साहित्य सुन्ने र आफ्नै आवाज खोज्ने यात्रामा



नरेन्द्रजंग पिटर

म अचेल धेरै साहित्यिक गोष्ठीहरूमा जान्छु । कार्यपत्र सुन्छु, विचार सुन्छु । प्रगतिशील लेखकहरूको परिचय र उनीहरूको लेखन नियाल्छु । साहित्यिक संघ संस्थाका नेतृत्व, संगठनका उद्देश्य, चरित्र र सिर्जनाबीच तालमेल नियाल्छु । नेपालगञ्जको साहित्यिक हरियालीः कुनै बेला व्यंग्यकार श्याम गोतामेले लेखेका थिएः “साहित्यकारहरूले सम्मान नपाए नेपालगञ्ज जानु ।” हो, यहाँ त हलभरिका सबैलाई सम्मान पत्र, ढकमक्कै फूलमाला, अनि पर्मतिरेझैँ पुरस्कार बाँडफाँड हुन्छ । नेपालीका शिक्षक त सबै ‘उत्कृष्ट’ साहित्यकार हुन्छन्, समीक्षक त ‘दयालु भगवान्’ हुन्छन—जुनसुकै लेख देखे पनि “उच्चस्तरीय” भनेर मोहर ठोकिदिन्छन् । नेपालगञ्जमा मौसम जे होस्, साहित्यिक हरियाली कहिल्यै ओइलाउँदैन । जाडोमा शीतलहर चल्छ, गर्मीमा लु तात्छ, तर माइक र माला सधैं ताजा हुन्छन् । यहाँ साहित्यकारभन्दा संस्था बढी छन् । एउटा लेखकसँग दुई–तीन संस्था जोडिनु त त्यस्तै हो—जस्तो एउटा मान्छेसँग दुई–तीन मोबाइल राखिनु ।

लेख्ने झन्झट त किन ? संस्था चलाउन सकियो भने लेखकत्व आफैँ आकाशबाट झर्छ । कार्यक्रमको तयारी ? त्यो त हाम्रो बलियो पक्ष हो । प्रमुख अतिथि, विशिष्ट अतिथि, गम्छा र माला—सबै स्टकमा हुन्छन् । कस्को कुन स्थान हामी पहिल्यै तय गरिसकेका हुन्छौँ । थपघट गरिने झन्झटै हुँदैन । यिनले कहिल्यै म्याद गुर्जादैनन् । प्रमुख अतिथी,विशिष्ट अतिथी फिक्स छ । आकलझुकल फेर्नु परे भिन्नै कुरा हो । हलभरीका श्रोतालाई आशन ग्रहण गराइन्छ । आखिर साहित्यिक कार्यक्रममा श्रोता पाउनु कम गाह्रो कुरा हो र ! आखिर, नेपालगञ्जमा श्रोताले श्रोता भएर मात्रै बस्नु भनेको पनि अपमान हो । हाम्रो असली विशेषता के भने, कार्यक्रममा जति ढिलो पुग्यो, उति ठूलो दरिने । दुई घण्टा ढिलो आउने प्रमुख अतिथि त भाग्यमानी—सबैले ताली बजाउँदै स्वागत गर्छन् ।

ब्यानर,विषय र फलोेर वास्ता नगरी आग्राका कुरा ग्राका विश्लेषण गर्न पनि छुट छ । अनि भाषणमा थप दुई घण्टा लगाइदिए उनको भिन्नै मुल्यांकन, जोडदार ताली । नेपालगञ्जको अर्को विशेषता भनेको आफनो कबिता वाचन गर्यो, भाषण ठोक्यो तर हामी अर्काको सुन्ने कष्ट भने गर्दैगर्दैनौ । हुँन पनि अर्काको कुरा सुन्यो भने आफनै विश्वास, सौन्र्दयमाथी आक्रमण होला कि भनेर हामी अत्यन्तै होसियार हुन्छौँ । आखिर नेपालगञ्जिया हौँ, धेरै बाठा छौँ । राजनीतिक नेताहरू हाम्रो साहित्यिक आकाशका सूर्य हुन् । उनीहरुकै सिफारिसमा हामी साहित्यिक हैसियत, नियुक्ति पाउने हुँदा उहाँहरुको सम्मानमा कतै चुक हुँनै दिदैनौ । साहित्यकार त संस्कारित प्राणी भएकाले उहाँहरू मञ्चमा हुनु भनेको हाम्रो भाग्य खुल्नु पनि हो । उहाँहरूको भाषण नसुनेसम्म न कविता फूर्छ, न गद्य पलाउँछ । हामी त त्यसैमा गदगद ।

नेपालगञ्जमा साहित्य लेखिँदैन हैन्, लेखिन्छ । राष्ट्रिय चर्चामा छ । साहित्य गोष्टी त शख्या गनिनै सकिँदैन । ‘आयोजना’ हुन्छ । गोठमा गाई सबै ‘दुधालु’ हुनेजस्तै, हाम्रो साहित्यिक सभामा लेखक सबै ‘उत्कृष्ट’ हुन्छन् । अनि पुरस्कारको हालत ? पर्मतिरे जस्तो—लिने, दिने, फेरि लिने । आफनै संस्था, आफैँ चयन कर्ता र आफैँ पुरस्कृत अर्को हाम्रो विशेषता हो । म्ह पुजा नेवारी संस्कृतिको गौरव हो, हामी पनि साहित्यमा म्ह पुजाको संस्कार भित्र्याउदैछौँ । साहित्यिक सभामा डक्टरहरू र प्राध्यापकहरूको आवाज गुञ्जिन्छ । उनका शब्दहरूमा विश्वविद्यालयको कठोर पर्खाल, धुलोले ढाकिएको पुस्तकालय, अनि जीवनभरको ‘रिफरेन्स’ मिसिन्छन ।

तर म त त्यहाँ सधैं एउटा कुनामा बस्ने पाठक र ?ोता मात्रै हुन्छु । कविता सुन्दा मनमा आनन्द त हुन्छ, तर अर्को दिन कवि स्वयंलाई देख्दा लाग्छ—“हेर न, कविता जस्तो जीवन त भएनछ नि !” कविताभन्दा कविको अहंकार ठूलो देख्दा त मनमा प्रश्न उठ्छः कवि कविताजस्तो हुन्छ कि कविता कविजस्तो ? कसैको अकवितालाई कविता भनेर सुनिँदा मन पोल्छ । तर जब “उच्चस्तरीय समीक्षक”ले लालमोहर ठोकिदिन्छन, तब म कसरी अछुतो हुन्छु र ! मैले पनि हात हल्लाउँदै “जय” भन्नै पर्छ । आखिर गोष्ठीमा असहमति राख्नेभन्दा ताली बजाउनु सजिलो र प्यारो । साहित्यमा नेपालगञ्ज दयालु छ । समीक्षकहरू पनि अति दयालु छन् ।

सबैका कृतिहरू उच्चस्तरका छन् भनेर प्रमाणित गरिदिन्छन् । मौषम र धार्मिक उन्माद भए पनि सम्मान गरेर सम्मान लिन औधी खप्पिस छ,नेपालगञ्ज । जब उम्दा कविता सुन्दा गहिरो आनन्द मात्रै हुँदैन, आफैंलाई समीक्षित पनि गर्छु । अनेकौँ विचार फुर्छन्, कल्पना वेलगाम हुन्छ । तर सुन्दर कविहरूको जीवन सुन्दर नदेख्दा मन कुढिन्छ । अहंकार र कविको कुनै नाता नहुनुपर्ने हो । यही प्रश्नले मलाई भित्रभित्रै पोल्छ ।

विषयको चयन नै लेखकको परिचय हो । युग र चेतनासँगै साहित्यले समाजको चित्र कोर्छ । जीवनको पीडा, सौन्दर्य र संघर्षलाई नछोए त्यो साहित्य हो कि होइन ?

हरेक भाषा र साहित्यका प्राध्यापक साहित्यकारै हुन्छन् त ? म देशविदेशका चर्चित साहित्यकारको जीवन नियाल्छु । प्राध्यापकलाई आफ्नै विषयको विश्वविद्यालयझैँ अपेक्षा गरिन्छ । विद्यार्थीहरूले उनीहरूलाई आधार बनाएर सोच्ने, भविष्य निर्माण गर्ने गर्छन् । तर शासकीय कठोर संरचनाभित्र रागदरवारीहरू शक्तिको स्तुतिमा रमाउँदा साहित्यको आत्मा हराइरहेको त छैन ? कतिपय अवस्थामा मेरो जिज्ञासाको भोक निराशामा पुग्छ । कल्पनामा लेखक केवल कथा भन्ने प्राणी होइन, युगको पीडाको भार बोकेर भविष्यको चित्र शब्दमा उतार्ने आत्मा हो । भीडमा ऊ एक्लो देखिएला, तर त्यो एक्लोपनै उसको शक्ति हो । भीड ताली बजाइरहँदा लेखक मौन तर कलम धारिलो बनाउँछ ।

यही शब्दले उसलाई कहिले झ्यालखानामा कोच्न सक्छ, कहिले निर्वासन लखेट्न सक्छ, तर शब्दशक्ति ऊर्जामा परिणत हुन्छ । श्रृजनामार्फत लेखक मानिसभित्रको असिमित क्षमतालाई जागृत गर्छ । स्वार्थमा रुमल्लिएको मनलाई करुणा, आदर्श र सपना बोकेर युगीन मानवमा फेरिदिन्छ । लेखक वा कविले पुराना विश्वास ध्वस्त गरी नयाँ सत्य उमार्छन् । निर्भिकता फ्योदोर दोस्तोयेभ्स्की पढ्दा आजकै समाजको मनोविज्ञान बोलिरहेझैँ लाग्छ । लेखकले पात्रमार्फत युगसँग, सत्तासँग र समाजसँग संवाद गर्छ । ऊ आफ्नो विचारका लागि सम्झौता गर्दैन । मृत्यु अघि उभिएको अपराधीको अन्तिम स्वरमा जस्तो तिक्त सत्य, लेखकको आवाजमा हुन्छ ।

शक्तिसँग डराउने भए लेखक होइन, दरबारका भजनमण्डलीको सदस्य हो । निर्भीक लेखक आत्माको चित्कार सत्य बोल्छ, चाहे संसार नै उसको विरुद्ध किन नउठोस् । प्रगतिशील यथार्थवाद अल्बेर कामु भन्थे—“विद्रोही हुनु भनेको अस्तित्वलाई स्वीकृति दिनु हो, तर अन्यायलाई अस्वीकार गर्नु हो ।” लेखक संसारलाई जसरी छ त्यस्तै देख्छ, तर त्यही यथार्थमा विद्रोहको आगो बाल्छ । उसको दृष्टि केवल चित्रणमा सीमित हुँदैन, परिवर्तनको सम्भावना खोजिरहन्छ । परम्परा, जातिवादी मिथक वा अन्धधर्मसँग सम्झौता नगर्ने दृढता उसको कलममा हुन्छ । लेखकले राष्ट्र, जाति र धर्मका पर्खाल भत्काउँछ । ऊ वञ्चित, शोषित, उत्पीडितहरूको पक्षमा उभिन्छ । उसको हृदयमा सीमाहीन करुणा हुन्छ । हरेक समाजमा तीन खाले चिन्तन हुन्छन्—यथास्थितिका वाहक, पश्चगामीका प्रतिनिधि र अग्रगामी ।

सबैले आफ्ना चिन्तनका सौन्दर्यगाथा तयार गर्छन् । तर वास्तविक लेखक युगसँग संवाद गर्छ, भविष्यमा बाँच्छ । उसले इतिहासको पदचाप सुन्छ, अनागत युग नियाल्छ । भीड जहाँ हाँसिरहेको हुन्छ, ऊ त्यहाँ मृत्युको छायाँ देख्छ; भीड जहाँ डराइरहेको हुन्छ, ऊ त्यहाँ मुक्तिको उज्यालो देख्छ । लेखक समयको चेतावनी हो, भविष्यको घोषणापत्र हो । लेखनीको मूल्य जुन कुरा महत्वपूर्ण हुन्छ, त्यसको मूल्य पनि बढी हुन्छ । लेखकले आफ्नो विश्वासका लागि जीवन नै चढाउँछन् । अक्षरको हुर्मत नकाढ्ने लेखकलाई सत्ताले घेरा हाल्छ, भीडले गाली गर्छ, मित्रहरू टाढिन्छन् । तर ऊ कलमलाई धोका दिन सक्दैन ।

यसरी लेखक जागृत चिन्तनको प्रतिनिधि बन्छ । सभ्यताले उसको बलिदानलाई कहिल्यै भुल्दैन । मैले पनि लेखनीको मूल्य तिरेका धेरै लेखकसँग संगत गरेको छु । कुनै दिन धारिला कलम भएका निकोलाई गोगोल जस्ता लेखक बुढेसकालमा कर्कलाको डाँठ बनेका पनि देखेँ । मोदनाथले पनि भनेका थिए— “खड्ग पग्ली मैन भयो, मान गइ अपमान भयो, सिंह लत्री स्याल भयो, हाय, विडम्बना यस देशको ।” लेखकीय कर्मलाई राजनीतिक भूगोलले बाँध्न सक्दैन । सत्य र मानवताको आवाज कुनै देशको मात्र सम्पत्ति हुँदैन । होलोकास्ट भोगेको यहुदी जातिवाद अहिले गाजामा नरसंहार मच्चाइरहेको छ । पश्चिमी अभिजातवर्ग गाजाको मानवचित्कारलाई मनोरञ्जन ठान्छन्, भलै त्यहाँका नागरिक युद्धविरुद्ध सडकमा उत्रिएका छन् । तर यहुदीवादको विरोध गर्ने हावर्ट ज्याक वसन, पीटर वेनपार्ट र रज सेगलजस्ता लेखक पनि छन् ।

अन्धजातिवाद, अन्धधर्म र अन्धराष्ट्रवाद लेखकको कलमसँग मेल खाँदैन । लेखक विद्रोही हुन्छ, तर उसको विद्रोह विवेकमा हुन्छ । भीडले उसलाई “पागल” वा “देशद्रोही” भन्छ, तर इतिहासले “प्रवक्ता” भन्छ । लेखकको कलम केवल शब्द होइन, समयसँगको द्वन्द्व हो । ऊ निर्भीक हुन्छ, प्रगतिशील यथार्थवादी हुन्छ, मानवतावादी हुन्छ, भविष्यको पदचाप सुन्छ । त्यसैले लेखकलाई केवल लेखक भनेर सीमित गर्न सकिँदैन— ऊ युगको अन्तरात्मा हो, पीडाको आवाज हो, सत्यको प्रहरी हो । सत्ता र साहित्य वितेके ८दशकमा राजनीति,शासक,सत्ता चरित्र फेरिउझै लेखक,साहित्यकारका चरित्र पनि फेरिए । २०१७ साल अघि कमिटेड प्रगतिवादी साहित्यकारहरू दरबारी भजनमण्डलीमा फेरिए । राजाको प्रतक्ष शासकनकालका कबि ,साहित्यकार र बुद्धिजीवी नियालौँ ।

अहिले पनि प्रज्ञा प्रतिष्ठानको आरक्षणका लागि कलम खर्चिनेहरूको भिड देखिन्छ । प्राज्ञको चयन सत्ताले गर्छ । लेखक दुई बाटाका यात्री हुन्छ— एउटाबाटो हुजुरको खोपीसम्म पुग्छ, अर्को बाटो सडकसम्म । यसका लागि गोगोल उदाहरण हुन् । उनले सुरुमा व्यंग्यात्मक यथार्थवादमार्फत सामन्तवाद, नौकरशाही र रूसी समाजको कुरूपता नाङ्ग्याए । तर पछि धार्मिक उन्मादमा फसेर आफ्ना कृति जलाए र जारवादी सत्तासँग मेल खाने भाषण दिन थाले । किन प्रतिभाशाली लेखक पछि सत्ताको मतियार बन्छ ? कारण—सत्तासँग प्रलोभनको रसायन हुन्छ । सम्मान, सुरक्षा, वैचारिक औचित्य—यी कमजोरीका कारण विद्रोही आत्मालाई पचाईदिएर प्राज्ञिक दास बनाइदिन्छ ।

तर अरू उदाहरण फरक छन— दोस्तोयेभ्स्कीले द्वन्द्व भोगे तर आत्मा बेचेनन् । टॉलस्टॉय अन्तिममा राज्य र चर्चसँग टकराए । पुष्किन सत्तानजिक भए पनि आत्मसंघर्षमै मरे । सत्ता र साहित्यबीच प्रेम र घृणाको जस्तै सम्बन्ध हुन्छ । लेखकले प्रतिरोध गर्छ, सत्ता उसलाई पचाइदिन खोज्छ । तर जब सत्ता निरङ्कुश हुन्छ, कलम विद्रोह गर्छ । अन्ततः समाजले स्मरण गर्ने कुरा—लेखक सत्ता नजिक थियो कि थिएन भन्ने होइन, उसले सत्यलाई कति गहिरो स्पर्श ग¥यो भन्ने हो । गोगोलको कथा चेतावनी हो— कलमले केवल सत्ताको सेवक बन्न हुँदैन, बरु सत्ताले चुप गराउन खोजेका आवाज उजागर गर्ने साहस बन्नुपर्छ भन्ने हो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार