सुर्खेत ।
जिल्ला कारागार सुर्खेतमा रहेका कैदीबन्दीमा छाला र मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको पाइएको छ । कैदीबन्दीहरूका लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य परामर्श कार्यक्रमका अवसरमा यस्तो समस्या पत्ता लागेको हो । कर्णाली प्रदेश प्रहरी अस्पताल वीरेन्द्रनगर र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको संयुक्त पहल तथा कारागारको सहकार्यमा शिविर तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमा डाक्टरहरूले कैदीबन्दीहरूको स्वास्थ्य अवस्थाबारे गहिरो अध्ययन गरेका थिए । चिकित्सक टोलीका प्रहरी नायब उपरीक्षक डा. श्यामकृष्ण लौडारीका अनुसार स्वास्थ्य शिविरमा कूल ४४५ जना कैदीबन्दीमध्ये २१३ जनाले प्रत्यक्ष स्वास्थ्य जाँच गराएका छन् । उनीहरूलाई उचित स्वास्थ्य परामर्शसहित आवश्यक औषधिसमेत वितरण गरिएको उनले बताए । जसमा १८५ जना पुरुष, २७ जना महिला र एक जना आश्रित बालकले सेवा लिएका छन् ।
‘शिविरमा विशेषगरी २५ देखि ३५ वर्ष उमेरका कैदीबन्दीमा छालासम्बन्धी समस्या बढी देखियो,’ डा. लौडारीले भने, ‘उनीहरूमा निद्राको समस्या, हल्का डिप्रेशन र डर लाग्ने जस्ता मानसिक स्वास्थ्यका लक्षण पनि भेटिए । उमेर ढल्केका कैदीबन्दीमा मधुमेह र उच्च रक्तचाप जस्ता नसर्ने रोग पनि पाइयो ।’ शिविरमा उपस्थित स्वास्थ्यकर्मीका अनुसार सुरुमा कैदीबन्दीहरूले उपचारमा संकोच देखाएपनि प्रहरी र चिकित्सकको संयुक्त पहलले पछि सहजरूपमा खुलेर आफ्नो स्वास्थ्य समस्या व्यक्त गरेका थिए ।
सो अवसरमा कैदीबन्दीहरूले शारीरिक तथा मानसिक रुपमै सुधार भएर समाजमा फर्कने वातावरण सिर्जना गरिदिन अपिल गरेका थिए । ‘स्वास्थ्य शिविरले शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक स्वास्थ्य समस्या पनि सुधार हुने अपेक्षासहित सकारात्मकरूपमा आत्मविश्वास जगाएको छ,’ एक कैदीबन्दीले भने, ‘यो शिविरले हामीलाई ठूलो योगदान पु¥याएको छ । आगामी दिनमा पनि पटक पटक यस्ता शिविरको खाँचो छ ।’
चिकित्सक टोलीले कैदीबन्दीलाई नियमित स्वास्थ्य परीक्षण गर्न, मानसिक परामर्श सेवा लिन र स्वस्थ पौष्टिक आहारमा निरन्तर ध्यान दिन सुझाव दिएका छन् । यस्ता स्वास्थ्य शिविरले रोगको पहिचानसँगै उपचारमा पनि सहयोग पु¥याउनुका साथै कैदीबन्दीमा सुधार र पुनस्र्थापनाको भावना जगाउने अपेक्षा छ । कारागार प्रशासनका अनुसार भविष्यमा यस्ता कार्यक्रम नियमितरूपमा सञ्चालन गरी मानसिक स्वास्थ्य सुरक्षा र समग्र स्वास्थ्य सुधारमा निरन्तरता दिनुपर्ने आवश्यकता छ ।
यता जिल्ला स्वास्थ्य कार्यालयले आगामी दिनमा पनि कारागारभित्र यस्ता स्वास्थ्य शिविरलाई नियमितरूपमा सञ्चालन गर्ने योजना रहेको जनाएको छ । यसले कैदीबन्दीहरूको स्वास्थ्य सुधार र दीर्घकालीन रोग नियन्त्रणमा योगदान पु¥याउने विश्वास छ । चिकित्सकहरूका अनुसार लामो समय बन्दी जीवन बिताइरहेका व्यक्तिहरूमा डर, तनाव, डिप्रेशन र निद्रा नलाग्ने जस्ता समस्या हुन्छन् । यस्तो अवस्थामा स्वास्थ्य शिविरले उनीहरूलाई मानसिकरूपमा स्वस्थ हुन सहयोग गर्नुका साथै आत्मविश्वास प्रदान गर्ने उल्लेख छ ।
कारागारमा क्षमताभन्दा दोब्बर कैदी
जिल्ला कारागार सुर्खेतको क्षमता १५० जनाको हो । तर अहिले कारागारमा ४१२ जना कैदीबन्दी छन् । १०० जना राख्न सकिने क्षमताको पुरुष कैदी कक्षमा दोब्बरभन्दा पनि बढी अर्थात् ३६७ जना राखिएको छ भने ५० जना क्षमताको महिला कक्षामा ४५ जना छन् । कैदीबन्दीका तीन जना आश्रित बालबालिकामा पनि राखिएको छ ।
क्षमताभन्दा निकै धेरै बन्दी राख्दा कारागार व्यवस्थापनमा चुनौती देखिएको छ । त्यसमाथि कर्णालीकै अन्य जिल्लाहरूबाट कैदी थपिने क्रम पनि जारी रहेको कारागारका सूचना अधिकारी भुवन गौतमले बताए । उनका अनुसार जाजरकोट कारागारबाट महिला कैदीबन्दी ल्याउने गरिएको छ । यहाँ प्रदेशभरकै बिरामी कैदीबन्दीसमेत राख्दा क्षमताभन्दा धेरै हुने गरेका छन् ।
सुर्खेतमा मात्रै होइन कर्णाली प्रदेशका सबैजसो कारागारहरूको अवस्था यस्तै छ । क्षमताभन्दा बढी कैदी राख्नुपर्ने बाध्यता छ । सल्यान जिल्ला कारागारको अवस्था पनि सुर्खेतकै जस्तो छ । २५ जना क्षमताको कारागारमा झण्डै पाँच गुणा बढी बन्दी राखिएको छ । १४४ कैदीबन्दी सल्यान कारागारमा छन् । यस्तै रुकुमपश्चिम कारागारको क्षमता २५ जना रहेकामा अहिले १५६ जना तथा ३५ जना क्षमताको जाजरकोट कारागारमो ७७ कैदीबन्दी रहेका छन् ।
२५ क्षमताको कालीकोट कारागारमा अहिले ५४ जना र दैलेखमा एक सय क्षमताको कारागारमा १६५ जना रहेका छन् । जुम्ला र डोल्पा जिल्लास्थित कारागारमा मात्रै क्षमताभन्दा कम छन् । दुई सयजना क्षमता भएको जुम्ला कारागारमा एक सय २४ जना र १५० जना क्षमताको डोल्पा कारागारमा अहिले २५ जना मात्रै कैदीबन्दी छन् । तर समग्रमा प्रदेशका धेरैजसो कारागारको अवस्था अहिले कहालीलाग्दो छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गत वर्ष गरेको अध्ययनअनुसार कर्णालीका कारागारको क्षमता ६५० जनाको छ । तर कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्ने गरिएको छ । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी भएपछि उनीहरूलाई बस्न तथा सुत्न निकै सकस हुने गरेको छ ।








प्रतिक्रिया दिनुहोस्