धनगढी ।
सुदूरपश्चिम प्रदेशको कैलाली तथा कञ्चनपुरमा आइतबार तीज पर्वको अवसरमा कार्यक्रम गरिएको छ । यहाँका राना थारू समुदायका महिलाहरू दिनभरी वर्त बसेर राति खोलाको पूजा गरेर सावनको डोलामा रमाउँदै आफ्नै स्वरमा गीत गाएर रमाएका छन् । तीज यो समुदायको ठुलो पर्व मानिन्छ र धूमधामसँग मनाउने गरिएको छ ।
महिला दिदीबहिनीहरू दिनभरी निराहार व्रत बसेर तीज पर्व मनाउने राना थारू समुदायकी अगुवा तथा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले बताइन् । ‘पानीसमेत नखाएर दिनभरि व्रत बस्ने गर्छौँ,’ उनले भनिन्, ‘पछि साँझ नदीमा पूजाआजा गरेर त्यहीँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ ।’
राना थारू समुदायको तीज अरू समुदायको तीजभन्दा फरक रहेको छ । महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गरेका छन् । त्यसैगरी, आफूहरूको तीज दरबिनाको तीज रहेको रानाले बताइन् । ‘अरू समुदायको जस्तो हाम्रो तीजमा दर खाने चलन छैन,’ उनले भनिन्, ‘साँझ पूजाआजा गरेर एकैचोटी प्रसाद र भात खाने हो ।’
नेपालमा अन्य समुदायले मनाउने तीजको अवसरमा महिनौँ दिनसम्म दर खाने गरेको देखिन्छ । तर, राना थारू समुदायका महिलाले दरबिनाको तीज मनाउने गरेका छन् । तीजको दिन दिनभरी निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको छ । त्यस क्रममा व्रतालु महिलाहरू समानकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन् ।
यसै गरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेको स्थानीय रामरतोदेवी रानाले बताइन् । मुरिया र झुरकी दुवै नदीमा सेलाइन्छ । सो क्रममा व्रतालुहरूले झुरकी र मुरियालाई नदीको धारमा छोडेर ‘धारै धार टाढा जानु, हाम्रो दाजुभाइ, भतिजाको उमेर बढाउनु’ भन्ने गरेको जनाइएको छ । झुरकी नदीमा बगेर जति टाढा गए दाजुभाइ, भतिजाको आयु त्यति नै लामो हुने विश्वास रहेको उनले उल्लेख गरिन् ।
तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसैगरी, दाजुभाइहरूले व्रतालुहरूलाई आशीर्वादको साथै सकेको दक्षिणा पनि दिने गरेका जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्