सुर्खेत ।
कर्णाली प्रदेशमा विषादीयुक्त तरकारी तथा फलफूल आयात जारी छ । कर्णालीमा विषादीयुक्त तरकारी तथा फलफूलको निरन्तर आयात हुनु मानव स्वास्थ्यका दृष्टिले पनि गम्भीर चिन्ताको विषय हो । तरकारी तथा फलफूलमा भएको विषादीको असरले तत्काल र दीर्घकालीन दुवै किसिमका असर देखिन थालेका छन् । तर यसमा प्रदेश सरकार नै लापरवाही बन्दा आम नागरिकको स्वास्थ्य झन् जोखिममा पर्दै गएको छ ।
कर्णाली सरकारले प्रदेश भित्रिने र बाहिरिने तरकारी, फलफूल तथा मासुजन्य वस्तुहरूको विषादी परीक्षण गर्ने उद्देश्यले बनाएका भवन समेत हाल अलपत्र अवस्थामा छन् । प्रदेश सरकारले सल्यानको कपुरकोट र सुर्खेतको छिन्चुस्थित हर्रेमा बनाएका भवन प्रयोगमै नआइ अलपत्र परेका हुन । प्रविधि सहितको विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने योजनासहित भवन निर्माण भएका थिए । २०७७ सालमा कपुरकोट र हर्रेमा प्रयोगशाला भवन निर्माण भएपनि हालसम्म प्रयोगमा ल्याइएको छैन ।
प्रदेश सरकारले प्रयोगशाला भवन सञ्चालनमा ल्याउन नसक्दा भवनसहित सामाग्रीहरू अलपत्र परेका हुन् । प्रयोगशाला सञ्चालन नभएकै कारण विषादी परीक्षण गर्न नपाउँदा कपुरकोटमा उत्पादित तरकारीलाई ब्रान्डिङ गर्न सकिएको छैन । जसले यहाँका किसानलाई समस्या भएको छ । प्रदेश सरकारले एकैसाथ कपुरकोट र हर्रेमा तथ्यांक व्यवस्थापन प्रविधि राख्ने तयारी गरेको थियो । कपुरकोटमा दुई जना कर्मचारी समेत पठाइएको छ । तर ती कर्मचारी कामविहीन बनेका छन् ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयोगशालाका लागि करिब चार वर्षअघि ३५ लाख रूपैयाँमा उपकरण समेत खरिद गरेको थियो । तर उक्त उपकरणले तत्काल रिर्पोट दिन नसक्ने भन्दै एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा थन्क्याइएका छन् । मन्त्रालय र कृषि प्रयोगशलाले गत आर्थिक वर्ष २०८१–०८२ मा पुनः बजेट विनियोजन गरेर थप उपकरण खरिद गरेको थिए । तर ती उपकरण पनि प्रयोगशालामै थन्क्याइएका छन् । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले भवन निर्माण भएको लामो समय भएपनि प्रयोगमा नआउनु दुःखको कुरा भएको बताए ।
‘कपुरकोटमा विषादी परीक्षण गर्ने भनेर प्रयोगशाला भवन बन्यो तर हालसम्म सञ्चालनमा आउन सकेको छैन्,’ उनले भने, ‘प्रदेश सरकारले कर्मचारी पनि पठायो तर उपकरण नपठाउँदा समस्या छ । भवन सञ्चालनमा ल्याउनको लागि धेरै पहल गरियो तर प्रदेश सरकारले ध्यान दिएको छैन ।’ उनका अनुसार किसानलाई पनि विषादी प्रयोग गर्नुपर्छ भन्ने उचित ज्ञान छैन । प्रयोगशाला सञ्चालन हुनसके विषादी प्रयोगसम्बन्धी सचेतना पनि बढ्ने अपेक्षा गरिएको छ । बेमौसमी तरकारी उत्पादनमा प्रख्यात सल्यानको कपुरकोटबाट वार्षिक ५२ करोडभन्दा बढीको तरकारी बिक्री हुन्छ भने बाहिरबाट पनि तरकारी, फलफूल र खाद्यान्न जिल्लामा भित्रिन्छ ।
तर विषादी प्रयोगशाला सञ्चालनमा नआउँदा तरकारी तथा फलफूलमा विषादी मात्रा पुष्टि गर्न समस्या भएको पालिका अध्यक्ष पुन बताउँछन् ।कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाका अनुसार भवन निर्माण भएपनि आवश्यक बजेट तथा दक्ष जनशक्ति नहुँदा प्रयोगशाला सञ्चालनमा समस्या आएको छ । प्रयोगशाला प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले उपकरण खरिद भएपनि सञ्चान गर्ने जनशक्ति र बजेट अभाव समस्या रहेको जानकारी दिए । कार्यालयले मन्त्रालयसँग बजेट र जनशक्ति व्यवस्थापनका लागि आग्रह गरेकाले बजेट व्यवस्थापन हुनेबित्तिकै सञ्चालनमा आउने उनको भनाइ छ ।
यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखतबहादुर खड्काले प्रयोगशाला सञ्चालनका लागि उपकरण खरिद भएको जानकारी दिँदै चालू आर्थिक वर्षमा सञ्चालनमा आउने बताए । पहिलेको बजेट अपुग भएकाले मन्त्रालयबाट बजेट थप गरी ६० लाखमा टेण्डरमार्फत उपकरण खरिद गरिएको उनको भनाइ छ । तर लामो समयसम्म प्रयोगशाला सञ्चालनमा नआएपछि नागरिकस्तरबाट पनि आलोचना हुन थालेको छ भने कमिसनको स्वार्थमा उपकरण खरिद गर्ने तर प्रयोगशाला सञ्चालन ध्यान नदिएको आरोप छ ।









प्रतिक्रिया दिनुहोस्