मुगुबाट ९३ करोडभन्दा बढी बजेट फिर्ता



मुगु ।

आर्थिक वर्ष २०८१–८२ मा मुगु जिल्लाबाट ९३ करोडभन्दा बढी बजेट फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालय मुगुका अनुसार जिल्लाबाट ९३ करोड २४ लाख तीन हजार रकम खर्च हुन नसकी फिर्ता भएको हो । सो आर्थिक वर्षमा कूल दुई अर्ब ८१ करोड ९१ लाख २४ हजारको बजेट विनियोजन भएको थियो । कूल बजेटमध्ये चालूतर्फ दुई अर्ब ३८ करोड ६९ लाख ९० हजार र पुँजीगत तर्फ १२ करोड ५२ लाख १८ हजार बजेट कार्यान्वयन भएको छ ।

उक्त खर्चपछि ३० करोड ६९ लाख १५ हजार तिर्फा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका प्रमुख हरि अधिकारीले जानकारी दिए । उनका अनुसार चालूतर्फ ९१.५ प्रतिशत र पुँजीगत तर्फ ६४ प्रतिशत गरी कूल ८९.२२ प्रतिशत बजेट कार्यान्वयन भएको छ । जिल्लाका स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकाले ३७ करोड ६० लाख ८७ हजार बजेट निकासा गर्दा ३४ करोड १७ लाख ४१ हजार ७४९ रूपैयाँँ मात्रै खर्च गरेको छ भने मुगु मुकर्मारोङ गाउँपालिकाले २३ करोड ३४ लाख १५ हजार बजेट निकासा गरेपनि १८ करोड ८६ लाख ३६ हजार ५०५ रूपैयाँँ मात्रै खर्च गरेको छ । जिल्लाको सोरु गाउँपालिकाले ३५ करोड ३३ लाख १६ हजार निकासा गरेमा ३० करोड ३५ लाख ४८ हजार खर्च भएको छ।

त्यस्तै खत्याड गाउँपालिकाबाट ४१ करोड ९१ लाख सात हजार रूपैयाँँ निकासा हुँदा ३५ करोड १५ लाख ५० हजार रूपैयाँँ खर्च भएको कार्यालयले जनाएको छ । संघीय कार्यालयहरूबाट आउने विकास योजना र आयोजनाहरूको संख्या थोरै भएका कारण पुँजीगतभन्दा चालू बजेटको खर्च बढी देखिएको हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालय प्रमुख भक्ती काफ्लेका अनुसार प्रदेश सरकारअन्तर्गतका आठ वटा कार्यालयको कूल बजेट एक अर्ब ६६ करोड ५१ लाख ६८ हजारमध्ये पुँजीगततर्फ ५९ करोड २९ लाख ६३ हजार र चालूतर्फ ४४ करोड ६९ लाख १७ हजार खर्च भएको छ ।
स्थानीय तहतर्फ कूल एक अर्ब तीन करोड ९८ लाख ८० हजार खर्च हुँदा ६२ करोड ५४ लाख ८८ हजार २५ रूपैयाँँ फिर्ता भएको छ ।

तर चालूतर्फ ८०.३१ प्रतिशत र पुँजीगततर्फ ५३.४७ प्रतिशत गरी कूल ६४.३७ प्रतिशत मात्र बजेट खर्च कार्यान्वयन भएको छ । दुवै कार्यालयका प्रमुखका अनुसार जिल्लाका अधिकांश सरकारी निकाय तथा स्थानीय तहहरूले समयमै काम सम्पन्न नगरेकाले उक्त बजेट खर्च हुन नसकी फिर्ता भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार