प्रा.डा. कपिल लामिछाने
भूमेको रोमाञ्चक यात्रा (२०८२) तेजप्रकाश श्रेष्ठको नयाँ बालउपन्यास हो । यसमा नेपालको पूर्वी तराईका मेचे जातिमा प्रचलित लोककथालाई आधार बनाएर आख्यानको तर्जुमा गरिएको छ । यो पुस्तक सम्पूर्ण पुस्तक (काठमाडौँ) ले प्रकाशन गरेको हो । यो एक त्यस्तो उपन्यास हो, जसलाई बालबालिकाका लागि उपयोगी हुने गरी सरल भाषाशैलीमा प्रस्तुत गरिएको छ । यस दृष्टिले यो एक बालउपन्यास हो । उपन्यासमा आख्यानलाई विस्तारपूर्वक प्रस्तुत गरिन्छ । यस दृष्टिले उपन्यास भनेको विस्तारित आख्यान हो । त्यस्तो आख्यान बालबालिकाका लागि उपयोगी हुने गरी तयार पारिएमा त्यो बालउपन्यास हुन्छ । त्यसैले बालउपन्यासमा यथार्थ भए पनि हत्या, हिंसा, बलात्कार जस्ता बालमनमा प्रतिकूल प्रभाव पार्ने विषय हुनुहुँदैन ।
तेजप्रकाश श्रेष्ठ एक सचेत साहित्यस्रष्टा हुन् । यसअघि उनका हिउँमान्छे (२०६७) र हाम्रो स्कुल (२०७०) जस्ता दुई बालउपन्यास प्रकाशित भइसकेका छन् । भूमेको रोमाञ्चक यात्रा (२०८२) उनको तेस्रो बालउपन्यास हो । यसमा ‘भूमेको मुरली’, ‘बाठौ पूजाको रमझम’, ‘निद्राली देवीको वरदान’, ‘पशु बोली र एउटा रहस्य’, ‘गोप्य खजाना’, ‘गुनको बदला गुन’, ‘झर्कोलाग्दो झमेला’, ‘अर्नाहरूको बस्तीमा’, ‘भूमेको पुर्खा’, ‘हातमा परेको केश’, ‘चमत्कारी औँठी’, ‘राक्षससँगको जम्काभेट’, ‘भासाङ भुसुङको करामत’, ‘औँठीको चोरी’, ‘उपकारको खोलो’ र ‘भूमेको घर फिर्ती’ गरी १६ परिच्छेद रहेका छन् । परिच्छेदलाई सान्दर्भिक शीर्षक दिइएको छ ।
यो मेचे जातिको कथा हो । नेपालको मेची नदीका आसपास बसोबास गर्ने एक जाति हो मेचे जाति । मेचे प्रकृतिपूजक र प्रकृतिका काखमा रमाउने जाति हो । यहाँ सोही मेचे समुदायमा परम्परादेखि प्रचलित बाठौ, माइनाउ लिङ्ग्री, गोब्रेवीर, पशु बोली बुभ्mने केटा, हुहुरो केटा र औँठी, सिंह राजा र बदेल राजा, हुहुरो केटा र अर्नाहरू आदि लोककथालाई आधार बनाइएको छ । यसरी फरक फरक विषयसन्दर्भ र लोककथालाई उपन्यासको नायक भूमे (भूमिराम) का माध्यमले जोडेर आख्यानीकरण गरिएको छ । टुहुराका पनि दिन फर्किन्छन् भन्ने भनाइलाई भूमेका माध्यमबाट पुष्टि गरिएको छ ।
भूमे सानै हुँदा उसका बाबुको मृत्यु भएकाले ऊ टुहुरो बालक हो । आमा रागिनीले जिम्वालकहाँ काम गरी उसलाई लालनपालन गरेर हुर्काएकी हुन् । समाजमा उसलाई टुहुरो भनी हेला गरेको उसलाई मन पर्दैन । जब ऊ सात वर्षको भयो, तब एक दिन आमाले उसलाई गाई गोठालो जान भनिन्, उसले मुरलीको रट लगायो । जिम्वालको हलेले बाँसको मुरली बनाएर दिएपछि ऊ गोठालो जान तयार भयो । (पृ.१४) मुरली मात्र मुरली होइन । यो सबैलाई लट्ठ पार्ने सङ््गीतको परिचायक र प्रतीक पनि हो । यहीँबाट भूमेको जीवनको उतारचढाव सुरु भएको छ र भूमेको जीवनकथाका माध्यमबाट मेचे लोकसंस्कृति पनि प्रकट हुँदै गएको छ ।
