कैलाली ।
कैलाली जिल्ला कारागारमा शुक्रबार राति कैदीबन्दीहरूबीच झडप भएको छ । सो झगडामा एक जनाको मृत्यु भएको छ भने कम्तिमा पनि ४६ जना कैदीबन्दी घाइते भएका छन् ।
घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । मृतकको शव अस्पतालको शव गृहमा राखिएको छ । उनको पहिचान भने प्रहरीले गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार झडपको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
शुक्रबार बिहान मात्र कारागारभित्र झडप भएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल लगायतका सुरक्षा अधिकारी पुगेर मिलाएका थिए । यतीबेला कैलाली कारागार र सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार









प्रतिक्रिया दिनुहोस्