देउडीया डिल्लीराज पनेरूका अनुसार पहिलेका गीतहरू रसिला, भावपूर्ण र अर्थपूर्ण हुन्थे । ‘सुन्नेले आनन्द लिने, पछि–पछिसम्म सम्झिरहने गीत अहिले हराएका छन्,’ उनले भने । हालका गीतमा भाव र गहिराइ कम देखिन्छ, मनोरञ्जन त दिन्छन् तर स्थायी प्रभाव छोड्ने खालका नरहेको उनी बताउँछन् । उनका अनुसार गाउँवेसीमा गाइने तर अझै प्रकाशमा नआएका पुराना भाकाको खोजी गरी संकलन गर्न सके देउडाको मौलिकता जोगाउन सकिन्छ ।

कञ्चनपुर ।
सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको देउडा गीत र खेलमा पछिल्लो समय मौलिकपन हराउँदै गएको छ । देउडा संस्कृतिमा पुराना भाकाको नक्कल बढ्नु र समाजलाई अपाच्य हुने शब्द प्रयोग हुन थालेपछि यसको मौलिकता खस्किँदै गएको हो । वरिष्ठ देउडीया (देउडा सर्जक) अम्वादत्त जोशीका अनुसार पहिलेका देउडाका गीतमा साहित्य मिसिएको हुन्थ्यो । सुन्ने मात्र होइन समाजमा सकारात्मक सन्देश दिने खालका भाकाहरू गुञ्जिन्थे ।
‘सुखदुःखका कथाहरू, वीर वीरंगनाका गाथा, धार्मिक चिनारी र संस्कृतिको भाव भूमि बोकेको देउडा अहिले भड्किलोपनमा गएको छ,’ उनी भन्छन् । विशेषगरी गौराजस्ता महत्वपूर्ण पर्वका बेला देउडा खेल्नका लागि भेला हुने प्रचलन पुरानै रहेको उनी बताउँछन् । ‘वर्षौँसम्म नदेखिएका आफन्त र साथीहरू देउडा खलोमा भेटघाट गर्ने, भलाकुसारी गर्ने कार्यले त्यो बेला बेग्लै रौनक दिन्थ्यो, भाका–भाकामा मायाप्रेम मिसिने तर ती समाजलाई पच्ने खालका हुन्थे,’ जोशी भन्छन् ।
तर अहिलेको परिवेशमा युट्युब र सामाजिक सञ्जालका कारण देउडाका गीतहरूमा अश्लिल शब्द, अपाच्य वाक्यांश र मनोरञ्जन मात्र दिने खालका प्रस्तुति बढी देखिन थालेको उनको भनाइ छ । ‘यी गीतले एक पटक सुन्दा रमाइलो लाग्छ तर दीर्घकालीन प्रभाव राख्न सक्दैनन,’ उनले भने । देउडा खेलमा पुराना भाका तोडमोड गरेर बीचमा अश्लील शब्द राख्ने प्रवृत्ति मौलिक सम्पदा मास्ने मुख्य कारण भएको देउडाका जानकार शेरबहादुर भण्डारी बताउँछन् ।
पुराना सिर्जनामा आधारित भएर मात्रै नयाँ गीत नबनाई मौलिकपन कायम गर्ने खालका गीत आउनुपर्नेमा उनी जोड दिन्छन् । ‘समाजका चालचलन, रहनसहन, रीतिरिवाजलाई प्रतिबिम्बित गर्ने गरी नयाँ भाका सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘युट्युबमा भ्युज र पैसाका लागि अर्थविहीन देउडा गीत बनाउने क्रम बढ्दा मौलिक सिर्जनाको क्षय भइरहेको छ ।’ पुराना सर्जकहरूको योगदानलाई सम्मान गर्ने परिपाटीको विकास गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
युवा पुस्ताको रुचिअनुसार केही परिमार्जन हुनुपर्ने भए पनि पुराना भाकालाई बेवास्ता गर्नु गलत हुने उनको बुझाइ छ । ‘बजारमा आउन थालेका ¥याप र पपमा समेत सुदूरको भाका झल्किने गीतहरू राख्नुपर्छ तर रीतिरिवाज, चालचलन र संस्कृतिभित्र अटाउने कुराहरू सभ्य तरिकाले राखिनु पर्छ,’ उनी भन्छन् । देउडीया डिल्लीराज पनेरूका अनुसार पहिलेका गीतहरू रसिला, भावपूर्ण र अर्थपूर्ण हुन्थे । ‘सुन्नेले आनन्द लिने, पछि–पछिसम्म सम्झिरहने गीत अहिले हराएका छन्,’ उनले भने । हालका गीतमा भाव र गहिराइ कम देखिन्छ, मनोरञ्जन त दिन्छन् तर स्थायी प्रभाव छोड्ने खालका नरहेको उनी बताउँछन् ।
उनका अनुसार गाउँवेसीमा गाइने तर अझै प्रकाशमा नआएका पुराना भाकाको खोजी गरी संकलन गर्न सके देउडाको मौलिकता जोगाउन सकिन्छ । अहिले बजारमा भिडभाड बढाउने र हँसाउने खालका गीत बढे पुराना शैलीमा देउडा भेट्न कठिन भएको उनको अनुभव छ । ‘युवा पुस्ताले पुराना भाका मन नपराउँदा ती भाका ओझेलमा पर्न थालेका छन्,’ उनी भन्छन्, ‘त्यसैले मौलिकता जगेर्ना, नयाँ पुस्तालाई सिकाउने र देउडालाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नु आवश्यक छ ।’









प्रतिक्रिया दिनुहोस्