धनगढी ।
नेपाल विद्युत् प्राधिकरणका दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूले विद्युत् प्राधिकरण प्रदेश कार्यालयमा कालोपट्टीसहित धर्ना कार्यक्रम जारी राखेका छन् । विगत तीन दिनदेखि काम चालू राख्दै उनीहरूले तलबी ज्यालामा राख्नुपर्ने भन्दै कालोपट्टीसहित धर्ना दिइरहेका हुन् । ज्यालादारी संघर्ष समितिका प्रदेश सचिव भक्तसिंह धामीले २०६५ सालदेखि न्यून ज्यालामा काम गर्दै आएको बताए ।
उनले सञ्चालक समितिलाई २०६८ सालदेखि मासिक ज्यालादारी बनाउन माग गर्दासमेत हालसम्म कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताए । उनले एक वर्षअघि सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको बताए । उनले भने, ‘निर्णय एकतर्फ गर्छ। तर, कार्यान्वयन गर्दैनन् । गरेको निर्णयलाई कार्यान्वयन गर्न कसले रोकेको रहेछ ।’
२०८० साल साउन १ गतेदेखि विद्युत्मा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मासिकमा परिणत गराउने निर्णय सञ्चालक समितिले गरेको थियो । तर, हालसम्म कार्यान्वयन नभएपछि आफूहरूमाथि अन्याय गरेको भन्दै आन्दोलन गरिरहेको उनीहरू बताउँछन् । प्रदेश अध्यक्ष रामचरण राणाले प्रदेश र इकाई कार्यालयमा धर्ना दिँदासमेत कुनै सुनुवाइ नभएकोले साउन २६ गतेदेखि सेवा ठप्प गरि केन्द्रीय कार्यालयमा आन्दोलन गर्ने बताए ।
उनले भने, ‘हामीले सेवा ठप्प गरे कुनै पनि विद्युत् पोलहरू मर्मत हुँदैन । थोरै ज्यालामा ज्याननै जोखिम राखेर काम गर्न सकिँदैन । मासिक नबनाएसम्म कुनै पनि विद्युत् पोलमा कसैले काम गर्दैनन् ।’ नरेन्द्रप्रसाद ढकालले सञ्चालक समितिले आशामात्र दिने तर, कुनै सुनुवाइ नगरेको बताए । उनले आन्दोलन कडारूपमा लग्ने बताए । उनले वार्ता सफल भए आन्दोलन नगर्ने तर सुनुवाइ नभए थप दबाबका कार्यक्रम अघि बढाउने बताए । उनले भने, ‘समयमै सञ्चालक समितिले माग सुनुवाइ गरे थप आन्दोलनका कार्यक्रम स्थगित हुन्छन् ।
यदि सुनुवाइनै भएन भने हामी पनि सोहीअनुसार अघि बढछौँ ।’ धनगढी वितरण केन्द्रका चन्द्रराज जोशीले दैनिक ज्यालादारीलाई उपलब्ध हुने रकमले बालबालिकालाई शिक्षा, स्वास्थ्यको व्यवस्था गर्न समस्या रहेको र दैनिक खर्च चलाउन पनि समस्या रहेको बताए । देशभरी दुई हजार आठ सय १६ जना दैनिक ज्यालादारी रहेका छन् । २६ साउनसम्म माग सम्बोधन नभए उनीहरू काम ठप्प गरेर काठमाडौँ जाने कार्यक्रम रहेको बताउँछन् । कर्मचारीले काम ठप्प गरेपछि विद्युत्का पोलहरू मर्मत नहुने र जसले गर्दा देशभरिनै अन्धकार हुने अवस्था सिर्जना हुने उनीहरूको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्