15 July 2024  |   सोमवार, असार ३२, २०८१

बाँसगढीका भित्री सडकमा दुर्घटना बढ्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६  

रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया
बर्दियाको बाँसगढी नगरपालिका क्षेत्रमा भित्री सडकमा दुर्घटना बढ्न थालेका छन् । राजमार्ग क्षेत्रमा सवारी दुर्घटना न्युनिकरणका लागि प्रहरीले राजमार्ग केन्द्रीत गरी ट्राफिक चेकिङ्गमा कडाई गरिए पनि भित्री सडकमा दुर्घटना बढ्न थालेका हुन् ।

पहिले ग्राभेल मात्रै रहेका भित्री सडकहरु अहिले कालो पत्रे भएका छन् ।तर सडकको कालो पत्रे सँगै भित्री सडकहरुमा अहिले दुर्घटना बढिरहेका छन् ।

भर्खरै कालोपत्रे गरिएको लखना राँझा सडकमा शनिबार दुर्घटना हुदा २ जना गम्भिर घाईते भएका छन् । लखना राँझा सडकमा मोटरसाईकलले बालकलाई ठक्कर दिदा बालक र मोटरसाईकल चालक गम्भिर घाईते भएका हुन् ।

लखना चोक देखि वेलवा तर्फ जादै गरेको भे ७ प ३६३५ नम्बरको मोटरसाईकलले ठक्कर दिदा बाँसगढी नगरपालिका ३, वेलवाका अन्दाजी ४ बर्षीय बालक बिबेश चौधरी र मोटरसाईकल चालक अन्दाजी १७ बर्षीय बिजय थारु गम्भिर घाईते भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट बाँसगढीका प्रहरी हवल्दार दिलिप कुमार बिसीले जानकारी दिए ।

घाईते बालक र मोटरसाईकल चालकलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर ल्याईएको छ । मोटरसाईकल तिव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी हवल्दार विसीले जनाए ।

त्यस्तै एक साता अघि मात्रै लक्ष्मणा चोक देखि गणेशपुर जादै गरेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने ३ जना घाईते भएका थिए ।

ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रहरी प्रमुख प्रहरी निरिक्षक ईन्द्रजित सुनारले मापसे र तिव्र गतिका कारण सवारी दुर्घटना हुने गरेको बताए ।

उनले बाँसगढी क्षेत्रमा राजमार्ग केन्द्रित सवारी चेक जाँचमा कडाई गरिए सँगै राजमार्गमा हुने सवारी दुर्घटनामा कमी आएको तर भित्री सडकमा दुर्घटना बढ्न थालेको बताए ।

भित्री सडकमा सवारी चेक जाँच नहुने भएकाले लापरवाही गरी तिव्र गतिमा सवारी चलाउदा दुर्घटना हुने गरेको उनको भनाई छ । उनले सबैले ट्राफिक नियम पालना गरी सवारी चलाए दुर्घटना न्युनिकरण हुने बताए ।

अस्थाई ट्राफिक प्रहरी पोष्ट बाँसगढी र ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले नियमित सवारी चेक जाँच, मापसे चेक जाँचमा कडाई गरिए सँगै राजमार्गमा हुने दुर्घटनामा भने कमी आएको छ ।

प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६     11:24:31 AM  |