युरा चपाए जत्तिकै गाह्रो हुन्छ । चीन अमेरिका व्यापार युद्धका जराहरु विश्वभर फैलिने क्रममा छन् । यसले विश्व अर्थतन्त्र, सप्लाई चेन हुँदै उपभोक्ताको खल्ती र भान्सासम्म धावा बोल्न सुरु गरिसकेको छ । भोलिका दिनमा यसको असर हरेक क्षेत्र हरेक पाइलामा देखिने निश्चित छ ।

अमेरिका चीन व्यापार युद्ध चर्किँदै गएपछी यी दुई देश बीचको सम्बन्ध थप पेचिलो बनेको छ । चीन आफ्नो अडानबाट पछि नहटेपछि अमेरिकाले चीनबाट आउने सामानमा २४५ प्रतिशत कर लगाएको छ । चीनले गत हप्ता अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको थियो । अमेरिकाले चीनलाई कर हटाउन अल्टिमेटम दिएको थियो । तर चीनले अमेरिकी धम्की सुनेको नसुन्यै ग¥यो । उ आफ्नो निर्णयमा टसमस नभएपछि अमेरिका चीनसँग निकै चिढिएको छ । अमेरिकी प्रतिनिधिले चीन र बाँकी विश्वका देश हाम्रा लागि एउटै हुन । चीनलाई विशेष सहुलियत दिनुपर्ने कुनै कारण छैन । चीनको कोर्टमा बल छ । चीनले हामीसँत वार्ता गर्ने हो हामीले चीनसँग होइन । विश्वका जुनसुकै देशले अमेरिकाले भनेको मान्नुपर्छ जस्ता धम्कीपूर्ण चेतावनी दिएका छन् ।
चीनले अमेरिकासँगको व्यापार युद्धबाट पछि हट्न अस्विकार गरेको छ । गहिरिएर बिचार गर्दा दुवै देश वार्ताको लागि इच्छुक मात्रै होइन आतुर छन्, तर कोही कसैसँग झुक्न चाहँदैनन् । अमेरिका चाहन्छ चीनले वार्ता थालोस् । चीनले भन्छ अमेरिकाले पहिले पहल गरोस् । कोहीपनि आफू सानो र कमजोर देखिन चाहँदैनन् । यसो गर्दा उनीहरुको अहम्मा ठेस पुगेको महसुस गर्छन क्यारे । दुवै देश बीचको व्यापार गतिरोधले आपसी सम्बन्धमा पनि दरार पैदा गरेको छ ।

यसैबीच चीनले आफ्ना व्यापार दुत वाङ शोउबेललाई प्रतिस्थापन गरेर उनको ठाउँमा लि चेङ्गगाङलाई अघि सारेको छ । उनी विश्व व्यापार संगठन र संयुक्त राष्ट्रका लागि चिनियाँ दुत थिए । उनलाई चीनले नयाँ व्यापार दुत बनाएको हो । चीन अमेरिकासँगको व्यापार युद्धका हरेक खुड्किला सावधानीपूर्वक चढिरहेको छ । चीन कुनै पनि कोणबाट आफू कमजोर देखिन चाहँदैन । चीनका राष्ट्रपती र प्रधानमन्त्री दक्षिण पूर्वी एशिया भ्रमणमा छन् । विगत केही वर्षदेखि अमेरिकाप्रति आक्रमक कुटनीति अपनाएर एशियाका देशहरुमा निरन्तर आफ्नो प्रभाव बढाइरहेको छ चीन ।

चीन समाजवादी कम्युनिस्ट मुलुक हो । उसले समाजवादी बजार अर्थतन्त्र अनुसार विश्वलाई चिनियाँ प्रभाव देखाइरहेको छ । चीनले इन्टरनेटलाई पूर्ण स्वतन्त्रता दिएको छैन तर डिजिटल अर्थतन्त्रमा विश्वलाई हाँकिरहेको छ । चीनले आफ्नो शासन शैलीमा कम्युनिज्म र पुँजिवादको मिश्रण गरेको छ । संस्कृति र राजनीतिलाई फ्युजन गरेको छ । उसले पश्चिमीहरुका कमी कमजोरीलाई नियालेको छ र आफूलाई सुधार गरेको छ निरन्तर । यिनै कारणहरुले गर्दा चीन आज चीन बनेको छ ।

अमेरिकाको कुरा अर्कै छ । उ बारम्बार विश्व व्यापारमा आफू पीडित भएको बताउँदै आएको छ । त्यसैले विश्वले उसको बाध्यता बुझिदिनुपर्ने अमेरिकी सोच देखिन्छ । जबकि चीनले अमेरिकी भन्सार अवरोध र व्यापार दादागिरीले विश्वव्यापी अर्थ व्यवस्थामा असर पु¥याएको गम्भीर आरोप लगाइरहेको छ । चीन स्थिरता विकास र राष्ट्रिय गौरवलाई आफ्नो चिनियाँ मोडल मान्दछ । विश्व व्यापार संगठनमा आएको छोटो समयमै चीनले ग्लोबल सप्लाई चेन कब्जा गरेको छ ।

अमेरिका चीनको निर्यात व्यापारमा अवरोध पु¥याउन चाहन्छ । चीन जसलाई भरोसा गर्न सकिन्छ । आज तपाईं विश्वको जुनसुकै सुपरमार्केट वा मलमा नियाल्नुस त्यहाँ पाइने अधिकांश सामानको उत्पत्तिस्थल चीन हो । चीनमा नबन्ने कुनै सामान छैनन् र चीनले नबनाउने पनि कुनै सामान छैनन् । सन् १९७८ मा देङ सियाओ पिङको खुला उदारवादले चीनमा आर्थिक चमत्कार सुरु ग¥यो । सन् २०२३ सम्म आइपुग्दा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको छ । अहिले चीन विश्वको पहिलो निर्यातक देश हो । हाइटेक उद्योग जस्तो ५ जि, ए आई र इलेक्ट्रिक कारमा चीनले विश्वका सम्पूर्ण देशलाई पछाडी छोडिसकेको छ । चीनले सन् १९९० देखि सन् २०२४ सम्म आइपुग्दा ८० करोड मानिसलाई गरिबीको रेखाबाट बाहिर तानेको छ ।

वर्षौँदेखि विश्व बजारमा आधिपत्य जमाएका अमेरिकी कम्पनीहरुलाई चीनले यतिबेला हर तरहले चुनौती दिएको छ । चीन सरकारले स्थानीय उद्योगलाई धन, प्रशिक्षण र प्रविधी दिएर अमेरिकी कम्पनीसँग प्रतिस्पर्धा गर्न सघाइरहेको छ । सरकारी संरक्षणकै कारण होला चीनले ए आई, क्वान्टम कम्प्युटिङ जस्ता अनेक क्षेत्रमा अमेरिकालाई पछि छोडिसकेको छ । विश्वले बुझिसकेको छ अमेरिकाको लोकतान्त्रिक मोडलभन्दा चीनको अधिनायकवादी मोडल देश विकासको लागि प्रभावकारी साबित हुँदोरहेछ भन्ने कुरा ।

आजको चीन विश्वभरको कारखाना हो । चीनमा हरेक चीज बन्छ । चीनमा बनेका सामानहरु विश्वभर खपत हुन्छन् । ती आकर्षक छन् र सस्ता पनि छन् । चीनले जसरी आकर्षक सस्तो र टिकाउ सामान विश्वका अरु कुनै पनि देशलाई सप्लाई गर्न सक्दैनन् । चाहे अमेरिका होस् वा क्यानडा । बेलायत होस् वा अस्ट्रेलिया विश्वभरका बजारमा चिनियाँ सामान भरिएका छन् । अमेरिका चीनको व्यापारमा अवरोध पु¥याउन चाहन्छ । चीनको उदयलाई रोक्न चाहन्छ ।

