विज्ञानका दोस्रो सहिद जोयोर्दानो ब्रुनो



परम्परागत रूपमा चलिआएको सत्तासीन विचारधाराका विरुद्ध लडाइँ लड्न त्यति सजिलो हुँदैन् । किनकि त्यो परम्परागत सत्तासीन विचारधारा सशस्त्र फौजको आडमा टिकेको हुन्छ । त्यो राज्यसत्ताको पहरेदार बनेको हुन्छ । त्यो सत्तासीन विचारधाराले समाजमा नराम्रोसँग जरा गाडेको हुन्छ । समाजका आम मानिसहरूमा त्यसको गहिरो प्रभाव परेको हुन्छ । आम मानिसहरू सयौँ वर्षदेखि त्यो पुरानो विचारधाराबाट प्रभावित मात्र होइन प्रशिक्षित पनि भएका हुन्छन् । आमरूपमा सुरुमा मानिसहरूले नयाँ विचारलाई बुझ्न सक्दैनन् ।

चिन्तामणि घिमिरे ।

कोपरनिकसको मृत्युको पाँच वर्षको अवधि पूरा भएपछि यी वैज्ञानिकको जन्म भएको थियो । यिनी अध्ययनशील र साहसी व्यक्ति थिए । यिनले खगोल विज्ञानमा साहसका साथ जनस्तरसम्म ल्याएका विचारहरू दुई वटा छन् । पहिलो, कोपरनिकसको सूर्यकेन्द्रित ब्रह्माण्डको सिद्धान्त हो भने अर्को अनन्त ब्रह्माण्ड एवं असंख्य विश्वहरूको सिद्धान्त । महान इटालेली चिन्तक जियोर्दानो ब्रुनो साँच्चिकै वीर र विज्ञानका उत्कट पक्षधर थिए । किशोरावस्थामा उनका मातापिताले उनलाई एक मठमा पठाइदिए । तर ब्रुनोलाई बाल्यकालदेखि नै ज्ञानको गहन पिपासा थियो र उनी आफूलाई ध्यान–उपासनामा भन्दा बढी विज्ञानको अध्ययनमा निमग्न राख्थे ।

आजभन्दा ४२४ वर्ष पहिले १७ फरवरी सन् १६०० मा आफ्नो विश्वासको लागि बलिदान हुने महान वैज्ञानिक जियोर्दानो ब्रुनोलाई रोममा प्राणदण्ड दिइएको थियोे । जियोर्दानो ब्रुनो १६औँ शताब्दीका प्रसिद्ध इटालियन दार्शनिक, खगोलशास्त्री, गणितज्ञ र कवि थिए । उनले खगोलवैज्ञानिक निकोलस कोपरनिकसको विचारलाई समर्थन गरेका थिए । कोपरनिकसको मान्यता थियो कि ‘ब्रह्माण्डको केन्द्र पृथ्वी होइन सूर्य हो ।’
त्यस समयसम्म चर्चद्वारा यी कुराहरू प्रचार गरिएका थिए कि ‘ब्रह्माण्डको केन्द्रमा पृथ्वी छ, पृथ्वीको केन्द्रमा रोम छ, रोमको केन्द्रमा चर्च छ र चर्चको केन्द्रमा पादरी छ ।’ यस प्रकारको प्रचारले चर्च र शासक दुवैलाई फाइदा पु¥याउँथ्यो ।

कोपरनिकसको विचारलाई समर्थन गर्दै भने ‘आकाश केवल यत्ति मात्र छैन जति हामीले देख्छौँ । यो अनन्त छ र यसमा असंख्य विश्व छ ।’ यसको अलावा ब्रुनो यो मान्दथे कि हरेक ताराको आफ्नो परिवार हुन्छ । जस्तो कि सौर्य परिवार हो । सूर्यजस्तै हरेक तारा आफ्नो परिवारको केन्द्र हुन्छ । साथै यस ब्रह्माण्डमा अनगिन्ती ब्रह्माण्ड छन् । ब्रह्माण्ड अनन्त र अथाह छ । ब्रुनोको मत थियो कि ‘धर्ती मात्र होइन सूर्य पनि आफ्नो अक्षमा घुम्छ ।’ ब्रुनोको यो विचारले बाइबल, चर्च र शासकलाई चुनौती दिन्थ्यो र जनतालाई वैज्ञानिक चेतनाको लाइनमा खडा गर्दथ्यो । यसकारण चर्चद्वारा यो विचार र ब्रुनोको विरोध अनिवार्य थियोे ।

जियोर्दानो ब्रुनो अत्यन्तै निर्भीक र क्रान्तिकारी विचार भएका व्यक्ति थिए । चर्चका पादरीहरूको विरोधले पनि उनलाई डराउन सकेन । ब्रुनो जीवनभर चर्चको कठोर यातना सहँदै एक देशबाट अर्को देशमा भौँतारिरहेका हुन्थे । उनले आफ्नो जीवनकालको लगभग आठ वर्ष जेलमा बिताए तर उनले कहिल्यै पनि हिम्मत हारेनन् । उनलाई नहारेको देखेर १७ फरवरी सन् १६०० मा धर्मको ठेकेदारहरू (तत्कालीन पोप र चर्चका पादरीहरू)ले खुलेआम रोमको एउटा चौराहामा ठुलो भीडका बीच ब्रुनोलाई खम्बामा बाधेर जिउँदै जलाउने सजाय सुनाइयो । पोप र पादरीहरूको आदेशको पालना भयो । ब्रुनो खतम भए ।

ब्रुनोले हाँस्दै हाँस्दै आगोमा जल्न स्वीकार गरे । तर उनी आफ्नो तथ्य र निष्कर्षमा अडिग रहे । उनको अनुहारमा डर या पश्चातापको कुनै संकेत नै थिएन । उनलाई पूर्णविश्वास थियो कि एक न एक दिन यस्तो अवस्था आउनेछ, जब पूरै दुनियाँ उनको खोजलाई सत्य मान्नेछ । ब्रुनोको जीवनकालमा यो तथ्यलाई मानिसहरूले बुझेनन् र उनको कडा विरोध भयो । तर उनको निर्मम हत्याको केही समयपछि ग्यालिलियो, केप्लर र उनीहरू पछिका वैज्ञानिकहरूले कोपरनिकस र ब्रुनोको सिद्धान्तको अध्ययनको आधारमा आफ्नो खोजलाई जारी राखे । धर्मका ठेकेदारहरूको तमाम दावीहरूको बाबजुद आखिरमा ब्रुनोका कैयौँ कुराहरू पछि सही सावित भए ।

परम्परागत रूपमा चलिआएको सत्तासीन विचारधाराका विरुद्ध लडाइँ लड्न त्यति सजिलो हुँदैन् । किनकि त्यो परम्परागत सत्तासीन विचारधारा सशस्त्र फौजको आडमा टिकेको हुन्छ । त्यो राज्यसत्ताको पहरेदार बनेको हुन्छ । त्यो सत्तासीन विचारधाराले समाजमा नराम्रोसँग जरा गाडेको हुन्छ । समाजका आम मानिसहरूमा त्यसको गहिरो प्रभाव परेको हुन्छ । आम मानिसहरू सयौँ वर्षदेखि त्यो पुरानो विचारधाराबाट प्रभावित मात्र होइन प्रशिक्षित पनि भएका हुन्छन् । आमरूपमा सुरुमा मानिसहरूले नयाँ विचारलाई बुझ्न सक्दैनन् । प्रायजसो त त्यो नयाँ विचारसँग त्रसित हुन्छन् । किनकि त्यो नयाँ विचार तत्कालीन सत्ताको विरुद्ध रहेको हुन्छ । सत्ताबाट प्रताडित हुने डर ले मानिसहरू शुरुवातमा त्यो नयाँ विचारका पक्षधरहरूसँग सम्पर्कमा आउन चाहँदैनन् । जब विचारले जनमानसमा प्रभाव पार्न थाल्छ, विस्तारै मानिसहरूमा आकर्षण बढदै जान्छ ।

