नेपालगन्ज ।
बाँके प्रहरीले प्रहरीका वरिष्ठ सई र पूर्ववडाध्यक्षसहित १४ जनालाई जुवाखालबाटै पक्राउ गरेको छ । उनीहरूका साथबाट १३ लाख ६३ हजार आठ सय रूपैयाँ र जुवामा प्रयोग भएको ताससमेत बरामद भएको बाँके प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा प्रहरीका वरिष्ठ सई नेपालगन्ज उपमहानगरपालिका– १ धम्बोझीका ४५ वर्षीय रमेश शाही र नेपालगन्ज वडा नम्बर ४ का पूर्ववडाध्यक्ष मो. सफिक बेहनासमेत रहेका छन् ।
बाँके प्रहरी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले भने पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र उनीहरूको पृष्ठभूमि खुल्न बाँकी रहेको दाबी गरे । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक यामबहादुर बुढामगरको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका—२ बाईपास रोडमा रहेको मौरी रेष्टुरेन्टमा तलासी गर्ने क्रममा जुवा खेलाइरहेको भेटिएको थियो ।
पक्राउ पर्नेमा जुवा खेलाउने रेष्टुरेन्टका सञ्चालक नेपालगन्ज– २ न्यूरोडका २८ वर्षीय विज्ञान श्रेष्ठ, नेपालगन्ज– १२ मुक्तिपुरका ३६ वर्षीय गणेश बस्नेत, नेपालगन्ज– १६ जयसपुरका ४६ वर्षीय सेराज अन्सारी, नेपालगन्ज वडा नम्बर ९ त्रिभुवनचोकका २४ वर्षीय ऋषि गुप्ता, नेपालगन्ज– ४ बसपार्कका ५२ वर्षीय तरूण गौतम रहेका छन् ।
यसैगरी नेपालगन्जकै कोरियनपुरका ३७ वर्षीय विनोद खड्का, नेपालगन्ज– १८ कारकाँदोका ४७ वर्षीय संगम शाह, नेपालगन्ज– ४ का ५० वर्षीय मधुसुदन दाहाल र ४५ वर्षीय मेघराज गौतम पनि पक्राउ परेका छन् । यस्तै, कोहलपुर नगरपालिका ११ पिपलचौताराका ३८ वर्षीय भागिरथ यादव, कोहलपुर– ९ झण्डहवाका ४२ वर्षीय नन्दलाल यादव र कोहलपुर– २ का ४० वर्षीय सुमन केसी पनि पक्राउ परेका डिएसपी पातलीले जानकारी दिए । पक्राउ परेका सबैजसो नेपालगन्जमा प्रभाव राख्ने व्यक्तिहरू रहेका बताइएको छ ।
रेष्टुरेन्टको दोस्रो तल्लामा रहेको हल कोठामा जुवा खाल बनाएर खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ । जुवा खालबाट नगदसहित खेल्दै गरेको खोलेको २ गड्डी तास र नखोलेको ८ गड्डी तास बरामद गरेको डीएसपी पातलीले जानकारी दिए ।चाडपर्व र तिहार नजिकिएसँगै प्रहरीले जुवातासका गतिविधिहरू बढ्ने जोखिमलाई ध्यानमा राखेर प्रहरीले निगरानी बढाएको डीएसपी पातलीको भनाइ छ । आफ्नै सम्पत्तिलाई जुवातासमा उडाउने काममा कसैलाई नलाग्न उनले आग्रह पनि गरे । जुवातास खेल्ने खेलाउने काममा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी खटाइएको उनले बताए ।
जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराध मानेको छ । मुलुकी अपराध संहिताको दफा १२५ मा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ । दोस्रोपटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रोपटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेकपटक थप तीन महिनासम्म कैद र १० हजार रूपैयाँसम्म जरिवाना तिर्नु पर्ने व्यवस्था छ । यसैगरी जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ ।









प्रतिक्रिया दिनुहोस्