अमेरिकी ट्यारिफको चिनियाँ जवाफ र बिग्रीएको अमेरिकाको मुड

अमेरिकाको एउटै ध्याउन्न छ, कसरी हुन्छ चिनियाँ गतिलाई धिमा गराउने । अमेरिकाले नचाहँदा नचाहँदै आज अमेरिकी बजार चिनियाँ बस्तुको डम्पिङ साइट बनेको छ । चिनियाँ सामानकै कारण कतिपय अमेरिकी कारखाना धर्मराएका छन् । चिनियाँ सामानलाई पूरै विस्थापित गरेर चीनलाई कमजोर बनाउन चाहन्छ अमेरिका । त्यसैको परिणति हो चीन विरुद्धको अमेरिकी टेरिफ वार ।
अमेरिकाले चीनलाई थप १०० प्रतिशत कर बढाएपछि अमेरिकाले चिनियाँ सामानमा थोपरेको कर २४५ प्रतिशत पुगेको छ । चीनले यसअघि नै अमेरिकाले लगाउने भन्सार शुल्कको जवाफ नदिने बताएको थियो । यद्यपि चीनले अमेरिकासँगको व्यापार तनावबाट बच्न र अमेरिकासँगको द्वन्द्वमा टिक्न अनेक रणनीतिहरु अपनाउन सुरु गरेको छ । चीनले तत्काल चालेका र भविष्यमा चाल्न सक्ने कदमहरु यसप्रकार हुनेछन् ।
१) चीन घरेलु माग बढाउन कस्सिएको छ –
चीनले अमेरिकी बजार गुमाएको अवस्थामा आफ्ना उत्पादनको खपतका लागि घरेलु बजारलाई प्राथमिकतामा राखेको छ । उसले आफ्ना उत्पादनको आन्तरिक खपतलाई प्राथमिकता दिन उद्योग र उपभोक्तालाई विभिन्न सहुलियत दिने छ । उसले मध्यम वर्गीय उपभोक्तालाई कर छुट दिएर चिनियाँ ब्रान्ड खपत गर्न मनाउने छ । त्यस्तै उसले वैकल्पिक बजार खोज्न आफूलाई सक्रिय बनाएको छ । जस्तो युरोप, रुस, ल्याटिन अमेरिका, दक्षिण एशिया, दक्षिण पूर्वी एशियासँग व्यापार बढाउन उ सचेत भएको छ । त्यस्तै अमेरिकी प्रतिबन्धबाट बच्न चिप्स र सफ्टवेयरमा आत्मनिर्भर हुन दिलोज्यान दिएर लागेको छ ।
२) बोइङको आयात रोक्न निर्देशन –
चीनले अमेरिकाबाट बोइङ विमान र त्यसका पार्टपुर्जाहरु खरिद गर्दछ । यो व्यापार दुवै देशका लागि अत्यन्त महत्वपूर्ण छ । तथ्यांकअनुसार चीनले वर्षेनी ३०० भन्दाबढी बोइङ अमेरिकाबाट किन्दछ । चीन अमेरिका व्यापार युद्धको प्रभावको असर बोइङमा परेको छ । चीनले अमेरिकामा निर्मित बोइङ बिमानको आयातलाई रोक लगाइदिएको छ । यसले चीन अमेरिका बीचको अरबौँ डलरको कारोबारलाई अनिश्चित बनाइदिएको छ ।
चीनले अब आफ्नै देशभित्र वायुयानको निर्माणलाई ध्यान दिनेछ । दोस्रो उसले बोइङको विकल्पमा युरोपेली एयर बससँग अर्डर लिन सक्ने सम्भावना बढेको छ । साँच्चै नै चीनले अमेरिकी बोइङ खरिद गर्न छोड्यो भने अमेरिकीहरुले ठूलो मात्रामा रोजगारी गुमाउने छन् । अमेरिकी विमान कम्पनी बोइङसँगको सम्झौताबाट चीन पछि हटेको कुराले अमेरिकी सञ्चार माध्यममा प्रमुख स्थान लिएका छन् । चीनले आफ्ना विमान कम्पनीहरुलाई बोइङ कम्पनीका विमान डेलिभरी नलिन भनेको छ । यसको दीर्घकालीन असर कहाँसम्म देखिन्छ । त्यो त भविष्यले नै बताउने छ ।
३) दुर्लभ खनिजको महत्व र अमेरिकी सौदाबाजी –
चीनले अमेरिकालाई सबैभन्दा बढी दुख्ने ठाउँमा प्रहार गरेको छ, त्यो हो दुर्लभ खनिज धातुको निर्यात रोक्ने कदम । यो धातु आइफोनदेखि जेट इन्जिन्सम्म सबै कुरामा प्रयोग हुन्छ । ट्रम्प दोस्रो कार्यकालको लागि सत्तामा आएपछि अमेरिकाले चाहेर होस् अथवा नचाहेरै सही धेरै अमेरिकी स्वार्थहरु अन्तर्राष्ट्रिय रंगमञ्चमा छताछुल्ल रुपमा सतहमा आएका छन् । त्यसमध्येको एउटा अमेरिकी स्वार्थ हो, ग्रीनल्यान्ड टापु अमेरिकामा गाभ्ने अमेरिकी लोभ । भनिन्छ ग्रीनल्यान्डमा विश्वको आठौँ ठूलो दुर्लभ खनिज भन्डार छ । ट्रम्प डेनमार्कबाट ग्रीनल्यान्ड जसरी पनि हात पार्न चाहन्छन ।
उनीहरुले रुस युक्रेन युद्ध रोकाएर युक्रेनसँग अमेरिकाले सप्लाई गरेको हातहतियारको भुक्तानीको सोध भर्ना स्वरुप युक्रेनका दुर्लभ खनिज खानीमा आफ्नो पकड बनाउन चाहेको कुरा बाहिर आएको छ । यसको लागि अमेरिकाले रुससँगको युद्ध रोक्न र आफूसँग खनिज वार्ता गर्न युक्रेनलाई निरन्तर दबाब दिइरहेको छ ।
अहिले अमेरिका यी खनिजको लागि चीनमाथि निर्भर छ । अमेरिका यी चिज बिना बाँच्नै सक्दैन । नियोडिमियम, टर्बियम, डिस्प्रोसियम जस्ता धातुहरु जुन मोबाइल, इलेक्ट्रिक कार, एफ पैँतिस अमेरिकी जहाज तथा मिसाइल बनाउन चाहिन्छन । भनिन्छ यी खनिजहरु अमेरिकामा उपलब्ध छैनन् र विश्वको ८० प्रतिशत दुर्लभ खनिज मात्र चीनले उत्पादन गर्छ ।
यी तत्व स्मार्टफोनदेखि सैन्य हार्डवेयरका उपकरण र जहाजमा समेत प्रयोग हुन्छन । अमेरिका दुर्लभ खनिजको लागि ७० प्रतिशतसम्म चीनमाथि आश्रित छ । यदि कुनै देशले यी चिज निकाले पनि प्रशोधनका लागि चीन नै पुग्नुपर्ने बाध्यता छ सबैको लागि । विश्वकै महाशक्ति देश अमेरिका, जो प्रविधी क्षेत्रमा सबैभन्दा अगाडि छ र प्रविधि उद्योगको लागि नभइनहुने अति महत्वपूर्ण खनिज तत्व आफूसँग छैन । त्यसको लागि चाहेर नचाहेर आफ्नो सबैभन्दा ठूलो शत्रु देशको शरणमा पर्नुपर्दछ । कुनै पनि देशको लागि यो भन्दा ठूलो तनाब अरु के हुन सक्छ र ?
सन्देश स्पष्ट छ, अमेरिकी हाइटेक उद्योगलाई निशाना बनाएर नै यी तत्व निर्यातमा प्रतिबन्ध लगाउने तहमा पुगेको हो चीन । चीनले दुर्लभ खनिज रोक्यो भने अमेरिकी प्रविधि उद्योगलाई ठूलो झट्का लाग्छ । दुर्लभ खनिज तत्वको प्रचुरताकै कारण आज चीन दिनप्रतिदिन उन्नत र विकसित हुँदै गएको छ ।
४) अमेरिकी कृषक डुब्ने छन् –
चीनले अमेरिकी सोयाबिन, मकै, बिफ, चिकेनको खरिद रोक्यो भने अमेरिकी किसान र उद्यमीलाई ठूलो घाटा पर्नेछ । चीन अमेरिकी कृषि उपजको सबैभन्दा ठूलो खपत स्थल हो । चीनले अमेरिकी कृषि उपजमा प्रतिबन्ध लगाउने बित्तिकै यसको प्रत्यक्ष असर त्यहाँका कृषकलाई पर्ने छ । उनीहरुका सामान नबिके अमेरिकी कृषकहरु ठूलो घाटामा पर्नेछन ।
५) अमेरिकी उपभोक्ता महंगीको सिकार हुनेछन् –
चिनियाँ सामानमा २४५ प्रतिशत ट्यारिफले अमेरिकामा चिनियाँ सामान महंगो हुनेछन । मुद्रा स्फिती बढ्न सक्छ । चीनबाट अमेरिकामा फर्मासुटिकल्स इलेक्ट्रोनिक सोलार प्यानल जस्ता अनेकन बस्तु प्रवेश गर्छन । चीनवाट अमेरिकामा हुने कुल आयात १४ प्रतिशत हुन आउँछ । जबकि अमेरिकाबाट चीनमा हुने निर्यात ६ प्रतिशत मात्रै हुन जान्छ ।
६) चीनले खोज्नेछ डलरबाट छुटकारा –
म्याग्नेटस, इलेक्ट्रिक कार, ब्याट्री, ड्रोन जस्ता उत्पादनमा चीनको एकाधिकारलाई अमेरिकाले चिर्न नसक्ने गरि चीनले छलाङ्ग मारिसकेको छ । हुनसक्छ अबको केही वर्षमै चीनले विश्वभर आफ्ना उत्पादनको बाढी लगाउने छ । चीनले अमेरिकालाई चुनौती दिन जसरी हुन्छ डलरबाट छुटकारा चाहन्छ । यसको लागि आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय बजारमा चलाउने प्रयास गर्नेछ । यसको लागि उसले अन्तर्राष्ट्रिय व्यापारमा सटहीको लागि आफ्नै मुद्रालाई प्राथमिकता दिने छ ।
७) हलिउड फिल्म चीनमा चल्ने छैनन् –
चीन हलिउड फिल्मको साबैभन्दा ठूलो बजार हो । चीनले अमेरिकालाई चुनौती दिन हलिउड चलचित्रको आयातमा पनि रोक लगाउने घोषणा गरिसकेको छ । हलिउड चलचित्र चीनम प्रवेश नपाउने बित्तिकै तिनलाई ठूलो आर्थिक नोक्सानी हुने छ ।
यी त भए केही सम्भावनाहरु । अमेरिकालाई कमजोर बनाउन चीनले यी र यस्तै अनेकन तरिकाहरु खोज्ने छ । युद्ध यद्ध हो । युद्धरत पक्षले एक अर्कोलाई जसरी हुन्छ धुलोमा मिटाउन खोज्दछ । शंकै छैन चीन र अमेरिका पनि खासमा यही चाहन्छन् ।
डरै डरको युद्ध
चीनको उदय अमेरिकालाई सह्य छैन् । अमेरिकाको दादागिरी चीनलाई मान्य छैन् । एउटा उदाउँदो शक्ति, अर्को खस्किँदो शक्ति । अमेरिका आफ्नो साम्राज्य गुमाउन चाहन्न । चीन अमेरिकालाई स्विकार्न सक्दैन । यो युद्ध व्यापार युद्ध मात्रै होइन । यो युद्ध सर्वच्चताको युद्ध हो । यो युद्धको शक्तिशाली भन्ने छिनोफानो गर्ने युद्ध हो । चीन र अमेरिका आज धेरै कुरामा बराबर शक्तिशाली भएका छन् । कोहीभन्दा कोही कम छैन् । चाहे त्यो सैन्य होस्, प्रविधि होस् या अर्थतन्त्रकै कुरा किन नहोस् । व्यापारको कुरा गर्ने हो भने चीन र अमेरिकाको व्यापार सम्बन्ध नङ र मासुको जस्तै नजिकको सम्बन्ध छ । डरको कुरा गर्नुहुन्छ भने उनीहरुको मनमा एक अर्काप्रति चरम नफरत छ ।
आफैँले थोपरेको ट्यारिफले आफ्नै उपभोक्तालाई ठूलो आर्थिक बोझ पर्ने भएपछि अमेरिका अत्तालिन थालेको छ । अमेरिका आइफोन, ल्यापटप, लत्ताकपडा, खेलौना तथा अनेकन बस्तुमा चीनमाथि आश्रित छ । चीनले दुर्लभ खनिज तत्व रोक्यो भने अमेरिकाको रक्षा र प्रविधि उद्योग ठप्प हुनेछ । चीनलाई पनि अमेरिकी व्यापार युद्धले भित्रभित्रै भत्भती मन पोलेको छ । अमेरिका चीनको सबैभन्दा ठूलो निर्यात बजार हो । अमेरिकी ट्यारिफले अमेरिकामा चिनियाँ सामान महंगो हुनेछन् र सामान नबिक्दा चीनमा त्यसको उत्पादन घट्ने छ ।
व्यापार युद्ध थामिएन र लम्बिँदै गयो भने विश्व अर्थतन्त्रले मन्दी झेल्न सक्छ । त्यतिबेला आर्थिक मन्दीको आँधीले कसलाई कहाँ पु¥याउने हो यसै भन्न सकिने छैन् । चीन र अमेरिका दुवै यो व्यापार युद्धबाट घाटामा छन् । व्यापार युद्धले चौतर्फी गतिरोधहरु बढेका छन् । गतिरोध हट्न दुवै शक्तिले व्यापार युद्धभन्दा सहअस्तित्वको रणनीति अपनाउनु पर्छ ।
चीन र अमेरिका दुवैले एक अर्कालाई आफ्ना उत्पादनहरु बेचिरहेका छन । दुवै देशले एक अर्काबाट फाइदा पनि उठाइरहेका छन् । तर पनि उनीहरु परस्परमा किन रिस गर्छन् होला ? अर्थात दुई शक्ति लँड्दा घाटा नै हुने हो । बरु उनीहरुले एक अर्कालाई सम्मान गर्दै वृहद् व्यापारिक सम्झौता गर्ने हो भने दुवै देश लाभान्वित होलान् । आजको विश्वको आवश्यकता पनि यही नै हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख ७ गते आइतबार