राज्यसत्ताले त्यो दृश्य हेरेर बसिरहेको हुन्छ । उसले आफ्नो स्वार्थको विरुद्धमा आउनेहरूलाई हर प्रकारले दमन गर्दछ । सत्ताले दुई तरिका अपनाएर नयाँ विचारलाई सिध्याउन चाहन्छ । एक, नयाँ विचारका पक्षधरमाथि चर्को भौतिक दमन गरेर र दोस्रो क्रान्तिकारीहरूलाई फकाएर, लोभ देखाएर वा किनेर उनीहरूको आदर्श र विचारबाट स्खलन गाराएर । आत्मसमर्पण गर्न नचाहनेहरूलाई भौतिक रूपमा सफाया गर्ने चलन प्राचीनकालदेखि अहिलेसम्म चलिरहेको छ । ब्रुनोले आत्मसमर्पण गर्न नमान्दा क्रुर सत्ताको सिकार बन्नु प¥यो । जब कसैले पनि प्रचलित धाराका विरुद्ध अगाडि जान खोज्छ उसको के हालत हुन्छ भन्ने कुरा विज्ञानको नयाँ खोजमा लागेका वैज्ञानिकहरूको जीवनी पढ्दा थाहा हुन्छ। परम्परागत रूपमा चलिआएको विचारधाराको विरुद्ध सत्यको खोजमा उभिनेहरूले कस्तो अपमानित जीवन व्यतीत गर्नुपर्ने मात्र होइन जिउँदै जलाइएको उदाहरण पनि छन । सत्य स्थापित हुन केही समय लाग्छ नै तर सत्य सत्य नै हो । एकदिन सत्यको जित भएरै छाड्छ ।

निकोलस कोपरनिकसको सूर्यकेन्द्रित सिद्धान्तको पक्षमा प्रचारप्रसार गरेवापत यी वैज्ञानिकलाई ज्युँदै जलाइएको थियो । ती थिए जियोर्दार्नो ब्रुनो । आधुनिक विज्ञानलाई स्थापित गर्नका लागि जुन व्यक्तिहरूले सुरुवाती दिनहरूमा सबैभन्दा बढी बलिदानी दिए र विज्ञानप्रति अटुट निष्ठाका साथ अन्तिमसम्म आफ्नो विचारमा डटिरहे, तिनीहरूमा जियोर्दार्नो ब्रुनोको नाम सबैभन्दा पहिला आउँछ । ब्रुनोले चर्चसँग ठुलो युद्ध लडे । ब्रुनोले त्यही युद्धमा घुडा नटेकेका कारण भरभराउदो आगोको खलियोमा (लप्कोमा) जिउँदै पोलिनुपरेको थियोे । उनको सहादतले समकालीन विज्ञानीहरूलाई झस्काइदिएको थियो । ब्रुनोकालमा वैज्ञानिक लडाइँ त्यति प्रभावकारी थिएन कमजोर थियो । ब्रुनोको सहादतले वैज्ञानिक अनुसन्धानको कामलाई रोक्न सकेन बरु अनुसन्धान निरन्तर अगाडि बढीरह्यो र धर्मले विज्ञानलाई दबाउन सकेन ।

धर्म विज्ञानका अगाडि नालायक सावित भयो । आजको विश्व विज्ञानमय हुँदै गइरहेको छ । विज्ञानले द्रुतगतिमा फडके मारिरहँदा पनि धर्मप्रति आस्था र विश्वास राख्नेहरूको सङ्ख्यामा कमी आउनुको सट्टा झनझन वृद्धि हुँदै गइरहेको देखिन्छ । मुखले भौतिकवादी र वैज्ञानिक चिन्तन दृष्टिकोणका कुरा गर्ने र व्यवहारमा अध्यात्मवादलाई सिरानी हालेर सुत्नेहरूको सङ्ख्या पनि कमी छैन । समाजमा सत्य बोल्ने र सत्यको वकालत गर्नेहरूको सङ्ख्या अत्यन्त कम हुन्छ । प्रायः मान्छेहरूले सजिलो जीवन जिउन चाहन्छन्, राज्यबाट कुनै पनि प्रकारको धरपकड पनि हुनु नपर्ने, बसीबसी आरामको जीवन बिताउन पाइयोस्, सुख सुविधाको उपभोग पनि मज्जाले गर्न पाइयोस्, कुनै क्षति बेहोर्न नपरोस् आमरूपमा समाजमा यस्तो सोँचाइहरूको बाहुल्यता देखिन्छ ।

