गौरी लङ्केश एक निडर र साहसी महिला पत्रकार



चिन्तामणि घिमिरे

सञ्चार जगतलाई राज्यको चौथो अंगको रूपमा लिने गरिन्छ । सरकारका तीन अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछिको चौथो अंग हो सञ्चार जगत अर्थात् पत्रकारिता क्षेत्र । पत्रकारिताको काम भनेको राज्यलाई खबरदारी गरिरहने र जनतालाई सुसूचित गर्ने हो । यो एक प्रकारले समाजको प्रमुख सचेतक पनि हो । आमरूपमा समाजमा यस्तो धारणा रहेको पाइन्छ कि पत्रकारिता सजिलो विषय हो । पत्रकार बन्न सजिलो छ । तर पत्रकारिता पेशा सजिलो छैन् । बाहिरबाट हेर्दा मात्र त्यस्तो देखिने हो तर भित्र कथा अर्कै हुन्छ । मिसन पत्रकारिताभन्दा व्यवसायिक पत्रकारिता तुलनात्मक रूपले सजिलो हुन्छ । यथास्थितिलाई कायम राख्ने पत्रकारिता सजिलो हुन्छ । यथास्थितिलाई बदल्न खोज्ने पत्रकारिता धेरै कठिन र संघर्षमय हुन्छ र प्रत्येक सेकेन्ड सेकेन्डमा चुनौतीसँग लुकामारी खेल्नुपर्ने हुन्छ । पुँजीवादी राज्यसत्तामा प्रेस स्वतन्त्रता देखावटी मात्र हुन्छ । पुँजीवादी व्यवस्थामा सरकार पुँजीपति वर्गको प्रबन्धक समितिभन्दा बाहेक अरु केही हुँदैन । नियम कानुनहरू पनि पुँजीपति वर्गको स्वार्थलाई टेवा पुग्ने गरेर निर्माण गरिन्छन् ।

पुँजीपति वर्गको अवैध लुटलाई वैधानिकता दिने काम कानुनले गर्दछ । न्यायालय र न्यायको कुर्सीमा बस्नेहरू पनि अर्थबाट प्रभावित हुन्छन् । त्यहाँ पुँजीपति वर्गले ठूलोे लगानी गरेर बिग मिडिया हाउस सञ्चालन गरेका हुन्छन् । मिडियामाथि पूरै नियन्त्रण गर्छन् । उनीहरूले मिडियालाई आफ्नो स्वार्थअनुकूल चलाउँछन् । सरकारले आफ्नो स्वार्थमाथि धक्का नपुग्दासम्म मिडियालाई स्वतन्त्र ढंगले चल्न दिन्छ तर जब मिडियाले सरकारले गरेका बदमासीहरू, अवैध धन्धाहरू र भ्रष्टाचारको पोल खोलिदिन थाल्छ, तब त्यो मिडियालाई बन्द गरिदिन्छ वा पत्रकारकै भौतिक रूपले सफाया गर्न पनि सक्छ । विश्वमा बर्सेनि थुप्रै पत्रकारको हत्या भइरहेकै हुन्छ । मिडिया समाजको आँखा हो । आँखा भएन भने संसार अँध्यारो हुन्छ । मान्छे बाँच्न त आँखा नभए पनि बाँच्छ । आँखा भएर बाँच्नु र नभएर बाँच्नुको फरक छुट्टै हुन्छ । मिडिया नहुँदा पनि मान्छे बाँच्छ नै। अज्ञात भएर बाँच्नु र ज्ञात भएर बाँच्नुमा धेरै फरक हुन्छ । गौरी लङ्केश एक निडर र बहादुर महिला पत्रकार थिइन् जसले स्वतन्त्रताको आवाज निकाल्दा, धार्मिक अन्धविश्वास, जातीय साम्प्रदायिकता र धार्मिक अतिवादका विरुद्ध बोल्दा र लेख्दा गोली खानुप¥यो ।

