शिविरमा छसय बढीले स्वास्थ्यसेवा लिए



तुलसीपुर (दाङ), चैत ७ गते । रोटरी क्लब अफ तुलसीपुरको आयोजनामा शनिबार पश्चिम दाङको धनौरीमा गरिएको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ६०० बढीले स्वास्थ्यसेवा लिएका छन् । त्यस भेगमा रहेका पवननगर, शान्तिनगर, पञ्चकुले तथा बाघमारे, धनौरी र श्रीगाउँ गाविसका नागरिकलाई लक्षित गरेर आयोजना गरिएको शिविरमा ६१५ जना बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क रुपमा औषधि वितरण गरिएको रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष ललितबहादुर घर्तीले जानकारी दिनुभयो ।

शिविरमा राप्ती अञ्चल अस्पतालका डा महेश कर्माचार्य, डा हेमराज शर्मा, डा सुबोध शर्मा र वरिष्ठ दन्तरोग विशेषज्ञ डिबी भुषाल, स्वास्थ्यकर्मी राजेन्द्रप्रसाद श्रेष्ठ, अर्जुन न्यौपानेलगायत ४० जनाको टोलीले सेवा दिएका थिए ।

उपचारका लागि आएका बिरामीमा धेरै पेट दुख्ने, पाठेघरका समस्या, हातखुट्टा दुख्ने र दांतका विभिन्न समस्या भएका रहेको उपचारमा संलग्न डा हेमराज शर्माले बताउनुभयो ।

जिल्लाको सदरमुकामदेखि टाढा ग्रामीण समुदायलाई लक्षित गरेर शिविरको आयोजना गरेकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

शिविरमा स्वास्थ्यकर्मी तथा पाल्पाली मेडिकल फर्मका सञ्चालक राजेन्द्रप्रसाद श्रेष्ठको सक्रियतामा विभिन्न कम्पनीबाट सङ्कलन गरिएको औषधि वितरण गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी सोही अवसरमा स्वास्थ्यकर्मी श्रेष्ठले धनौरी गाविस–९ को लोकप्रिय विद्यालयलाई प्राथमिक उपचार सामग्रीसहितको बक्स हस्तान्तरण गर्नुभएको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ७ गते आइतबार