सत्य असाध्यै गहिराइमा गडेको हुन्छ । त्यसलाई हामी जतिसम्म खोतल्न सक्छौँ, त्यति मात्र प्राप्त गर्छौँ । विज्ञान सत्यको नजिक हुन्छ जुन व्यवहारद्वारा पुष्टि र प्रमाणित भइसकेको हुन्छ । विज्ञानले धार्मिक पाखण्डका जीर्ण पर्दाहरू च्यातिरहेको छ । असत्य पनि असाध्यै बलियो हुँदोरहेछ, असत्यलाई पछार्न सत्यलाई धौ–धौ पर्दोरहेछ । अहिले पनि विश्वका सम्पूर्ण इसाईहरू पृथ्वी अटल छ भनी एकोहोरो रटान गर्दैछन् । बाइबलको एउटा अक्षर पनि हेरफेर भएको छैन् र हुने सम्भावना पनि छैन । विज्ञान कै कारण नयाँनयाँ प्रविधिहरूको विकास भएको छ ।
जिओर्दार्नो ब्रुनोको जन्म सन् १५४८ मा इटलीको एउटा सानो नगर नोलामा भएको थियो । उनी बालकैमा टुहुरा भएका थिए ।

उनको लालनपालन मठमा भएको थियोे । प्राचीनकालमा जसले शिक्षा आर्जन गर्न चाहन्थे उनीहरू त्यसको लागि मठमा पादरीहरूको वा पुजारीहरूको शरणमा जानुपथ्र्यो । सबैप्रकारको शिक्षामा धर्मको प्रभाव रहन्थ्यो । बालकहरूलाई सबैभन्दा पहिले धर्मको पुस्तक पढाइन्थ्यो । यानेकी सबैलाई आ–आफ्नो धर्मको पुस्तकबाट पढाइ सुरु गराइन्थ्यो । आफ्नो ज्ञान र बुद्धिका कारण ब्रुनोलाई चाँडैनै पादरीको पद मिल्न गयो । तर ब्रुनोले युवावस्थादेखिनै धार्मिक सिद्धान्तप्रति नै विचार गर्न थाले । यी सिद्धान्तहरू उनलाई गलत लाग्दथे । तर धर्मको सिद्धान्तलाई गलत ठह¥याउन, विचार गर्न, कुरा गर्न, विरोध गर्न सबै धर्ममा प्रतिबन्ध छ । जस्तो कि कसैले प्रश्न ग¥यो वा उठायो भने त्यसलाई धर्मविरोधी वा धर्मविरुद्ध गयो भनेर भनिन्छ । अर्को शब्दमा भन्नुपर्दा अधर्मी भनेर सरापिन्छ ।

एकदिन अचानक ब्रुनोको दृष्टि मठको पुस्तकालय भित्र दराजमा राखिएको एक पुस्तकमाथि पर्दछ । धुलोले भरिएको यो पुस्तक छालाको गाता भएको थियो । जुन किताबलाई मुसाले जताततैबाट च्याथेको थियोे । ब्रुनोले त्यो किताबलाई खोलेर हेरे । किताब ल्याटिन भाषामा लेखिएको थियो र ल्याटिन भाषामा शीर्षक पढे ः आकाशलाई गोलाकार बनाइ घुम्ने विषयमा तोरुनवासी निकोलाई कोपरनिकसको किताब ।
कोपरनिकसको यस पख्र्यात कृतिको बारेमा ब्रुनोले अलि अलि सुनेका थिए । उनले त्यस किताबलाई खोजीरहेका थिए । त्यो बहुमूल्य कृति अब उनकै अगाडि देखा परयो । उनले सोचेकी यो किताब त पढ्नै प¥यो । यताउती सुनेको भन्दा खुद आफैँले पढेर कोपरनिकसको सिद्धान्तको बारेमा जानकारी हासिल गर्नुप¥यो भनेर उनी खुसी भए ।

मठका अधिकारीहरूबाट लुकेर उनले कोपरनिकसको किताब पढे र यस कुरालाई बुझे कि विश्वको बारेमा धर्मको धारणा गलत हो । किताबमा लेखिएको नयाँ सिद्धान्तको सरलता र स्पष्टताले उनी आश्चर्यचकित भए । सत्य कुरा उनको अगाडि देखा प¥यो । उनमा एउटा उत्साह र जोश यसरी देखाप¥यो कि उनले त्यो जोश र उत्साहलाई नियन्त्रण गर्न सकेनन् । बरु यिनले मठमा रहनेहरूको बीचमा यो पुस्तकको बारेमा चर्चा गर्न थाले । कुरौटेहरू मार्फत मठका अधिकारीहरूलाई उनका मतहरूका बारेमा थाहा भइहाल्यो र सजायबाट बच्नका लागि ब्रुनो मठबाट भागे । क्याथोलिक र प्रोटेस्टेन्ट चर्चहरूले कतै पनि उनलाई चैनपूर्वक बस्न र काम गर्न दिएनन् ।

अब यी नवयुवक ब्रुनोले कठोर दण्ड सजाय भोग्ने कुरा अनिवार्य जस्तै हुनगयो । ब्रुनोले यो कुरा बुझे र तुरुन्तै पादरीको पद त्याग गरे । अनि आफ्नो मातृभूमि छाडेर अन्य देशमा लागे । किनकि त्यस समय ज्यान बचाउनु अत्यन्तै जरुरी थियोे । ब्रुनो सकुशल भाग्न सफल भए । ब्रुनोले जीवनभर कोपरनिकसको सिद्धान्तको प्रचारको लगि संघर्ष गरिरहे । ब्रुनोले कोपरनिकसको सिद्धान्तलाई प्रचार गरेर एक परिश्रमी र असल शिष्यको रूपमा मात्र आफूलाई दोहो¥याएनन् बरु उनले त्यसलाई विस्तृत गरे । उनले कोपरनिकसले भन्दा अझ विस्तृत रुपले विश्व ब्रह्माण्ड (संसार)लाई राम्रैसँग बुझ्ने काम गरे ।

ब्रुनोले बताए कि पृथ्वी मात्र होइन सूर्य पनि आफ्नो धुरीमा घुम्दछ । उनको मृत्युको धेरै समयपछि यो विषय प्रमाणित हुन पुग्यो । उनले यो बताए कि ग्रहहरू सूर्यको वरिपरि वा चारैदिशा घुम्दछन् । मानिसले अहिलेसम्म जति गरेको छ, त्योभन्दा बढी आफ्नो ज्ञानभन्दा बाहिर रहेका अन्य ग्रह र ताराहरू पनि पत्ता लगाउन सक्दछ र रहस्यमा रहिरहेका अन्य कुराहरूको बारेमा खोज गर्दै जाँदा जानकारी लिन सक्छ । उनको यो कुरा सत्य र साँचो ठहरियो । उनको मृत्युको झण्डै दुईसय वर्षपछि सबभन्दा पहिले युरेनेस्का त्यसपछि नेप्च्युन र प्लुटो र अन्य सयौँ सानासाना ग्रहहरू पत्ता लागे । यिनलाई स्ट्रोइक भनिन्छ । यसप्रकार यस प्रतिभाशाली वैज्ञानिकको कुरा साँचो ठहरिन पुग्यो ।

कोपरनिकसले टाढा टाढाका ताराहरूलाई कम ध्यान दिन्थे भने ब्रुनोले निश्चित गरे कि हरेक ताराहरू सूर्यजस्तै विशाल छन् । उनले यो पनि बताए कि हरेक ग्रह हरेक ताराको वरिपरि घुम्दछन् । हामीले तिनीहरूलाई देख्न सक्दैनौँ किनकि तिनीहरू हामीभन्दा धेरै टाढा छन् । ब्रुनोले भने कि ब्रह्माण्डमा यस्ता ताराहरू असंख्य रूपमा छन् जुन हामीले देख्न सकेका छैनौँ । यिनीहरू स्वयम् आफैँ उत्पत्ति र आफैँ अन्त हुन्छन् । यी बदलिरहन्छन् । गतिशील र परिवर्तनशील छन् उनको यो विचार अत्यन्तै साहसपूर्ण थियोे किनकि धर्मका अनुसार संसार अपरिवर्तनशील छ ।
त्यो सदैव एकै ठाउँमा रहिरहन्छ । जस्तो कि ईश्वरले यसलाई एकपटक निर्माण गरिदिए । पादरीहरू अर्थात् इसाई मिसनरीहरूले ब्रुनोलाई ज्यानी दुश्मन मान्न थाले । ब्रुनोको यो सिद्धान्त अनुसार ब्रह्माण्डको आरम्भ र अन्त भन्ने हुँदैन । यो अनन्त र गतिशील छ ।

विश्वको सृष्टिको विषयमा तथा पृथ्वीमा इसा मसीहको उदयको बारेमा बाइबलका कथनहरूलाई मटियामेट (नामेट) पार्नको लागि ब्रुनोका तर्कहरू अत्यन्त बलशाली थिए । बाइबलमा उल्लेख गरिएका कुराहरू नै इसाई धर्मका आधार–स्तम्भ थिए । पादरीहरूले ब्रुनोको बिषयमा जुन अभियोगपत्र तयार गरे त्यो पूरै एकसय तीस पेजको थियो । पादरीहरूले यी महान वैज्ञानिकलाई अधर्मीको आरोप लगाए । उनीहरूले यो प्रयत्न बारम्बार गरे कि सबै देशका शासकहरूले ब्रुनोलाई आ–आफ्नो देशबाट निष्कासन गरिदिउन् । तर ब्रुनो जति भागीभागी घुम्थे त्यतिनै आफ्नो सिद्धान्तको साहसपूर्ण तरिकाले प्रचार गर्दथे ।

विदेशमा रहँदा ब्रुनोले दर्शन, गणित र ज्योतिषशास्त्रको बारेमा गहिरो अध्ययन गरे र रचनाहरू निर्माण गर्ने काम पनि गरे । उनले भन्थे कि दर्शन र विज्ञानको क्षेत्रमा जो कुनै व्यक्तिले काम गर्न चाहन्छ, उसले हरेक कुरामा र हरेक विषयमा शंका गर्नुपर्दछ । विदेशमा रहँदा ब्रुनोले फ्रान्स, इङ्गल्यान्ड, जर्मनी र परागमा आफ्नो समय बिताए । उनी लामो समयसम्म त्यहाँ टिक्न सकेनन् किनकि युरोपमा त्यतिबेला प्राचीन युनानी दार्शनिक अरस्तुलाई नै सबैभन्दा ठुलो दार्शनिक र विद्वान सम्झने गरिन्थ्यो । यही कारण थियो कि ब्रुनोलाई पराग विश्वविद्यालयमा पनि जागिर मिल्न सकेन । ब्रुनोलाई मातृभूमिको विछोडले निकै सताउँथ्यो र यसैकारण उनी इटाली फर्केर आए । यहाँ उनीसँग गद्दारी गरियो र उनी धर्माधिकारीहरूको सिकन्जामा परे । ब्रुनोले लगभग आठ वर्ष भयानक यातनासहित जेलमा बिताए । तर न त पाशविक यन्त्रणाहरू र न धर्माधिकारीहरूका अन्य कोसिसहरूले नै उनलाई आफ्ना विचारहरू त्याग्नका लागि विवश गर्न सके ।

पादरीहरूको अदालतले यी वैज्ञानिकलाई ज्युँदै जलाउने सजाय दियो । फैसला सुनेर ब्रुनोले आफ्ना हत्याराहरूतिर हेर्दै भने ‘सजाय तपाइँँहरू सुनाउँदै हुनुहुन्छ, मलाई जलाइँदै छ, तर डरले तपाईँहरू बढी काँपिरहनु भएको छ । ब्रुनोलाई मार्नका लागि उनका विरोधीहरूले उनको (ब्रुनोको) देशप्रेम (देशभक्ति)बाट अत्यधिक फाइदा उठाए । निर्वासित ब्रुनोको लागि स्वदेश फर्किनु अत्यन्त खतरा थियो । कुलीन इटालीवासी नवयुवक जियोवानी मोचेनिगोले एउटा यस्तो कपटपूर्ण षड्यन्त्र रच्यो कि उसको ब्रुनोका अनगिन्ती कृतिहरूमा विशेष रुचि छ जो युरोपका भिन्दाभिन्दै नगरहरूमा छापिएका थिए । उसले ब्रुनोलाई चिट्ठी लेख्यो कि उ ब्रुनोको शिष्य बन्न चाहन्छ र यसको बदलामा उसले ब्रुनोलाई राम्रै तरिकाले पुरस्कृत गर्नेछ । निर्वासित ब्रुनोको लागि स्वदेश फर्किनु अत्यन्तै खतरा थियो । तर मोचेनिगोले कपटपूर्ण तरिकाले उनलाई आश्वासन दिलायो कि उसले आफ्नो शिक्षकलाई बैरीहरूबाट जसरी भएपनि बचाउने छ । ब्रुनो विदेशमा यताउता भागदौड गर्दैगर्दा बेचैन भइसकेका थिए। उनले कपटी मोचेनीगोमाथि विश्वास गरे ।

महान वैज्ञानिकले यो बुझ्न सकेनन् कि उनलाई धोका दिएर इटलीमा फिर्ता बोलाउने यो नीच षडयन्त्रकारी योजना क्याथोलिक चर्चको न्यायालयद्वारा बनाइएको हो भनेर । स्पेन र इटलीमा इन्क्विजिशन नामक भयानक धार्मिक न्यायालय थियो । यसले विज्ञानका पक्षधरहरू अर्थात् धर्मको विरोध गर्नेहरूमाथि अत्याचार गर्दथ्यो । उक्त न्यायालयका न्यायाधीशहरूले आफ्नो कार्यकालमा लाखौँ निर्दोष जनताको ज्यान लिए । ब्रुनो पनि बिनाअपराध यस्तो षड्यन्त्रको सिकार भए । जिओर्दार्नो ब्रुनो इटलीको भेनिस नगरमा फिर्ता आए र मोचेनीगोलाई पढाउन लागे । मोचेनीगोले ब्रुनोलाई यो प्रतिज्ञा गराएको थियो कि उनी त्यहाँबाट फिर्ता जाने विचार भएमा उनले मोचेनीगोसँग अवश्य बिदा लिनेछन् । यो एउटा चाल थियो । मोचेनीगोलाई यो भय थियो कि यदि कहिँ ब्रुनोलाई धार्मिक न्यायालयको योजना थाहा भयो भने उनी पहिले झैँ चुपचाप भाग्नेछन् । परन्तु यदि ब्रुनो मोचेनीगोसँग बिदा लिन आएमा उनलाई रोक्न मुस्किल हुने छ ।

केही महिनाहरू बिते । मोचेनीगोले शिक्षा आर्जन ग¥यो अनि उसले ब्रुनोलाई आरोप लगाउन थाल्यो कि उनले उसलाई राम्रोसँग पढाउन सकेनन् । ता कि उसले आफ्नो भेद नखुलोस् भन्नेमा सतर्क थियो । यस आरोपको उत्तरमा ब्रुनोले भेनिस छाड्ने निर्णय गर्छन्, मोचेनिगोले यो सूचना धार्मिक न्यायालयलाई पुराइदिन्छ । २३ मे सन् १५९२ मा यी पख्र्यात वैज्ञानिकलाई गिरफ्तार गरेर जेलमा हालियो । उनले जेलमा आठ वर्षको यातनापूर्ण समय बिताए । गर्मी मौसममा अत्यन्तै गर्मी हुने र जाडो मौसममा अत्यन्तै चिसो हुने सीसाले बनाइएको घरको कोठामा बन्दी बनाएर राखियो । उनलाई असैह्य पीडा दिएर तड्पाइ तड्पाइ मार्न खोजियो । हत्याराहरूले ब्रुनोलाई आठ वर्षसम्म जेलमा किन राखे ? तिनीहरूले ब्रुनोलाई वैचारिक रूपमा गलाएर माफी मगाउन चाहन्थे । ब्रुनोलाई सजिलैसँग आफ्नो सिद्धान्त परित्याग गराउन बाध्य पार्ने मनसाय हत्याराहरूको थियो । ब्रुनोलाई आत्मसमर्पण गराउन सकेमा उनीहरूको ठुलो विजय हुन्थ्यो । पूरै युरोप यी पख्र्यात वैज्ञानिकलाई चिन्दथ्यो र उनलाई आदर पनि गर्दथ्यो । यदि ब्रुनोले आफू गलत भएको र पादरीहरू सहि भएको भन्ने कुरामा सहमत हुने हो भने जनतामाथि फेरी गलत चीजको वर्चस्व स्थापित हुनेछ भन्ने थियो । ब्रुनोलाइ यो कुरा स्वीकार्य भएन ।

