थोमसलाई घरमा आमाले पढाउँछिन् । थोमसले मेहनतका साथ स्वअध्ययन गर्छन् । उनले विज्ञानसम्बन्धी विभिन्न प्रकारका किताबहरू अध्ययन गर्छन् र नयाँ चिजको खोज र अनुसन्धानमा लाग्छन् । आमाले उनलाई गणित र विज्ञान पढाउँछिन् । थोमसको विज्ञान र गणितप्रतिको रुचि तीव्र देखिन्छ । उनले क्रमशः थुप्रै आविष्कारहरू गर्छन् । एक हजार तीन सयभन्दा बढीमा पेटेन्ट गराइसकेका उनले मानवजगतलाई उज्यालो बनाउने बल्ब जस्तो महत्वपूर्ण आविष्कार गर्न उनी सफल हुन्छन् । यो सफलता उनलाई एकै रातमा प्राप्त भएको होइन । यो त हजारौँ असफलताहरूका बाबजुद उनको निरन्तरताको धैर्यता र संयमताको परिणाम हो ।

चिन्तामणि घिमिरे
एउटा यस्तो महान वैज्ञानिक, जसले औपचारिक रूपमा जीवनमा केवल तीन महिनामात्र स्कुले शिक्षा प्राप्त गर्ने अवसर प्राप्त गरेका थिए । त्यो तीन महिना पनि अपमानजनकपूर्ण तरिकाले बिताउनु परेको थियो । शिक्षकको गाली र टोकसो सुन्नुपरेको थियो । त्यस्तै साथीभाइको खिसिट्युरी पनि सहनु परेको थियो । शिक्षकले भनेको कुरामा जाँचबुझ नगरिकन हत्तपत्त विश्वास गरिहाल्ने बानी उनको थिएन । उनी धेरै बोल्दैनथे । चाहिने कुरा मात्र गर्दथे । उनलाई सस्तो लोकप्रियता र प्रचारबाजी मन पर्दैनथ्यो । एकदिन चार वर्षको एउटा बालक निराश हुँदै स्कुलबाट घर फर्किए । उनको गोजीमा शिक्षकले एउटा पत्र राखिदिएका थिए । उनले त्यो पत्र आमालाई दिए । आमाले हत्तपत्त पत्र खोलेर हेर्छिन् र मनमनै पढ्छिन् । पत्र पढ्दैगर्दा आमाको अनुहार क्रोधले रातो भयो र साथै आँखाबाट आँसु झरे ।
बालकले आमाको अनुहारमा हेर्छन् र उनले आमाको आँखामा आँसु देख्छन् र आमालाई सोध्छन् आमा तिमी किन रोएको ? चिट्ठीमा के लेखेको छ र तिमी रोयौ । आमाले चिट्ठीमा लेखिएको भन्दा फरक र ठिक उल्टो कुरा पढेर छोरालाई सुनाउँछिन् ‘तपाईँको छोरा एकदमै जेहेन्दार र तीक्ष्ण बुद्धिका छन् । तपाईँको छोरालाई पढाउन सक्ने क्षमता हाम्रा स्कुलका शिक्षकहरूसँग छैन् । भोलिदेखि छोरालाई स्कुल नपठाउनु र घरमै राखेर पढाउनु ।’ आमाको कुरा सुनेर थोमस अत्यन्तै खुसी हुन्छन् । घरमा बसेर पढ्न पाइने कुराले उनमा खुसीको सीमा नै रहन्न । तर चिट्ठीमा अर्कै लेखिएको थियोे । चिट्ठीमा लेखिएको थियोे कि ‘तपाईँको छोरा निकै सुस्त र मन्द बुद्धिका छन् । उनले कुनै हालतमा पढ्न सक्दैनन् । हामीले उनलाई स्कुलबाट निकाल्ने निर्णय गरेका छौँ । भोलिदेखी उनलाई स्कुल नपठाउनु होला ।
भोलिपल्ट बालककी आमा स्कुल पुगेर छोराको पक्षमा बोल्दै भनिन्– सरहरू, तपाईँहरूले सोचेजस्तो मेरो छोरो सुस्त र मन्दबुद्धिको छैन् । उसले सिक्न सक्छ भन्नेमा मलाई पूर्णविश्वास छ । त्यसैले सक्नुहुन्छ भने उसलाई स्कुलबाट ननिकालिदिनुहोस् । तर आफूलाई लागेको विषयमा निर्णय लिन तपाईँहरू पूर्णतः स्वतन्त्र हुनुहुन्छ । तपाईँहरूले निकालिदिनुभयो भने पनि उसलाई म आफैँ पढाउने छु । उनको कुरा सुनिसकेपछि पनि स्कुलले ती बालकलाई पढाउन नसक्ने निर्णय सुनायो । स्कुलले छोरालाई निकाले पनि आमा विचलित भइनन् । उनले घरमै छोरालाई पढाउन थालिन् । अन्ततः सुस्त र मन्द बुद्धिको भनी स्कुलबाट निकालिएका ती बालकले पढाइमा प्रगति गर्दै गए । स्कुलबाट निकालिएपछि उनी स्कुल त गएनन् तर स्वाध्ययनबाटैे प्रशस्त ज्ञान हासिल गरे र आफूलाई इतिहासकै अब्बल वैज्ञानिकका रूपमा स्थापित गर्न सफल भए । ती बालक अरु कोही नभई चर्चित वैज्ञानिक थोमस अल्वा एडिसन थिए । जसले जीवनमा केवल तीन महिनामात्र पोर्ट हरनको पब्लिक स्कुलमा औपचारिक शिक्षा लिने मौका पाएका थिए । स्वाध्यायनद्वारा ज्ञानोपार्जन गरे । छ वर्षको उमेरदेखि नै विज्ञानप्रतिको रुझान बढदै गयो ।
थोमसलाई घरमा आमाले पढाउँछिन् । थोमसले मेहनतका साथ स्वअध्ययन गर्छन् । उनले विज्ञानसम्बन्धी विभिन्न प्रकारका किताबहरू अध्ययन गर्छन् र नयाँ चिजको खोज र अनुसन्धानमा लाग्छन् । आमाले उनलाई गणित र विज्ञान पढाउँछिन् । थोमसको विज्ञान र गणितप्रतिको रुचि तीव्र देखिन्छ । उनले क्रमशः थुप्रै आविष्कारहरू गर्छन् । एक हजार तीन सयभन्दा बढीमा पेटेन्ट गराइसकेका उनले मानवजगतलाई उज्यालो बनाउने बल्ब जस्तो महत्वपूर्ण आविष्कार गर्न उनी सफल हुन्छन् । यो सफलता उनलाई एकै रातमा प्राप्त भएको होइन । यो त हजारौँ असफलताहरूका बाबजुद उनको निरन्तरताको धैर्यता र संयमताको परिणाम हो । आफ्नी आमाको मृत्यु भएको केही समयपछि एक दिन उनको आँखा आमाको कोठामा रहेको बाकसमाथि जान्छ । उनले बाकसमा के रहेछ भनेर जिज्ञासापूर्वक बाकस खोल्छन् र उनले बाकसमा स्कुलले उनकी आमालाई दिनु भनेर उनीसँग पठाएको पत्र फेला पारे । के रहेछ भनेर खोली हेर्छन् र पढ्छन् अनि उनी अचम्म पर्छन् । उनका आँखाबाट आँसु झर्छन् । उनी रुँदै भन्छन् कि एउटी आमाको आफ्नो सन्तानप्रतिको यत्रो त्याग । आमाले त्याग नगरेको भए म यो ठाउँमा हुने थिएन होला । आमाले छोराको भविष्यको लागि स्कुलले पठाएको चिट्ठी जस्ताको तस्तै नपढेर ठिक त्यसको उल्टो पढ्नुभयो ।
जसले मलाई अगाडि बढन हौसला र प्रेरणा मिल्यो । आमाले सही बोलिदिएको भए मेरो स्थिति के हुन्थो होला । अहिले म त्यो कुराको कल्पना गर्न पनि सक्दैन । थोमस एल्वा एडिसन इतिहासमा सबैभन्दा धेरै आविष्कार गर्ने व्यक्तिहरू मध्येमा एक थिए, जसको नाममा १३०० भन्दा धेरै पेटेण्ट थिए । तर उनको सफलताको यात्रा सजिलो थिएन । थोमस अल्वा एडिसनको जन्म ११ फरवरी १८४७ मा अमेरिकाको ओहायोको मध्य पश्चिमी राज्यमा एक गरिब परिवारमा भएको थियो । उनका बाबु डच थिए भने आमा स्कटिस मुलकी थिइन् । बाबुआमाले बच्चालाई अत्यन्तै माया गर्दथे । बच्चाले कहिलेकाहीँ कुनै अपराध वा गल्ती गरेमा बच्चालाई सजाय दिँदैनथे । उनलाई पिट्न बन्द थियो । यसको पनि कारण थियो।
कारण के थियो ?
कारण यो थियो कि बच्चा मोटो र ठूलोे टाउको र शरीर अलि नमिलेको देखेर गाउँको डाक्टरले बडो अफसोचका साथ भनेका थिए कि यस्तो बेढंगको खोपडी भएको लड्का आठ–दस वर्षको उमेरमै पागल हुनेछ । उनले भने – यस बच्चालाई पढाउने लेखाउनेको कुरा सोच्नु बेकार छ । गाउँका शिक्षकले त एडिसनलाई पढाउनदेखि इन्कार गरिदिएका थिए । एडिसन बचपनमा न त बुद्धिमान मानिन्थे, न सुन्दर । उनको बेढंगको मोटो नाक र अजिब ढंगको टाउको देखेर केटाहरूले प्रायः उनको मजाक उडाउने गर्दथे । स्कुलका मास्टरले उनलाई भोदु सम्झन्थे । मातापिता पनि यो सोचेर दुःखी हुन्थे कि उनको भविष्य कस्तो हुनेछ भनेर । उनीहरूले उनलाई स्कुल पठाउन पनि डराउँथे । उनलाई केही पो भइहाल्छ कि भनेर । एडिसनले जम्माजम्मी तीन महिनामात्र स्कुल पढ्न पाए । तीन महिनामै स्कुलले उनलाई बिदा दियो । त्यसपछि आमाले नै उनलाई आफैँ पढाउन थालिन् । आमाले सदैव उनलाई आफ्नो निगरानीमा राख्ने गर्थिन् ।
एडिसनका पूर्वज युरोपको हल्यान्ड देशबाट अमेरिका आएका थिए । यहाँ आएपछि पनि उनीहरू कुनै एक स्थानमा जमेर बसेनन् । उनीहरू सुविधाको खोजीमा थिए । जहाँ उनीहरूलाई असुविधा महसुस हुन्थ्यो, त्यसलाई छाडेर उनीहरू नयाँ स्थानतर्फ लाग्थे । यसप्रकार एडिसनका हजुरबुबा जिजु हजुरबुबा उत्तरी अमेरिकाको कैयौँ प्रदेशहरूमा बसे । यिनीहरू अत्यन्तै बलिया र निरोगी थिए र प्रायः सबै लामो उमेरसम्म बाँचे । राम्रो स्वास्थ्य र दीर्घ उमेर एडिसनलाई आफ्नो पूर्वजबाट विरासतमा मिलेको थियो । एडिसनको पूर्वजहरूमा उच्च दर्जाको चरित्रबल र कामप्रतिको लगन थियो । उनीहरूमा सैनिकहरूमा जस्तो साहस थियोे र अमेरिकाको स्वाधीनता संग्राममा उनीहरूले कप्तानको पदमा रहेर काम गरेका थिए । ती दिनहरूमा रेलगाडी र मोटरगाडी थिएनन् । यसकारण उनीहरूलाई लामो–लामो यात्रा गर्न र कष्ट सहने अभ्यास थियो । एडिसनले पनि हरेक प्रकारको कष्टको ठूलोे साहसको साथ सामना गरेका थिए ।
एडिसनका पिता सेम्युएलले मिलन नगरमा काठ चिर्ने एक कारखाना खोलेका थिए । कारखानाको कारणले सेम्युएललाई स्थायी रुपले उतै बस्नु प¥यो । त्यही एक पादरीको छोरी इलियटसँग उनले विवाह गरे । इलियटको पूरा नाम थियो ः नानसी इलियट । इलियट धेरै सुन्दर युवती थिइन् । उनको ज्ञान पनि धेरै माथिल्लो स्तरको थियो । उनलाई पिताले धेरै राम्रो शिक्षा दिएका थिए । उनी वियनाको एक स्कुलमा अध्यापिका थिइन् । सेम्युएल र इलियटका जम्मा तीन बच्चा थिए । दुई छोरा र एक छोरी । एडिसन माइला थिए । एडिसनको दाइको नाम विलियम पिट र सानी बहिनीको नाम टेनी थियो । विलियम पिटलाई बाल्यकालदेखि नै चित्रकार बन्ने धुन सवार थियो । तर पछि गएर उनी चित्रकार नभएर पोर्ट हरनमा रैलवे म्यानेजर बने । बहिनी एक राम्रो लेखिकाको रूपमा प्रसिद्ध भइन् । एडिसनलाई वास्तवमा अत्यन्तै समझदार र ममतामयी आमा मिलेकी थिइन् । उनले बच्चालाई न त कहिल्यै दण्ड दिन्थिन् न उनीसँग बेखुसी भइन् । उल्टै उनी यो सोँच्थिन कि मेरो छोरो धेरै ठूलोे मान्छे बन्नेछ, यश कमाउने छ र मेरो कोखलाई धन्य गर्नेछ । आमाको लगातार मेहनत र मायाले बिस्तारै बिस्तारै एडिसनलाई पढ्नमा मन लाग्न थाल्यो । थोरै समयपछि त उनी साँच्चिकै पागल भए ।
के पागल ? कस्तो पागल ?
हो, उनी पागल भए, पढाइमा पागल भए । उनलाई पढाइमा यतिबिघ्न रुचि जाग्यो कि उनको दिमागमा पढाइभन्दा अरु कुराको ठाउँ रहेन् । गाउँको डाक्टरले पनि यिनलाई केही वर्षपछि पागल हुन्छ भनेका थिए । तर परिणाम उल्टो भयो । उनको पागलपन कुनै उन्मादको दिशामा नभएर ज्ञानको खोजको दिशामा अरु अगाडी बढिरहेको थियो । यहाँ जीवनको पासा पल्टियो । उनको गाउँका केटाहरू पनि उनको अध्ययनप्रतिको रुचि र लगाव देखेर छक्क परेका थिए र कतिपय त हैरान थिए कि मूर्खजस्ता लाग्ने एडिसन कसरी यस्तो भए । कुन चीजले यिनमा यस्तो परिवर्तन ल्यायो ? उनीहरू अचम्म परेका थिए । एडिसनलाई खिसीट्युरी गर्ने र मजाकमा उडाउनेहरूलाई उनले व्यवहारद्वारा गतिलो झापड दिएका थिए ।
अब रह्यो गुरुजीको पालो । गुरुजी यानेकि गाउँका एकजना मास्टर, जसले एडिसनलाई पढाउन अस्वीकार गरेका थिए । ती गुरु निकै आत्तिएका थिए । उनलाई चिन्ता थियो कि कतै एडिसन भविष्यमा गाउँको मास्टर बनेर आउने त होइनन् भनेर शंकाले उनलाई जलाइरहेकोे थियो । एडिसनलाई केही समयपछि पागल हुनेछ भनेर भविष्यवाणी गर्ने डाक्टर पनि उनको अध्ययनप्रतिको लगनशीलता देखेर बेचैनी थिए । मातापिता पनि छोराको मेहनत देखेर अचम्मित थिए । जिज्ञासाले मानिसलाई वैज्ञानिक अनुसन्धानतिर धकेल्छ र वैज्ञानिक बन्ने मार्गतिर डो¥याउछ । एडिसनले हरेक नयाँ कुरालाई उत्सुकतापूर्वक नियाल्ने गर्दथे । उनीमा हरेक नयाँ कुराको खोज र अनुसन्धानप्रति तीव्र रुचि र भोक थियो । बालक एडिसनले अचम्मका र अनौठा कुराहरू गर्ने गर्दथे । उनका कुराहरू सुनेर मानिसहरू हास्ने गर्दथे । हासो पनि किन नआवस् र ? कुनै ढंग नभएको केटाको बेढंगी चाल देखेर कसलाई पो हासो आउँदैन र ?
कहिलेकाहीँ सडकमा भिड हुँदा एडिसन हलचल नगरिकन भिडलाई घन्टौँसम्म हेरिरहन्थे । कहिलेकाहीँ कुनै चरा करायो भनेपनि एडिसन चराको लय सुन्नको लागि कान थापेर बस्थे । कहिले नहरको छेउमा जान्थे र त्यही घन्टौँ खडा रहन्थे । नहरमा बगिरहेको पानीलाई हेरिरहेका हुन्थे । फेरि एउटा सानो ढुङ्गा उठाउँथे र त्यसलाई पानीमा फालेर हेर्थे । के हेर्थे भने पानीमा कसरी तरंगहरू उठ्छन् ? नहरमा तरिरहेको डुङ्गालाई पनि घण्टौँसम्म उभिएर हेरिरन्थे । घरमा पनि एडिसनले आमालाई अचम्म अचम्मका अनौठा प्रश्नहरू सोधेर प्रश्नको थुप्रो लगाइदिन्थे ।
आमाले एडिसनमा एक विशेषता देखेकी थिइन् । विशेषता यो देखेकी थिइन् कि देखेको या सुनेको कुरा एडिसनलाई धेरै लामो समयसम्म याद रहन्थ्यो । कुन चराले कस्तो स्वरमा तान सुनायो, मल्लाहले कुनकुन गीत गाए, भिडमा लडाइँ झगडाको समय कसले के भन्यो यी सबै उनलाई अत्यन्तै यादमा रहिरहन्थे । बाल्यकालदेखि नै एडिसन स्वावलम्बी बने । रेलगाडीमा गएर अखबार बेचे ।
फलफूल र तरकारी पनि बेच्दै हिँडे । विज्ञानको प्रयोगशाला पनि बनाए । पत्रिका छपाइ गर्ने मेसिन किने र रेलभित्रै छापाखाना चलाए र पत्रिका निकाले । पत्रिकाको नाम थियोे वीकली हेराल्ड । पत्रिका दिनहुुँ चारसय प्रति बिक्री हुन्थ्यो । उनी एउटा किशोर पत्रकार बनेका थिए । पत्रिकाको कम्पोजिटर, प्रुफरिडर, सम्वाददाता, सम्पादक र प्रकाशक एडिसन नै थिए । यो विश्वको पहिलो अखबार थियो जो चल्ती रेलमा प्रकाशित हुन्थ्यो । एडिसनको यस प्रयासबाट प्रसन्न भएर लन्डनको प्रसिद्ध पत्रिका ‘टाइम्स’ले यस समाचारलाई प्रकाशित गरेर एडिसनको कार्यको सराहना ग¥यो । कुरा सन् १८६२ को हो । डेट्रायटदेखि पोर्ट हरन (मिशिगन अमेरिका)सम्म जाने गरेको रेलमा एकाएक आगो लाग्यो । रेल रोकियो । कन्डक्टर आयो र त्यस डब्बाका सबै सामान फ्याँक्न लाग्यो । सामान थियो– सागसब्जीको टोकरी, किताब, टेस्टट्युब, बोतल, बिजुलीको तार, पत्रिकाको बन्डल, छपाइ गर्ने सानो मेसिन आदि । यी चीजहरूका साथ रेलमा हिँड्ने बालकलाई तल उतारेर कन्डक्टरले जोडसँग थप्पड लगायो ‘तँलाइ रेलमा बस्न दिएको त तैले रेललाई जलाइदिइस् ।’ कन्डक्टरको थप्पडले ती बालकको कानको जाली फुट्यो र कानको श्रव्यशक्ति गुम्यो । उनी कान नसुन्ने बहिरा भए ।
यो बच्चा थोमस अल्वा एडिसन थियो र त्यस समय उसको उमेर थियोे करिब पन्ध्र वर्ष । बाल्यकालदेखि नै अललाई वैज्ञानिक प्रयोग गर्नमा रुचि उत्पन्न हुन्थ्यो । तर सामान किन्ने पैसा कहाँबाट ल्याउने ? यसै समस्याको समाधानको लागि उनले रेलमा पत्रिका बेच्न सुरु गरे । खाली समयमा गाडी रोकिएको बेलामा उनी डेट्रायटको सार्वजनिक पुस्तकालयमा गएर विज्ञानका पुस्तकहरू पढथे र रेलको डब्बामा वैज्ञानिक प्रयोग पनि गर्थे । सब्जी त उनले बेच्थे नै । एकदिन भुलवस फसफोरसको टुक्रा रेलको डब्बाभित्र खसेर डब्बामा आगो लाग्यो । एकदिन एडिसनले आफ्नी आमासँग ‘एडेल्ड ब्वाय तथा नट नर्मल ब्वाय’को अर्थ सोधे । आमाले अर्थ बताइदिइन् कि एडेल्ड ब्वाय यस्तो केटालाई भनिन्छ जो सन्की, पागल या झोक्की (रिसाहा झोडी) छ र नट नर्मलको अर्थ हो असामान्य । तर आमा यो सुनेर दङ्ग परिन् कि यो शब्द एडिसनको अध्यापकले स्कुलमा निरीक्षकको अगाडि अलको लागि प्रयोग गर्दथे । उनले तुरुन्तै स्कुल गएर अध्यापकलाई झपार्दै भने ‘एकदिन सारा दुनियाँले जान्ने छ कि अल के हो, तर तपाईँलाई कसैले पनि चिन्नेछैन् ।’
जुन दिनबाट अलको स्कुल छुट्यो उनले कूल तीन महिना मात्रै पोर्ट हरनको पब्लिक स्कुलमा पढे, जीवनभर आफैँमा ज्ञान प्राप्त गर्दै रहे । रेलमा आगो लागेपछि उनको सम्पूर्ण कार्यक्रम ठप्प भयो । तर उनले हार मानेका थिएनन् । त्यसै समयमा एक आकस्मिक घटना घटयो, जसले एडिसनको जीवनको दिशालाई नै बदलिदियो । एकाबिहानै एडिसन पहिलेकै रेलवे स्टेशनमा काँधमा अखबारको बन्डल बोकी उभिरहेका थिए । रेलको लिकमा एउटा बच्चा खेलिरहेको देखे । तलबाट रेल आइरहेको थियो । एडिसनले आफ्नो ज्यानको पनि पर्वाह नगरी रेलको लिकमा रहेको त्यो बच्चालाई रेलगाडीको दुर्घटनाबाट बचाए । उक्त बच्चा रेल्वे स्टेशनको स्टेशन मास्टरको छोरा रहेछ । कृतज्ञ भएर स्टेशन मास्टरले उनीसँग भने ‘म तपाईँको उपकारको ऋणबाट कसरी मुक्त हुन सक्छु ? एडिसनले केही समय सोचिरहे ।
पÞmेरि उनले तार पठाउने तरिका सिक्ने इच्छा व्यक्त गरे । केही दिनमा नै स्टेशन मास्टरले एडिसनलाई तार पठाउने कलामा प्रवीण गराइदिए । त्यसैको कारण एडिसनलाई कुनै स्टेशनमा ‘टेलीग्राफ अपरेटर’को जागिर मिल्यो तर केही दिनपछि एडिसनको स्वयंको लापरबाहीको कारण त्यो जागिर पनि गयो । एडिसनले आफ्नो जीवनमा कैयौँ उतारचढाव देखे र भोगे पनि । उनी एक असाधारण परिश्रमी युवक थिए । हार मान्न त उनले सिकेकै थिएनन् । उनी आफ्नो लगन र निष्ठाबाट सफलताको सिँढीहरू चढ्दै गए । आखिर उनको जीवनमा त्यो क्षण पनि आयो जब सारा दुनियाँ एडिसनलाई चिन्न थाल्यो । आमाको आशीर्वाद र भविष्यवाणी सत्य सावित भयो । उनले सम्पूर्ण विश्वलाई आफ्नो आविष्कारबाट चकित पारिदिए । उनको यो आविष्कार थियो–विश्वलाई उज्यालो दिने बिजुलीको बल्ब । एडिसनको प्रथम विवाह न्युयोर्कमा रहँदा आफ्नै प्रयोगशालामा सहायकको रूपमा काम गर्ने मेरी स्टिलबेलसँग भएको थियो । मेरीबाट तीन बच्चाहरू जन्मेका थिए । तर उनी सन् १८८४ मा मरिन् र दुई वर्षपछि लगत्तै एडिसनले मिना मिलर नाम गरेकी केटीसँग दोस्रो विवाह गरे ।
एडिसनले आफ्नो जीवनमा बल्ब बनाउनको लागि एक हजारभन्दा बढी पटक कोशिश गरे । दुई हजारभन्दा धेरै अलगअलग सामानहरू प्रयोग गरे । उनले दुई वर्षसम्म ती सामानहरू प्रयोग गर्दै रहे तैपनि उनलाई सफलता मिलेन् । तर पनि उनले हार मानेनन् फेरी पनि आफ्नो अनुसन्धानको कार्यलाई रोकेनन् र जारी राखे । सन् १८८० मा विश्वलाई उज्यालो दिने बल्बको आविष्कार गरेरै छाडे । एडिसनले बल्बको आविष्कारपछि भनेका थिए ‘म जिन्दगीमा असफल भएन किनकि मैले त बल्बको आविष्कार गर्ने तरिकाहरू खोजिरहेको थिए जसका क्रममा एक हजारभन्दा बढी पटक कोशिश गरिरहेको थिए र यस्तो एउटा तरिका खोजिरहेको थिए जसको परिणामस्वरूप मैले बल्बको आविष्कार गर्न सफल भए । ती एक हजार तरिकाले काम नगरेपनि मैले अरु तरिका अपनाएर बल्बको आविष्कार गरेको थिए । हजारौँ पटकको असफलता तपाईँको हार होइन, बरु सफलतालाई अगाडि लैजाने सिँढी हो ।’
बिजुलीको बल्ब मात्र हैन, एडिसनले ग्रामोफोन, वोट रेकर्डर, टेलिग्राफ सिग्नल, चलचित्र क्यामेरा, रेल्वे सिग्नल प्रणाली, कार्बन ट्रान्समिटर आदि जस्ता २५०० आविष्कारहरूले विश्वलाई समृद्ध बनाएर मानवताको हित गरे । यति धेरै आविष्कारहरूको पेटेन्टको श्रेय कुनै अन्य वैज्ञानिकलाई छैन् । जीवनको अन्तिम क्षणसम्म उनी मानवताको सेवामा लागिरहे । एडिसनको जीवन कथाले हामीलाई दृढता र निश्चयको महत्व सिकाउँछ । उनले हजारौँ असफलताहरूको बाबजुद हार मानेनन् । यसको बदला उनले प्रत्येक असफलताबाट सिके र आफ्नो आगामी प्रयासमा सुधार गरे।
एडिसनको कथाले हामीलाई प्रेरित गर्दछ कि ः
– कोशिश गरिरहनुस्, चुनौतीहरू र असफलताहरूको बाबजुद हार नमान्नुस् ।
– असफलताबाट सिक्नुस् । असफलताहरूलाई सिक्ने र सुधार गर्ने अवसरको रूपमा उपयोग गर्नुस् ।
– निश्चयी रहनुस् । अगाडी बढिरहनुस् र तपाईँ अन्ततः आफ्नो लक्ष्यलाई प्राप्त गर्नु हुनेछ ।
– एडिसनको विरासत मानिसहरूलाई आफ्नो उदेश्यलाई अगाडि बढाउन र आफ्नो सपनामाथि कहिल्यै हार नमान्नको लागि प्रेरित गर्दछ ।
सन् १९३१, १८ अक्टोबरमा ८४ वर्षको उमेरमा अमेरिकाको न्युजर्सीमा महान आविस्कारक थोमस अल्वा एडिसनको मृत्यु भयो । उनलाई मृत्युको तीन दिनपछि २१ अक्टोबरको दिन न्युजर्सीको वेस्ट ओरेजस्थित उनको घर नजिक गाडियो । एडिसनको सम्मानमा २१ अक्टोबर १९३१ मा अमेरिका र क्यानाडाभर एक मिनेटका निम्ति सबै बत्तीहरू निभाइएका थिए ।
‘मेरी आमा मेरो उन्नतिको कारण हुनुहुन्थ्यो । मैले ठिक त्यसै समय संकल्प गरे कि मैले उनलाई निराश पार्नेछैन् । उनको मप्रति कति सच्चा भावना थियोे, कति धेरै विश्वास थियो । मैले अनुभव गरेँ कि कुनै यस्तो व्यक्ति छ, जसको लागि मलाई जीवित रहनु छ । उनको स्मृति मेरो लागि आजीवन सतत आशिर्वाद समान थियोे ।’ – थोमस अल्वा एडिसन ।









प्रतिक्रिया दिनुहोस्