जिम्वालको घर आँगनमा नोमानो बनाएर वैशाख महिनामा बाठौ र बालिखुङ्ग्रीको धुमधामसँग पूजाआजा गरिन्छ । यो मेचे लोकसंस्कृतिको एक मूल अङ्ग हो । यहाँ पूजा विधि र प्रक्रियाका बारेमा पनि प्रकाश पारिएको छ । बाठौस्थानको बिचमा सिजौ (सिउँडी) रोप्नु मेचे संस्कृतिको विशेषता हो । शिवलाई बाठौ र पार्वतीलाई माइनाउ लिङ्ग्री भन्दै कुल देवदेवी बाठौ र बालिखुङ्ग्रीको पूजाअर्चना गरिन्छ । यो यहाँ खुलेको छ।
भूमे गोठालो गएको बेलामा एक दिन धर्मकी देवी धर्मिणी, ज्ञानकी देवी सरस्वती, धनकी देवी लक्ष्मी, कर्मकी देवी कर्मिणी र निद्राकी देवी निद्रालीका बिच को ठुलो भन्ने विषयमा विवाद छेडिएको र उसलाई झगडा मिलाउन भनिएकोमा उसले निद्रा (निद्राली देवी) ठुलो भएको भन्ने फैसला सुनाएको र पशुपन्छीको बोली बुझ्ने र बोल्ने शक्ति वा वरदान प्राप्त गरेको छ । (पृ.३८) मुरलीपछि यो उसले हासिल गरेको अर्को ठुलो शक्ति हो ।
पशु बोली बुझेकाले गाई र बाच्छाको संवादबाट रुखमुनि ठुलो खजाना भएको पत्तो पाई ऊ सो खजाना राज्यलाई उपलब्ध गराउने व्यवस्था गर्दछ । राजा प्रसन्न भएर के कति चाहिन्छ लेऊ भन्दा केही लिँदैन । सम्पत्ति अर्थात् अकुत हिरा जवाहरातको ढुकुटी राजाले पाउँछन् । त्यसबाट उसले एउटा औँठी मात्र लिन्छ । (पृ.५२) औँठी उसले हासिल गरेको अर्को ठुलो शक्ति हो । औँठी लिएर मुरली बजाउँदै ऊ वनवन चाहर्दा लाटोकोसेरो, खरायो, मृग खेलेको देख्छ र रमाउँछ । लाटोकोसेरो र उसका बचेराका बिचमा भएको संवादबाट गुनी हुनुपर्ने सन्देश पाउँछ । (पृ.५६) गोब्रेकिरालाई महादेवले दिएको वरदान फिर्ता गरेको कथा सुन्छ । (पृ.६०) वनराज सिंह र बडेमानको दाह्रावाला बँदेलको बेफ्वाँकको लडाइँ हेर्छ, देख्छ । (पृ.६८) अर्नाका पाडापाडीको स्याहार गर्छ । अर्नालाई आफूले पुरोहित रोजाबाट आफूले सुनेको उसका पुर्खाको कथा सुनाउँछ । सोअनुसार मेचे जाति शिवकै सन्तान (अंश) भएको बुझिन आउँछ । भूमेले नदीमा नुहाउँदा खसेको उसको कपालको राँैं (केश) पातमा पोको पारेर बगायो ।
त्यस देशकी राजकुमारीले सो केश भेटाएकी र केशवाला मान्छे (भूमे) लाई खोज्न भारदारहरूलाई पठाएको र ती रित्तै फर्केको, औँठी र औँठी लगाउँदा उत्पन्न हुने भासाङ र भुसुङका शक्तिले गर्दा उसले राक्षसलाई परास्त ग¥यो भने राजकुमारीसित उसको विवाह भयो । डाढे राजकुमारले औँठी चोर्न लगाएर तिनै भासाङ र भुसुङका शक्तिले भूमेलाई बोरामा हालेर खोलामा बगाइदिएको तर त्यही खोलामा बगेका न्याउरी मुसो, रुबी चरा र भमरालाई उसले उद्धार गरेकाले गुनको बदला गुनस्वरूप न्याउरी मुसो, रुबी चरा र भमराका सहयोगबाट भूमेले गुमेको औँठी हात पारेको र औँठीको रहस्य बताएकोमा पछुताएकी राजकुमारी पत्नीलाई सँगै लिएर दरबार छोडेर घर फर्केको देखाइएको छ । कथा यही सुयोग र संयोग वा मिलनमा टुङ्गिएको छ ।
यो कथा मेचे जातिमा प्रचलित विभिन्न लोककथालाई सम्मिश्रण गरेर बनाइएको छ । यहाँ भूमेलाई नायक तथा राक्षस र राजकुमार आदिलाई खलनायक बनाइएको छ । कथा वा आख्यानका माध्यमले मेचे लोकजीवन र संस्कृतिको झलक दिइएको छ । भूमेको वीरता र शौर्य देखाइएको छ । उपन्यासको कथाकथनको शैली रोचक छ । छोटाछोटा वाक्य, छोटाछोटा अनुच्छेद, संवाद, उखान र टुक्काको प्रयोग तथा आख्यानले गर्दा बालउपन्यास रोचक र रोमाञ्चक बनेको छ । कताकति हाँसो र ठट्टा पनि रहेको छ । टुहुरो बालकको जीवनयात्राको सफलताको कथा भएकाले पो बालबालिकाका लागि प्रेरणाको स्रोत बन्न गएको छ । लोककथा त्यसै रोचक, त्यसमाथि लोककाथामा कल्पनाको फूलबुट्टा भरेर वा जलप लगाएर पस्किएकाले सुनमा सुगन्ध थपिएको छ । यसको आख्यान भन्ने शैली वा तरिका र भाषाशैलीले गर्दा उपन्यास पढ्न थालेदेखि नसकिएसम्म छाड्नै सकिँदैन । यो यसको खास विशेषता हो ।
भूमेलाई केन्द्रीय पात्र वा नायक बनाएर यहाँ मेचे जातिको उत्पत्ति र पुख्र्यौली, मेचे जातिको रहनसहन, रीतिरिवाज, आस्था, विश्वास तथा सांस्कृतिक क्रियाकलाप प्रस्तुत गरिएको छ । बालबालिकाको उमेर समूहलाई हृदयङ्गम गर्दा यो उपन्यास १२ वर्षमाथिको समूहका लागि उपयुक्त हुने देखिन्छ । ठाउँठाउँमा मेचे भाषाका केही शब्दको प्रयोग गरिएको छ । जस्तै ः बाठौ (पृ.१६), बालिखुङ्ग्री (पृ.१६), नोमानो (पृ.१६), नाडुवाङनोछा (पृ.४१६), बाठौनी घारी (पृ.१६), पूर्वा बाठौ (पृ.१६), गोदान बाठौ (पृ.१६), डोना (पृ.१७), लाइजाम (पृ.१७), मैनाबिसा (पृ.१८), सिजौ (पृ.१८), खोखा (पृ.१९), जोठा बाजा (पृ.१४), गाङ्ग्रीङ बाजा (पृ.१९), हिन्दुवानी (पृ.२०), माछोवानी (पृ.२०) आदि । यी मेचे जातिका सांस्कृतिक शब्द हुन् र संस्कृति बुझाउने प्रयोजनका लागि मात्र यस्ता शब्दको प्रयोग गरिएको छ ।
उपन्यासको भाषा सलल्ल बगेको र मिठासपूर्ण छ । खोज्ने नै हो भने एकाध अशुद्धि पाउन सकिन्छ । जस्तै ः बढारकुँढार÷ बढारकुँडार (पृ.९०, पृ.७२), दुखाई (पृ.२५), एक्कासी (पृ९३) आदि । यहाँ निद्राली देवी (पृ.११६, १३८) जस्तो नयाँ शब्दको प्रयोग पनि रहेको छ ।
घुमी फिरी रुम्जाटार भने झँैं स्वच्छन्द विचरण गर्न हिँडेको भूमे साहस, अनेक चातुर्य, शौर्य, उपकारशीलता प्रदर्शन गर्दै उत्तरोत्तर लाभान्वित र समृद्ध हुँदै सरसम्पत्ति र राजकमारी श्रीमतीसहित पुनः आमाकै सान्निध्यमा फर्केको छ । त्यसैले यसलाई भूमेको रोमाञ्चक यात्रा भनिएको छ । पढिसक्दा शीर्षक यसभन्दा अझ आकर्षक बनाउन पाए हुन्थ्यो भन्ने लागिरहन्छ ।
प्रवृत्तिगत हिसाबले यो नेपाली साहित्यको माध्यमिक कालीन तिलस्सी अतिकाल्पनिक आख्यान जस्तो लाग्छ । तर मेचे समुदायका लोककथामा आधारित भई बालबालिकाका लागि मेचे लोकसंस्कृतिको झल्काउने उद्देश्य रहेकाले यसो हुनु स्वाभाविक देखिन्छ । यो यस उपन्यासको पृथक् विशेषता हो । लोककथालाई आख्यानीकरण गर्नु नेपाली बालउपन्यासको एक प्रवृत्ति नै हो । यहाँ यस्तै प्रवृत्ति देखापरेको छ । यसरी हेर्दै जाँदा प्रस्तुत बालउपन्यास बालबालिका तथा बालसाहित्यमा रुचि हुने सबैका लागि पठनीय रहेको देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्