उनको कलम फाँसीवादी सत्ताका विरुद्ध डगमगाएन । यिनी कन्नड भाषाकी पत्रकार थिइन् । यिनले व्यवसायिक पत्रकारिता नभएर मिसन पत्रकारिता गर्दथिन् । वैचारिक रूपले यिनी निकै नै धारिलो थिइन् । यिनको वैचारिक स्तर निकै उच्च स्तरको थियो । यिनी हाम्रो छिमेकी देश भारतको दक्षिणी राज्य कर्नाटाका राज्यको बैङ्गलोर निवासी थिइन् । यिनी जति बाँचिन् संघर्ष गरेरै बाँचिन् । अझ त्यसमा पनि वैचारिक संघर्ष उनका लागि महत्वपूर्ण रह्यो । यिनी मरेर पनि बाँचिरहेकी छन् । मरेर पनि बाँच्नु र बाँचेर पनि मरिरहनुमा धेरै फरक छ । राज्यसत्तासँग सम्झौता गरेर, उसका बदमासी र अपराधहरूलाई ढाकछोप गर्नु र आँखा चिम्लिनु र उसकै दयामा जीवन जिउनु एक प्रकारले बाँचेर पनि मरिरहनु जस्तै हो । जतिसम्म बाँचिन्छ स्वाभिमानी तरिकाले नै बाँच्नु पर्दछ । जीवनको अर्को नाम भनेकै संघर्ष हो । संघर्ष गरेर जिउन सिक्नु र सक्नु निकै श्रेयस्कर हुन्छ । बहादुरहरूले संघर्षको बाटो रोज्छन् भने कायरहरूले सम्झौताको बाटो रोज्छन् ।

गौरीले आफ्नो लक्ष्य र उद्देश्यलाई त्यागेर सरकारसँग सम्झौता गरेको भए उनको जीवन अहिलेसम्म जीवितै रहन्थ्यो । फाँसिस्टहरूबाट पनि स्यावासी मिल्थ्यो होला । जीवन सुखसयलसँग बित्थ्यो होला । तर उनले यी सबै कुराहरूलाई लत्याइदिइन् । मरेर पनि बाँचिरहनु र बाँचेर पनि मिनेट मिनेटमा मरिरहनुमा धेरै नै अन्तर छ । गौरीले बाँचेर मरिरहने होइन मरेर पनि बाँचिरहने बाटो रोजिन् । उनलाई पराधिनताको सुख सयलभन्दा स्वाधीनताको दुःख नै धेरै श्रेयस्कर लाग्यो । उनी स्वाधीनताको दुःखमा रमाउन थालिन् । २९ जनवरी १९६२ मा दिवङ्गत पत्रकार गौरी लङ्केशको जन्म भारतको कर्नाटाका राज्यको बैङ्गलोरमा भएको थियो । यिनका पिता पी.लङ्केश कन्नड भाषाका प्रसिद्ध लेखक, साहित्यकार एवं पत्रकार थिए । उनी पुरस्कार विजेता फिल्म निर्माता पनि थिए । १९८० मा उनले लङ्केश नामक कन्नड साप्ताहिक पत्रिकाको सुरूवात गरेका थिए । उनका तीन सन्तान थिए– गौरी, कविता र इन्द्रजित । कविताले फिल्मलाई पेशाको रूपमा अपनाइन् र कैयौँ पुरस्कार जितिन् । गौरीले पत्रकारितालाई आफ्नो पेशा बनाउने निश्चय गरिन् ।

पत्रकारको रूपमा उनको पेशेवर जीवनको सुरूवात बैङ्गलोरमा ‘टाइम्स अफ इन्डिया’बाट भयो । चिदानन्द राजघट्टसँग विवाहपश्चात् उनी केही दिन दिल्लीमा रहिन् । उनले बैङ्गलोरमा रहेर मुख्यतः कन्नड भाषामा पत्रकारिता गर्ने निर्णय गरिन् । पी. लङ्केश प्रगतिशील विचारधाराका पक्षधर थिए । उनी जातीय र धार्मिक साम्प्रदायिकताका विरोधी थिए । उनले बाँचुञ्जेलसम्म अन्यायको विरोधमा र मानवता तथा न्यायको पक्षमा आवाज बुलन्द गरिरहे । पी.लङ्केशले आफ्नो प्रगतिशील विचारधारालाई प्रचारप्रसार गर्नको लागि कन्नड भाषामा लङ्केश नामक पत्रिका प्रकाशन गर्न सुरु गरे । लङ्केश पत्रिकाले छिट्टै नै कन्नड भाषा र साहित्य तथा पत्रकारिता जगतमा आफ्नो अलग पहिचान कायम गर्न सफल रह्यो । गौरी लङ्केशको झुकाव पनि आफ्नो पिताको जस्तै पत्रकारितातिर नै रह्यो । उनले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेशनमा पत्रकारिताको पढाइ गरिन् । पढाइपश्चात् टाइम्स अफ इन्डिया भन्ने पत्रिकामा जागिर गर्न थालिन् । टाइम्स अफ इन्डियाका एक पत्रकार चिदानन्द राजघटसँग विवाह गरिन् । यो विवाह लामो समयसम्म टिकेन् । विवाह भएको पाँच वर्षपछि गौरी लङ्केशले सम्बन्धविच्छेद गरिन् । त्यसपछि यिनले अङ्ग्रेजी साप्ताहिक ‘द सन्डे’को बैङ्गलोर शाखाको सम्वाददाता बनेर काम गर्न थालिन् ।

