जिल्लाका स्थानीय तहहरूले क्षेत्र सीमाङ्कन पहिचानसहितको भू–उपयोग नक्सा उपलब्ध नगराएपछि नापी कार्यालय बाँकेले जग्गाको कित्ताकाट रोकेको छ । आठवटै पालिकाले हालसम्म पनि भू–उपयोग नक्सा उपलब्ध नगराएपछि नापी कार्यालय बाँकेले सूचना नै जारी गरेर जग्गाको कित्ताकाट रोकिएको जानकारी गराएको हो ।
कमल डाँगी । नेपालगन्ज ।
बाँकेका स्थानीय तहले क्षेत्र सीमाङ्कन पहिचानसहितको भू–उपयोग नक्सा उपलब्ध नगराएपछि नापी कार्यालय बाँकेले जग्गाको कित्ताकाट रोकेको छ । एक वर्षको म्याद सकिँदासमेत कानुनबमोजिम भू–उपयोग नक्सा उपलब्ध नगराएपछि कित्ताकाट रोकेको नापी कार्यालयका अधिकृत राजेन्द्र थापाले जानकारी दिए ।
भू–उपयोग नियमावली २०७९ को पहिलो संशोधन मिति २०८० साउन ३२ गते दफा ५ (७) बमोजिम सम्पूर्ण स्थानीय तहहरूले भू–उपयोग ऐन नियमबमोजिम एक वर्षभित्र भू–उपयोग क्षेत्र निर्धारण गर्ने भनिएको छ । चार किल्ला तोकी सोको भौगोलिक विवरणसहित उपलब्ध गराउने व्यवस्था भएको थियो । तर, बाँके जिल्ला अन्तर्गतका स्थानीय तहहरूबाट हालसम्म भू–उपयोग नक्सासहितको विवरण तयार गरी उपलब्ध नगराएकाले कित्ताकाट गर्न नसकिएको थापाले जानकारी दिए ।
भू–उपयोगको नक्सालाई आधार मान्दै स्थानीय सरकारले उत्पादन बढाउन, बस्ती उत्पादन, औद्योगिक क्षेत्र विस्तार, क्षेत्र खण्डन गरी अघि बढ्न सकिने सम्भावना औल्याउँदै यसको कार्यान्वयन गर्नुपर्नेमा पालिकाले अटेरी गरेका छन् । भू–उपयोगको माध्यमबाट आर्थिक, सामाजिक, सांस्कृतिक तथ्याङ्क संकलन गरी बनाइएको हुँदा नक्सालाई बहुउपयोग गर्न सकिनेछ ।
नक्सामा भू–उपयोग नीतिको आवश्यकता, जमिनको वर्गीकरण पक्षहरू, हालसम्मको जमिनको अवस्था, प्राविधिक पक्ष र स्थानीय तहको आवश्यकतासमेत समेट्नुपर्ने बताइएको छ ।
जनसङ्ख्या वृद्धि र अव्यवस्थित सहरीकरणले एकातिर सीमित प्राकृतिक स्रोत–साधनको अतिक्रमण तथा अर्कातिर पर्यावरणीय परिवर्तनका कारण बाढी, पहिरोलगायतका विपद्का जोखिम बढिरहेको अवस्थामा भूमि र भूमि स्रोतको समुचित उपयोग गरी दिगो सामाजिक आर्थिक तथा वातावरणीय विकास र समृद्धि हासिल गर्ने दीर्घकालीन दृष्टिकोणसहित तत्कालीन भूमि सुधार तथा व्यवस्था मन्त्रालयबाट भू–उपयोग नीति तर्जुमा भएको हो ।
सोही नीति अनुसार तयार भएका भू–उपयोग नक्सा डाटालगायतका सामग्री हस्तान्तरणपश्चात स्थानीय तहको विकासे आयोजना तर्जुमा तथा योजना तयार गर्नका लागि आधार हुनुका साथै भू–उपयोग नीति कार्यान्वयनका लागि वातावरण तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
तर, पनि बाँकेका पालिकाले यो बनाउन अटेरी गरेका छन् । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले खजुराले अरू सबै काम सम्पन्न गरिसकेको र अब भू–उपयोग नक्सा हस्तान्तरण गर्न बाँकी रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्