सम्पादकीयः सबैको हातेमालोको खाँचो



देश अहिले विषम परिस्थितिमा छ । चारैतिर अन्यौलता छाएको छ । देशवासीमा एकप्रकारको डर त्रास अझैपनि देखिन्छ । कुनैपनि नागरिकको मुहारमा खुसी छैन् । नेपालीहरूका महान चाडहरू दसैँ, तिहार तथा छठ पर्व आँगनमै आइपुग्दा पनि कसैको अनुहारमा हाँसो र खुसीयाली देख्न सकिँदैन् । देश शोकमग्न अवस्थामा छ । नागरिकहरूले आफूलाई सुरक्षित महसुस गर्न सकिरहेका छैनन् । हरेक राजनीतिक परिवर्तनका समयमा यसप्रकारको सन्नाटा हुने स्वभाविक नै हो तर पनि नागरिकले आफूलाई सम्हाल्न र आफ्नो मन बुझाउन सकिरहेका छैनन् । यसअघिका वर्षहरूमा यो समयमा सहर तथा विदेशमा रहेका नागरिकहरू चाडवाड मान्नका लागि तम्तयार हुन्थे ।

आफ्ना गाउँ तथा घरमा फर्कने तयारी गरिरहेका हुन्थे तर यस वर्ष ती सबै खुसीयाली हराएको छ । देशले होनाहार युवा तथा राष्ट्रसेवक प्रहरी गरी कम्तीमा ७२ जना नागरिक गुमाएको छ । कसैको सिन्दुर पुछिएको छ, कसैको काख खोसिएको छ, कोही टुहुरा बनेका छन्, कतिपय परिवार सहाराविहीन बनेका छन् । चौतर्फी अन्धकार र दुःख छ । देश रोइरहेको छ । तत्कालीन सरकारको हठीका कारण देशमा यो अवस्था सिर्जना भयो, कलिला मुनाहरूलाई गोली हानेर भटाभट मारियो, जेनजी आन्दोलनका मागहरू पूरा गर्नुका साटो उल्टै उनीहरूका विरुद्धमा आगो ओकल्ने काम तत्कालीन सरकारले ग¥यो ।

उनीहरूलाई हतोत्साही पार्ने, उग्र बनाउन बाध्य पार्ने विभिन्न वक्तव्य तथा कामहरू भए । र देशले आज यो अप्रत्यासित अवस्थाको मुकाबिला गर्नुपर्ने स्थिति आइप¥यो । तत्कालीन सरकारसँग बन्देज लगाइएका सामाजिक सञ्जाल खोलिनुपर्ने, देशलाई भ्रष्टाचारमुक्त गराउनुपर्ने जस्ता मागहरू लिएर जेनजीहरू प्रदर्शनमा उत्रिए । प्रदर्शनका क्रममा देशका प्रायः जिल्ला तथा मुख्य सहरहरूमा उग्र आन्दोलन भए । भदौ २३ गते प्रदर्शन गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा तत्कालीन सरकारले १९ जना निहत्था विद्यार्थी तथा युवाहरूलाई गोली हानेर मारेपछि २४ गतेको प्रदर्शन उग्र हुँदै अनियन्त्रित आन्दोलनमा परिणत भयो । २४ गतेको अनियन्त्रित आन्दोलनका कारण देशले ऐतिहासिक भवन तथा अर्बौँ खर्बौँको भौतिक संरचना गुमाउन पुग्यो ।

२३ गते यता प्रदर्शनकारी युवा विद्यार्थी र प्रहरी गरी ७२ नेपालीको ज्यान गइसकेको छ भने हजारौँको सङ्ख्यामा घाइते बन्न पुगे । अब आन्दोलनका क्रममा सहिद बनेका तथा घाइते भएका परिवारहरूलाई उचित क्षतिपूर्तिको खाँचो छ । आन्दोलनपश्चात् देशले नयाँ आशाको किरणसहित नयाँ सरकार पाएको छ । अबको सरकारले जेनजीका मागहरू पूरा गर्नुपर्ने, सहिद भएका घरपरिवार तथा घाइते बनेका र उनीहरूका परिवारलाई उचित प्रबन्धसहित उनीहरूका समस्याहरू सम्बोधन गर्न सक्नुपर्छ । सहिद तथा घाइते परिवारहरूलाई रोजगारी, उचित शिक्षा तथा स्वास्थ्यमा छुटको व्यवस्था गर्न आवश्यक छ । उनीहरूको दीर्घकालीनरूपमा जीवनयापनका लागि आवश्यक पहल गर्न जरुरी छ । सरकारले अब देश पुनर्निर्माण गर्नका लागि सबै पक्षलाई समेटेर सँगसँगै अगाडि बढाउनु जरुरी छ ।

सबै पक्षको आवश्यक सहयोग लिएर देशलाई नयाँ ढंगबाट उठाउनु अहिलेको आवश्यकता हो । देशको राजनीतिक परिवर्तनका लागि इतिहासदेखि हालसम्म सयौँ हजारौँ नेपाली नागरिकले आफ्नो ज्यान दिएर बलिदानी गरेका छन् भने हजारौँ नागरिक अंगभंग भएर जीवनभर घाइते अवस्थामा बाँच्नुपरेको छ । अबको सरकारले यी सबै कुराहरूलाई मध्यनजर गर्दै देशले अब यस्तो अशान्ति खेप्न नपर्ने गरी योजना बनाउनु जरुरी छ । अन्तरिम सरकार भएका कारण यस्को काम देशमा प्रतिनिधिसभाको निर्वाचन गराउनेसम्म भएपनि भविष्यको खाका र कार्यक्रम बनाएर आगामी निर्वाचित सरकारलाई दीर्घकालीन योजनाहरूसहित बुझाउन र भ्रष्टाचारमुक्त देश निर्माणका लागि बनाइएका योजना सुम्पिन जरुरी छ । जलिरहेको देश पुनर्निर्माण गर्न र सहिद परिवार तथा घाइते र उनका परिवारको घाउमा मल्हम लगाएर साथ र सहयोग गर्नका लागि सबैको हातेमालोको खाँचो छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार