बजेट सुनिश्चित नहुँदै डीपीआरमा ५२ लाख खर्च



दैलेख ।

जिल्लाका स्थानीय तहले बजेट सुनिश्चित नहुँदै आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर)मा लाखौँ रकम खर्च गर्ने गरेका छन् । सार्वजनिक खरिद ऐन, २०६४ मा सार्वजनिक निकायमा उपलब्ध जनशक्तिबाट काम हुन नसक्ने भएको खण्डमा कुनै व्यक्ति, फर्म वा कम्पनीबाट परामर्शदाता सेवा लिन सक्ने प्रावधान छ । तर सो व्यवस्थालाई मिच्दै आफन्तलाई काम दिने निहुँमा बजेट सुनिश्चित नहुदै डीपीआरमा लाखौँ खर्च गर्ने गरिएको छ ।

जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिकाले गत आर्थिक वर्षमा नगरपालिकाका ६ वटा आयोजनाको डीपीआर निर्माण गर्न ५२ लाख पाँच हजार रकम खर्च गरेको हो । महालेखाको प्रतिवेदनमा उल्लेख गरिएअनुसार पादुका र रामाघाटखोलाको आइइई गर्न आइफिल इन्जिनियरिङ कन्सल्टेन्सीलाई चार लाख ५७ हजार र चामुण्डादेवीको मन्दिरमा धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्न पादुका इन्जिनियरिङ सोलुसनलाई नौ लाख ९२ हजार डीपीआरका लागि भुक्तानी गरिएको हो ।

यस्तै, बिन्द्रासैनीखाट काल्चेकाँधको डिपिआर गर्न एक्सिस इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सर्भिसेजलाई चार लाख ९७ हजार, बडाल बुडेली चाल्ने सिमसेर सडकको पीसीआर इन्जिनियरिङ कन्सल्टिङ प्रालिलाई सात लाख ९६ हजार, चामुण्डा बिन्द्रासैनी जम्बुकाँध मजुवा खानेपानी आयोजनाका लागि प्रिकसा कन्सल्टेन्सी प्रालिलाई १४ लाख ८९ हजार र भण्डारी लेप्टे सडकको डीपीआर गर्न ड्रिम हावस इन्जिनियरिङ प्रा.लि.लाई नौ लाख ७३ हजार भुक्तानी गरिएको छ ।

नगरपालिकाले त्यति ठुलो रकम खर्च गरेर परामर्शदाताले निर्माण गरेका आइइई र डीपीआरमध्ये चामुण्डा बिन्द्रासैनी जम्बुकाँध मजुवा खानेपानी योजनाबाहेक अन्य कुनैपनि योजना कार्यान्वयन भएका छैनन् । त्यस्तै नारायण नगरपालिकाले गत आवमा पाँच वटा आयोजनाको डीपीआर तयार गर्न पाँच लाखका दरले २५ लाख रकम स्वीकृत गरी खर्च गरेको छ । यो नगरपालिकाले त्रिवेणीमा १५ शय्या नगर अस्पताल निर्माणको डीपीआर गर्न पी इन्जिनियरिङ आर एन्ड कन्सल्टेन्सी कन्स्ट्रक्सन, लोहोरे बिजौरा फुलबारी लिफ्टिङ आयोजना ६ र ७ को डीपीआर गर्न हाइ भिजन इन्जिनियरिङ प्रालि र भिरमौरादेखि लुक्षेकाँडा हुँदै तौलिया देवलकाँडा सडक सर्भेक्षण कार्यका लागि काइरभ इन्जिनियरिङ कन्सल्टेन्सीलाई भुक्तानी दिइएको हो ।

वडा नं. १० भवानीको वडा कार्यालय तौलियासम्मको सडक स्तरोन्नति कार्यका लागि नेपाल इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट एसोसिएट्स र खौला राजीगाउँ पिपलडाँडा सडक स्तरोन्नति कार्यका लागी पञ्चकोशी इन्जिनियरिङ कन्सल्टेन्सीलाई डीपीआर निर्माण गर्न रकम दिइएको थियो । नारायण नगरपालिकाका इन्जिनियर हिक्मत रोकायाले पाँच वटा आयोजनाको डीपीआर तयार गरेपनि दुई वटा आयोजनामा मात्र बजेट आएर खर्च भएको बताए ।

वडा नं. १० को वडा कार्यालयदेखि तौलिहवा सडकको स्तरोन्नति कार्य र खौला राजीगाउँ पिपलडाँडा सडक स्तरोन्नति कार्यमा बजेट खर्च भएको उनले जानकारी दिए । जिल्लाका अधिकांश स्थानीय तहले बजेटको सुनिश्चित नहुँदै डीपीआर निर्माण गर्ने गरेका छन् । आफूनजिक र आफन्तलाई काम दिने नाममा बजेटको स्रोत सुनिश्चित नहुँदै डीपीआरको योजना निर्माण गर्ने गरेको पाइएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीले योजनाका लागि बजेट माग्न जाँदा त्यसको डीपीआर र आइइई गरेको रिपोर्ट माग्ने गरेका कारण स्थानीय सरकारले डिपिआर तयार गर्ने गरेको बताए ।

नगरपालिकाले डीपीआर निर्माणका लागि बजेट खर्च गरेपनि सम्बन्धित निकायले बजेट नहाल्दा समस्या रहेको उनको जिकिर छ । यता, नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले विभिन्न निकायमा बजेट माग गर्दा आयोजनाको विस्तृत प्रतिवेदन माग गर्ने परम्पराका कारण स्थानीय तहले निर्माण गर्ने गरेको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार