राप्ती सोनारीद्वारा सुरक्षित प्रसूतिका लागि विगतका वर्षदेखि सुरु गर्दै आएको ‘शून्य होम डेलिभरी’ अभियानमा सफलता हासिल राप्ती सोनारीले शुलभ स्वास्थ्य सेवालाई प्रमुख प्राथमिकता दिएको छ । सोहीअनुसार स्वास्थ्य सेवामा विकेन्द्रीकृतको नीति अवलम्बन गरिएको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि विगतका वर्षदेखि सुरु गर्दै आएको ‘शून्य होम डेलिभरी’ अभियानमा सफलता हासिल गरेको छ । पालिकामा पछिल्ला तीन वर्षमा २ हजारभन्दा बढी महिलाहरू स्वास्थ्य संस्थामा चेकजाँच गरी सुत्केरी भएका छन् । आर्थिक वर्ष २०७९–०८० देखि २०८१–०८२ सम्म राप्ती सोनारीमा कूल २ हजार १४ जना महिलाहरू स्वास्थ्य संस्थामै सुत्केरी भएका हुन् ।
राप्ती सोनारी गाउँपालिकाअन्तर्गत स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७९–०८० मा कूल ७७१ जनाले प्रसूति सेवा लिएर स्वास्थ्य संस्थामै सुत्केरी भएका थिए । २०८०–०८१ मा ६८३ जना र २०८१–०८२ मा ५६० जना स्वास्थ्य संस्थाबाट सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख देवबहादुर केसीले जानकारी दिए । आर्थिक वर्ष २०७९–०८० मा वडा नम्बर १ का ७८ जना, २ का ४९ जना, ४ का ४५१ जना गर्भवतीहरूले नियमित चेकजाँच गरी स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएको उनले बताए । वडा नम्बर ५ स्थित स्वास्थ्य संस्थाबाट ८० जना, ७ मा ३३८ जना र ९ मा ७५ जना गर्भवती महिलाले सुत्केरी सेवा लिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।
२०८०–०८१ मा वडा नम्बर वडा १ मा ७२ जना, २ मा ३८ जना, ४ मा १२२ र वडा नम्बर ५ मा ६३ जनाले सेवा लिएका थिए । यस्तै वडा नम्बर ६ (गाउँपालिकाको पहलमा नयाँ स्वास्थ्य चौकी स्थापना गरिएको)मा २६ जना, वडा नम्बर ७ मा ३०४ र ९ मा ५८ जनाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ । यसैगरी आर्थिक वर्ष २०८१–०८२ मा कूल ५६० जना गर्भवतीहरूले स्वास्थ्य संस्थामै सुत्केरी सेवा लिएको शाखाले जनाएको छ । तीमध्ये वडा नम्बर १ मा ५१ जना, वडा नम्बर २ मा २५ जना, वडा नम्बर ४ मा ११३ जना र वडा नम्बर ५ मा ५५ जनाले सेवा लिएका थिए भने वडा नम्बर ६ मा ५८ जना, वडा नम्बर ७ मा २०९ जना, वडा नम्बर ८ (गाउँपालिकाको पहलमा स्थापना गरिएको नयाँ स्वास्थ्य चौकी)बाट ८ जना र वडा नम्बर ९ मा ४१ जनाले सेवा लिएको शाखा प्रमुख केसी बताए ।
आर्थिक वर्ष २०७९–०८० मा राप्ती सोनारीमा ६ वटा स्वास्थ्य संस्था थिए । आर्थिक वर्ष २०८१–०८२ सम्म आइपुग्दा स्वास्थ्य चौकीको रूपमा ८ वटा पुगेको छ । अब वडा नम्बर ३ मा स्वास्थ्य चौकी स्थापना हुन बाँकी रहेको स्वास्थ्य शाखाले जनाएको छ । राप्ती सोनारीमा हाल ५ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।
यस्ता छन् स्वास्थ्य सेवामा हासिल भएका प्रगति
आर्थिक वर्ष २०८१–०८२ मा गाउँपालिकाले थुप्रै प्रगति हासिल गरेको छ । तीमध्ये स्वास्थ्य सेवा आधारित थुपै्र राम्रा काम सम्पन्न गरिएको गाउँपालिकाअन्तर्गत स्वास्थ्य शाखाले जनाएको छ । राप्ती सोनारी आधारभूत अस्पताल बैजापुर बाँकेमा फार्मेसी सेवा सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरी सञ्चाल गरिएको छ ।
एचआइभीविरुद्धको खोप अभियान २०८१ सम्पन्न ३१८५ जना किशोरीहरूलाई खोप प्रदान गरिएको छ । गाउँपालिकाभरीका ११२५ जनाको रगत, पिसाब तथा विएआई जाँच कार्यक्रम सम्पन्न गरिएको छ । बीमा रकम भुक्तानी गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूहहरूलाई झोला तथा टिनको बाकस खरिद प्रकिया अगाडी बढाइएको छ ।
गाउँपालिकाको वडा नम्बर ६ र ७ मा छाला रोग स्वास्थ्य शिविर सञ्चालन गरी ५ जना कुष्ठरोगी पत्ता लगाई उपचार प्रक्रियामा रहेको छ । २९६ जना बिरामीहरूको निःशुल्क आँखाको अप्रेसन सम्पन्न गरिएको छ । नाक, कान, घाँटी तथा दन्तरोग परीक्षणसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सबै वडामा सम्पन्न गरी करिब १५०० जनालाई सेवा प्रदान गरिएको छ । हालसम्म २ जना व्यक्तिहरू सिकलसेल रोगी पत्ता लगाइएको छ ।
वडा नम्बर ४ को गुर्दनगौडीमा वैशाख २१ गते फैलिएको झाडापखाला चिकित्सकसहितको टोली परिचालन गरी नियन्त्रण गरिएको थियो ।
वैशाख महिनामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरिएको थियो । यस गाउँपालिकाको वडा नम्बर ४, ७ र ८ वडामा मानसिक रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरी ९२ जना रोगीहरूलाई उपचारको दायरामा ल्याइएको छ । यस गाउँपालिकाको सबै वडाहरूमा ज्येष्ठ नागरिकहरूसँग अध्यक्ष विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न हुने प्रकियामा रहेको छ ।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार गाउँपालिकाले स्वास्थ्य शिक्षालाई प्राथमिकता दिएको छ । स्वास्थ्य सेवाको विस्तारका लागि संरचना निर्माण र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको उनको भनाइ छ । ‘महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहित गरिएको छ । निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । गाउँपालिकाभरीका सुत्केरी महिलालाई निःशुल्क सेवा प्रदान गरिएको छ,’ अध्यक्ष पौडेलले भने । चालू आर्थिक वर्षभित्रै वडा नम्बर ३ मा समेत वर्थिङ सेन्टरसहित स्वास्थ्य चौकी सञ्चालन गरिने योजना रहेको उनले सुनाए ।
राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिसासिंह थारू गाउँपालिकाले ग्रामीण क्षेत्रको स्वास्थ्य विकासलाई प्राथमिकता दिइएको बताउँछिन् । गाउँपालिकाले ती क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि काम गर्दै आएको उनले बताइन् । ग्रामीण क्षेत्रमा शुलभ स्वास्थ्य सेवा हाम्रो मुख्य प्राथमिकता रहेको उपाध्यक्ष थारूको भनाइ छ । उनले भनिन्, ‘उपाध्यक्ष कार्यक्रममार्फत स्वास्थ्य सेवाको विस्तारका लागि धेरै काम भएका छन् । सुत्केरी महिलालाई सुरक्षित सेवा प्रदान गरिएको छ । उनीहरूलाई निःशुल्क एम्बलेन्स सेवा प्रदान गरिएको छ ।
महिलाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागि शिविर सञ्चालन गरिएको छ ।’ पाठेघर शिविर, आँखा कान दाँत शिविर सञ्चालन नसर्ने रोग पहिचान सम्बन्धी शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले विगतको भन्दा अहिले राप्ती सोनारीमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएको बताए । उनका अनुसार स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिकाले संस्थागत सुधारलाई प्राथमिकता दिएको छ । सोहीअनुसार नीति तथा कार्यक्रम र बजेटमा समेत स्वास्थ्य क्षेत्रलाई बढी समेट्ने गरेको उनले बताए ।
कसरी सम्भव भयो ‘शून्य होम डेलीभरी’ ?
राप्ती सोनारी गाउँपालिकाले शुलभ स्वास्थ्य सेवालाई प्रमुख प्राथमिकता दिएको छ । सोहीअनुसार स्वास्थ्य सेवामा विकेन्द्रीकृतको नीति अवलम्बन गरिएको छ । तुलनात्मक रूपमा भौगोलिक र स्वास्थ्य सेवा पहुँचका दृष्टिले दुर्गम मानिएका वडा नम्बर १ र ४ मा समेत स्वास्थ्य सेवाको पहुँच पुगेको छ । वडा नम्बर ४ मा सामुदायिक स्वास्थ्य इकाई नै स्थापना गरेर पारामेडिक्सको नेतृत्वमा २४सै घण्टा सेवा दिने गरेको स्वास्थ्य शाखाले जनाएको छ । वडा नम्बर ४ मा मौसमी बसाइँसराइको समस्या रहेको स्वास्थ्य शाखाका प्रमुख केसीको भनाइ छ । वडा नम्बर ४ का गुर्दनगौडी, खयरभट्टी, सुनभट्टी लगायतका बस्तीलाई मध्यनजर गरेर सेवा गरिरहेको उनले बताए ।
वडा नम्बर १ को जनसङ्ख्या ६ हजार छ । तर त्यहाँ मुस्किलले ३ हजार जनसङ्ख्या मात्रै नियमित बसोबास गर्छन् । सो वडामा ल्याब सेवा सुरु गरिएको छ । त्यहाँपनि मौसमी बसाइँसराइको समस्या छ । स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको छ । समयमै औषधिको व्यवस्थापन गरिएको छ । वडा नम्बर ६ मा रहेको स्वास्थ्य संस्थामा ल्याब सेवा सुरु भएको छ । ६ र ८ मा बर्थिङ सेन्टर निर्माण गरिएको छ । ७ र ८ मा ल्याब सेवा विस्तार भएको छ । वडा नम्बर ३ मा यसै वर्ष स्वास्थ्य चौकी स्थापनाको नीति गाउँपालिकाले लिएको छ । चालू आर्थिक वर्षभित्रै १५ शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । जहाँ मेडिकल अफिसरको दरबन्दी रहनेछ । एक्सरे सेवा, ल्याब सेवा र अल्ट्रासाउण्डको समेत सुविधा हुनेछ ।
गाउँपालिकाभर ११० आमा समूह क्रियाशील छन् । त्यहाँ हरेक महिना गर्भ जाँच, खोप सेवा, पोषणसम्बन्धी छलफल हुने गरेको छ । त्यसको लागि गाउँघर क्लिनिक सञ्चालन हुँदै आएको छ । सुत्केरी महिलालाई १३ प्रकारका रगत जाँच सेवा निःशुल्क गरिएको छ । गर्भ जाँच सेवा अनलाइन प्रणालीमार्फत हुँदै आएको छ । गाउँपालिकामा ५ वटा एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । एउटा रेडक्रसले सञ्चालन गरेको छ । उक्त सेवाका लागि गाउँपालिकाले समेत साझेदारी गरेको छ । सुत्केरी स्वास्थ्य संस्था जाँदा र फर्किँदा निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्