कोहलपुर (बाँके) ।
लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गाडीले निजी सवारीसाधनलाई ठक्कर दिएको छ । शनिबार बेलुका अन्दाजी ५ बजेर ५ मिनेटतिर बाँकेको कोहलपुर नगरपालिका– ११ स्थित पुरानो बसपार्क नजिकैको सडकमै मुख्यमन्त्री कार्यालयको लु१झ ४६५ नम्बरको गाडीले निजी सवारीसाधनलाई ठक्कर दिएको हो ।
गाडीको ठक्करबाट मानवीय क्षति भने भएको छैन् । भे१च ४२४७ नम्बरको अर्को निजी गाडीमा भने क्षति पुगेको छ । ठक्कर दिने मुख्यमन्त्री कार्यालयको गाडीको अगाडी पट्टी र अर्को गाडीको पछाडी पट्टीको भागमा क्षति पुगेको छ । सवारी दुर्घटनापछि उक्त क्षेत्रमा केहीबेर तनावग्रस्त भएको थियो । लगत्तै सुरक्षाकर्मी पुगेर स्थिति नियन्त्रणमा लिएका थिए । दुर्घटनास्थलमा भेटिएका स्थानीय अर्जुन शाहले गलत दिशाबाट आइरहेको सरकारी गाडीले निजी सवारीसाधनलाई ठक्कर दिएको बताए । उनले भने, ‘सरकारी गाडीले ठोकेको छ । गलत दिशाबाट आएको छ । बायाँबाट आउनुपर्नेमा दायाँ पट्टीबाट आएको छ । क्रस हुन लागेको गाडीलाई हानेको हो ।’
स्थानीय शाहले शनिबारको दिन सरकारी गाडीले ठक्कर दिएको र सोधीखोजी गर्दा पास लिएरै चलाएको पाइएको बताएका छन् । उनको दाबी अनुसार ठक्कर दिने गाडीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव इश्वरराज पौडेलसमेत सवार थिए । ‘सरकारी गाडीले निजी गाडीलाई ठक्कर दियो । सचिवले उल्टै हामीलाई दुव्यर्वहार गर्नुभयो । म सचिव हुँ डराउँदिन भन्ने जस्तो कुरा गर्नुभयो उहाँले,’ शाहले भने ।
दुर्घटनास्थलमा भेटिएका अर्का स्थानीयले भने, ‘शनिबारको दिन सरकारी गाडीले ठक्कर दिएको छ । स्थानीय भएकोभए कारबाही हुन्थ्यो । सरकारी कर्मचारीलाई सुरक्षित तरिकाले लगियो ।’ यस विषयमा मिसन टुडे दैनिकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव बाबुराम अधिकारीलाई सम्पर्क ग¥यो । प्रमुख सचिव अधिकारीले दुर्घटनाबारे अनभिज्ञता प्रकट गरे ।
उनलाई ‘लु१झ ४६५ नम्बरको गाडी हजुरकै कार्यालयको हो ? इश्वरराज पौडेल कार्यालयको सचिव हुनुहुन्छ ?’ भन्ने मिसन टुडेको प्रश्नमा गाडी नम्बर आफ्नै कार्यालयको रहेको र पौडेल पनि कार्यालयमै सचिव रहेको बताए । ‘म कामको सिलसिलामा पाल्पा छु । दुर्घटनाको विषयमा जानकारी छैन । के भएको रहेछ म बुझ्छु है,’ उनले भने । सचिव पौडेललाई पटकपटक सम्पर्क गर्दा फोन उठेन ।
यता, दुर्घटनास्थलबाट दुवै गाडीलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले जनाएको छ । कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक मिलन सिंहका अनुसार सरकारी गाडी र निजी गाडी ठोक्किएका हुन् । मानवीय क्षति नभएको र दुवै गाडीमा भने क्षति पुगेको उनले बताए । सरकारी गाडी पूर्वबाट पश्चिम र निजी गाडी उत्तरबाट दक्षिणतर्फ गइरहेको थिए ।
उक्त समयमा सरकारी गाडीले ठक्कर दिएको हो । दुवै गाडी नियन्त्रणमा लिएर के कति कारणले दुर्घटना भएको हो ? भन्ने विषयमा बुझ्ने काम भइरहेको सिंहले बताए । दुर्घटनाको कारण यकिन गर्न सीसीटिभी क्यामराबाट चेक गरिरहेको उनको भनाइ छ । दुर्घटनाका कारण उक्त क्षेत्रमा केही समय सवारी आवागमन नै रोकिएको थियो ।









प्रतिक्रिया दिनुहोस्