यो काम नौ वर्षसम्म जारी रह्यो । उनको अंग्रेजी र कन्नड भाषामाथि राम्रो पकड थियो । पÞmेरि गौरी लङ्केशले दिल्लीमा गएर एक टिभी च्यानलमा काम गर्न थालिन् । सन् २००० मा यिनका पिता पी.लङ्केशको निधन भयो । पिताको निधनपछि गौरी लङ्केश र उनका भाइ इन्द्रजित लङ्केशले मिलेर लङ्केश पत्रिका सञ्चालन गर्न थाले । गौरीले पत्रिकाको सम्पादकीय सम्हाल्थिन् र भाइ इन्द्रजितले पत्रिकाको व्यवस्थापन पक्षतिर हेर्दथे । यसको केही समयपछि दिदी र भाइका बीचमा वैचारिक मतभेद सुरु हुन थाल्यो । दिदीको सामाजिक सक्रियता भाइलाई मन परेको थिएन । गौरी लङ्केश एक जुझारु क्रान्तिकारी महिला थिइन् । लङ्केश पत्रिकामा प्रगतिशील रचनाहरू छापिन थाले । जसको इन्द्रजितले विरोध गर्न थाले । त्यसपछि भाइ इन्द्रजित दिदी गौरी लङ्केशलाई साथ दिन छाडे र पत्रिकाबाट अलग भए । गौरी लङ्केशले पत्रिकाको नाम बदलेर गौरी लङ्केश राखिन् । गौरी लङ्केशले पत्रिकामा साम्प्रदायिक शक्तिहरू, जातिवादी शक्तिहरू, सामन्तवादी तत्व र धार्मिक अन्धविश्वास र अन्धवादमाथि खुलेर प्रहार गर्न थालिन् । त्यस समयमा कर्नाटकमा हिन्दु कट्टरता बढ्दै गइरहेको थियो । धार्मिक अतिवादले पनि खुट्टा पसारिरहेको थियो । कर्नाटकमा दलित साहित्यकारमाथि हमला हुन थालिसकेको थियो ।

एक दलित साहित्यकार पेरुमल मुरुगनमाथि प्रतिक्रियावादीहरूले विभिन्न थरिका हमला गर्न थाले । गौरी लङ्केश चट्टान जस्तै दृढ भएर पेरुमल मुरुगनको पक्षमा खडा भइन् । यसपछि उनले एउटा संस्था खडा गरिन्, जो भाइचारा र सौहार्दता बढाउने संस्था थियोे । गौरी लङ्केशलाई ठाउँ ठाउँमा धम्कीहरू आउन थाले र उनी प्रतिक्रियावादीहरूको आँखाको काँडो बनाइन थालिन् तर उनले लेख्न र पढ्न छाडिनन् । गौरी लङ्केशलाई आफ्नो उद्देश्य र लक्ष्यप्रति यति प्रेम थियो कि उनलाई आफ्नो पत्रिकाको लागि कुनै विज्ञापन स्वीकार्य थिएन । उनको मान्यता थियो कि पत्रिकामा विज्ञापनहरू छापिन थालेपछि आफ्नो लक्ष्य र उद्देश्यमा सम्झौता गर्नुपर्ने हुन्छ । अत्यन्तै कष्टकर आर्थिक संकट झेल्नुपरे पनि उनले पत्रिकाको कामलाई निरन्तरता दिइरहिन् । ५ सितम्बर २०१७ अर्थात् आजभन्दा झन्डै ८ वर्ष पहिला गौरी लङ्केशको आफ्नै घर अगाडि हत्या भयो । उनको घर बैङ्ग्लोरको राजराजेश्वरी नगरमा थियो । पहिलादेखि नै तीन हतियारधारीले गौरी लङ्केशलाई मार्नको लागि पिछा गरिरहेका थिए । गौरी लङ्केश त्यतिबेला बजारबाट आफ्नो कारमा घरतर्फ आइरहेकी थिइन् ।

जब उनी आफ्नो घर अगाडिको आँगनमा गाडीबाट ओर्लिन्, हतियारधारीले उनीमाथि गोली प्रहार गरे । छातीमा दुई गोली र टाउकोमा एक गोली लाग्यो र उनले त्यहीँ नै प्राण त्याग गरिन् । हत्या हुनुभन्दा केही महिना पहिले उनले त्यहाँको गृह प्रशासनलाई आफूले असुरक्षित महसुस गरेको जानकारी दिएकी थिइन् । तर त्यहाँको सुरक्षा प्रशासनले उनको सुरक्षाको बारेमा चासो राखेन् । यो पहिलो घटना थिएन् । यसभन्दा पहिला पनि कम्युनिस्ट पार्टीप्रति झुकाव राख्ने कैयौँ प्रगतिशील पत्रकारहरूको त्यहाँ हत्या नभएको होइन् । भारतमा नक्सलवादी आन्दोलन र भाकपा (माओवादी)को नेतृत्वमा चलेको आन्दोलनलाई नैतिक समर्थन गरेबापत थुप्रै पत्रकारहरू मारिएका छन् । नेपालमा पनि यहाँको सरकारले कृष्ण सेन इच्छुकको पनि २०५८ साल जेठमा प्रहरी हिरासतमा ठूलोे यातना दिएर हत्या गरेको थियो ।

गौरी लङ्केशको हत्यापछि पूरै विश्वमा सनसनी फैलियो । कर्नाटक प्रदेश सरकारले घोषणा ग¥यो कि गौरी लङकेशको शवलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । गौरी लङ्केशको शवलाई रविन्द्र कला क्षेत्रमा राखियो, जहाँ हजारौँ मानिसले उनको अन्तिम दर्शन गरे । उनीमाथि फूलहरू चढाए । यसपछि पुलिसको एउटा टुकडीले हतियारसहित उनलाई सलामी दियो र अन्त्यमा गौरी लङ्केशको शवलाई अन्त्येष्टि गरियो । गौरी लङ्केश एक नास्तिक थिइन् । भौतिकवाद र प्रगतिशील विचारधाराको पक्षधर थिइन् । उनको अन्त्येष्टि धार्मिक रीतिरिवाजअनुसार गरिएन् । गौरी लङ्केशको हत्यारालाई गिरफ्तार गर्नको लागि कर्नाटक सरकारले पुरस्कारको घोषणा ग¥यो । यसपछि विशेष अनुसन्धान टीमको गठन गरियो । सरकारले गौरी लङ्केशको हत्याको दोषीहरू पत्ता लगाउन करिब डेढ वर्ष लगायो । अभियुक्तहरूलाई गिरफ्तार गरेर थुनामा राख्यो । उनीहरूलाई सजायको भागीदार बनाउनुको बदला उल्टै रिहा ग¥यो । र रिहाइपछि उनीहरूलाई थुनामुक्त गरेर माला लगाई सम्मान र स्वागत गरियो ।

प्रतिक्रियावादी सत्ताको आडमा जनतामाथि हुने हिंसा र दमनलाई उक्त सत्ताले संरक्षण गरेको हुन्छ । सत्ताको आडमा जसले जे गरेपनि हुन्छ । उसलाई विशेष छुटको व्यवस्था गरिएको हुन्छ । भारतमा गौरी लङ्केशभन्दा अगाडि समाज सुधार आन्दोलन अर्थात् अन्धविश्वासमुक्त आन्दोलनका अभियानकर्ताहरू डा.नरेन्द्र दाभोलकर, एमएम कल बुर्गी, गोविन्द पानसरे लगायतको धार्मिक अतिवादीहरूद्वारा केही समयको अन्तरालमा निर्मम हत्या गरिएको थियोे । गौरी लङकेशलाई भौतिकरूपले सधैँका लागि सिध्याए पनि उनको विचार जीवितै छ । भारत र विश्वका अन्य देशमा पत्रकार हुनु त गौरी लङकेश जस्तो हुनु भन्ने सन्देश छाडेर उनी बिदा भएकी छन् । उनको जुझारु, निडर र संघर्षशील चरित्रबाट पत्रकारिता जगत प्रभावित नभइरहन सक्दैन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार