सल्यान ।
जिल्लाबाट कर्णाली प्रदेश राजधानी सुर्खेत तथा लुुम्बिनी प्रदेशको दाङ जिल्ला जोड्ने लुहाम काभ्रा कालीमाटी सडक पहिरोका कारण अवरुद्ध भएको छ । कालीमाटी गाउँपालिका–१ को दलपुरे भन्ने स्थानमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । उक्त स्थानमा पटक–पटक पहिरो जाने गरेको वडाध्यक्ष रविलाल बस्नेतले जानकारी दिए । उनका अनुसार आइतबार बिहानैदेखि सडक पूर्णरूपमा बन्द छ ।
पहिरो स्थलमा पुुगेका उनले सुक्खा पहिरो झरिरहने गरेको बताए । सडक माथिबाट ठूलो ढुङ्गा खस्ने जोखिम पनि उस्तै रहेको उनको भनाइ छ। उनका अनुसार यो सडक खुलाउन तीन–चार दिन लाग्ने देखिन्छ । काभ्रा–कालीमाटी सडकमा आवतजावत गर्न निकै जोखिमपूर्ण देखिएपछि निर्माणका लागि सम्बन्धित कार्यालय र पालिका तथा सुरक्षाका लागि प्रहरीलाई समेत जानकारी गराइएको छ ।
सल्यानको त्रिवेणी गाउँपालिकास्थित लुहामबाट कर्णाली प्रदेश राजधानी सुर्खेत तथा लुुम्बिनी प्रदेशको दाङ जिल्ला आउजाउ गर्नका लागि यो सडकबाट छोटो दूरी पर्छ । तर काभ्रादेखि कालिमाटी सडक खण्ड निकै जीर्ण छ भने पर्याप्त बजेट र तीन वटै तहका सरकारको कम प्राथमिकताका कारण समयमै सडक स्तरवृद्धि हुन सेकेको छैन । जसले गर्दा जिल्लावासी यो सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।









प्रतिक्रिया दिनुहोस्