ब्रुनो चट्टानजस्तै दृढ र साहसी व्यक्ति थिए । पादरीहरूले न त धम्की न त यातनाद्वारा उनलाई गलाउन सके । उनले दृढतापूर्वक आफ्ना विचारहरूको सच्चाइलाई सावित गर्दथे । अन्ततः हत्याराहरूले उनलाई मृत्युदण्ड दिने निर्णय सुनाए । त्यो क्रुर धार्मिक न्यायालयको निर्णय सुनेर ब्रुनोले न्यायालयका न्यायाधीशसँग शान्तिपूर्वक भने – ‘तपाईँ दण्ड दिने दण्डाधिकारी हुनुहुन्छ र म सजाय पाउने अपराधी हुँ तर आश्चर्यको कुरा यो छ कि भगवानको नाममा आफ्नो फैसला सुनाउँदै गर्दा तपाईँहरू मभन्दा निकै नै धेरै डराइरहनु भएको छ ।’ अदालतले एक थोपा पनि रगत नबगाइकन उनलाई मृत्युदण्ड दिने अर्थात् ज्युँदै जलाएर मार्ने निर्णय गरेको थियो । १७ फेब्रुअरी सन् १६०० मा इटलीको रोमस्थित सहरको चोकमा उनलाई एउटा खम्बामा बाँधियो र सैयौँ मानिसहरूको भीडमा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर ज्युँदै जलाइयो । हजारौँको भीड तमासे बनेर रमिता हेरिरह्यो । समाजमा बागीहरू भन्दा तमासेहरू धेरै हुन्छन् । तमासेहरूलाई डरको भूतले सताइरहेको हुन्छ । त्यो डरको भूत सत्ताले उनीहरूको दिमागमा जबर्जस्ती कोचिदिएको हुन्छ ।

वैज्ञानिकको भौतिक शरीर जलेर नष्ट त भयो तर उनको विचार नष्ट हुन सकेन । पादरीहरूले विज्ञानको यात्रा र प्रगतिलाई रोक्न सकेनन् । अपराधीहरूले एकजनालाई सिध्याएर विज्ञानको यात्रामा गतिरोध सिर्जना गर्न खोजेका थिए । उनीहरूको त्यो मकसद पूरा हुन सकेन । ब्रुनो खरानी भए तर विज्ञानको यात्रा रोकिएन । अनुसन्धान कार्य जारी रह्यो । उनीपछि ग्यालिलियो, केप्लर र न्युटनले विज्ञानको अनुसन्धान कार्यलाई अगाडि बढाए । चाल्र्स डार्विन, आइन्स्टाइन र हकिङ्गसम्म आउँदा विज्ञानले उधुम मच्चायो । अन्धविश्वासका पर्दाहरू च्यातिँदै गएका छन् । विज्ञानले एकपछि अर्को छलाङ्ग मार्दै गएको छ । तैपनि धर्मभिरुहरूले भ्रमको खेती गर्न छाडेका छैनन् । अहिलेको युग विज्ञान र प्रविधिको युग हो । विज्ञानको प्रचारप्रसार आमरूपमा जनमानसमा गर्न जरुरी छ । जब आम जनमानसले विज्ञानका आधारभूत सिद्धान्तहरूलाई बुझ्न सफल हुनेछन् तब अन्धविश्वासको महल गल्र्याम्म ढल्नेछ । रोमको जुन ठाउँमा ब्रुनोलाई ज्युँदै जलाइएको थियो । त्यसै ठाउँमा सन् १८८९ मा ती महान वैज्ञानिक सहिद ब्रुनोको शालिक स्थापना गरिएको छ । यसप्रकार अन्ततः ब्रुनोको जीत भयो ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार