गफको देशमा क्रान्तिको कथा



गफसँगै सपना पनि मिसिनुपर्छ । गफ यस्तो होस्, जहाँ कोही भन्छ, ‘म मेरो गाउँमा एक दिन मेडिकल खोल्न चाहन्छु ।’ अर्को भन्छ, ‘म म्युजिक एकेडेमी खोल्छु ।’ तेस्रो भन्छ, ‘हाम्रो तालमा रिसोर्ट बनाउने योजना छ ।’ गफबाटै लोकतन्त्र पनि बलियो बन्छ । गफमा हामी नेताको आलोचना गर्छौँ तर गफमै किन नउठोस्, ‘भोलिको नगरसभा हामी सबैले हेर्नुपर्छ’, ‘कुन प्रतिनिधिले के गरे भन्ने सूची बनाऔँ’, ‘राजनीतिमा नयाँ अनुहार ल्याउन हामीले अभियान चलाऔँ ।’

डा. डक्टप्रसाद धिताल

नेपालमा चिया पसलको कुनामा बस्नुलाई हामी हल्का नजरले हेरिरहेका छौँ । चौतारीमा कुर्लिनु, बाटोमा उभिएर चर्चा गर्नु, कक्षा सकिएका बेला भेला हुनु, सामाजिक सञ्जालमा मनपरी लेख्नु– यी सबैलाई हामीले ‘गफ’को नाममा सामान्य मान्छौँ । त्यही गफ चेतनाको दिशामा मोडियो भने देशको नक्सा कोर्ने शक्ति बन्न सक्छ । गफले देश बनाउन सक्छ, गाउँ समृद्ध बनाउन सक्छ, व्यक्तिलाई ऊर्जावान् बनाउन सक्छ तर प्रश्न के छ भने हामी गफ के गरिरहेका छौँ ?

हामी गफ गर्छौँ तर अधिकांश समय गुनासो गर्छौँ । गफ गर्छौँ तर प्रायः अर्काको चरित्र हत्या गर्छौँ । गफ गर्छौँ तर समाधान होइन, समस्याको महिमा गर्छौँ । आज हामी गफलाई नै सिर्जनात्मक चेतनामा बदल्न सक्यौँ भने त्यो नै नेपालका लागि सस्तो र सशक्त ‘स्थानीय क्रान्ति’ हुनेछ । बसेको ठाउँमा गफ यस्तो गरौँ, जसले सोच बदलोस्, सकिने विश्वास दिलाओस्, आत्मनिर्भर बनाओस्, क्षेत्र समृद्ध बनाओस्, असल मानिसको सञ्जाल बनाओस् । यथार्थमा गफ क्रान्तिको बीउ हो– गफमा आत्मनिरीक्षण छ भने, समाधान खोजी छ भने, केही गरौँ भन्ने आँट छ भने ।

गफ भन्नासाथ हामीले चियापसलको हल्ला सम्झिन्छौँ तर वास्तवमा त्यो चौतारीको गफमा गाउँको योजना जन्मिन सक्छ । त्यो बैठकको गफमा सहकारी संस्था खोल्ने उत्साह आउन सक्छ । त्यो यात्राको गफमा कुनै युवा उद्यमी बन्न सक्छ । त्यसैले अब समय आएको छ, गफलाई पुनः परिभाषित गर्ने । नेपालको अधिकांश सामाजिक राजनीतिक विमर्श चियापसल, चौतारी, गल्ली, मेलापात, यात्राको ट्राफिक वा आजको युगमा फेसबुक, ट्विटर र टिकटकमै सुरु हुन्छ । गफलाई अब हल्काफुल्का भन्ने ठाउँबाट जिम्मेवार कुराकानी बनाउनुपर्छ । हाम्रो सोचमा परिवर्तन ल्याउने कुरा ‘व्यवस्थापन’ होइन, ‘चेतना’ हो ।

चेतना सधैँ ठूलोसभाबाट होइन सानो गफबाट सुरु हुन्छ । गफ यस्तो हुनुपर्छ जसले ‘आफ्ना लागि आफैँ केही गर्नुपर्छ’ भन्ने भावना पैदा गरोस् । अहिले पनि हजारौँ मानिस यस्तै सोचले आत्मनिर्भर भएका छन् । एकजना महिलाले आफ्नै घरको कोठाबाट ट्युसन पढाउन सुरु गरिन् । पाँच विद्यार्थीबाट सुरु भएको त्यही कक्षाले अहिले १५० विद्यार्थी पढाउँछ । उनी भन्छिन्, ‘काम खोज्दा खोज्दै थाकिएला तर काम सुरु गर्न हिम्मत भयो भने कोही रोक्दैन ।’ यस्ता कथाहरू लाखौँ नेपालीले बनाएका छन् । यी गफमा उठ्दैनन् ।

गफमा त बेरोजगारीको हल्ला मात्रै उठ्छ । गफमा मानिसले भन्छ, ‘काम छैन’ तर गफमा कसैले भन्दैन ‘सीप छैन’ । वास्तवमा समस्या सीपको हो, सोचको हो । एउटा व्यक्तिले दुध नपाउँदा भैँसी किन्ने सोच बनाउँछ, अर्कोले दुध छैन भनेर गाली गर्छ । गफ दोस्रो प्रकारको बढी हुन्छ तर पहिलो प्रकारको गफ बढ्न थाल्यो भने देश परिवर्तनको बाटोमा हुन्छ । ठगेर, झुट बोलेर, अरूलाई चिप्लाएर लाभ लिन खोज्नु हाम्रो गफको अर्को रोग हो । व्यापारका नाममा कपट, राजनीतिमा झुट, पारिवारिक सम्बन्धमा स्वार्थ– यी विषय गफमा सामान्यकरण गरिएको छ । जब कोही भन्छ, ‘धोका दिए पनि सफल हुन्छ’, त्यो गफ समाजलाई गाह्रो बनाउने विचार हो । हाम्रो गफ सिधा हुनुपर्छ, इमानदार हुनुपर्छ र आदर्श बन्न सक्नुपर्छ ।

धेरै गफ सरकार र सरकारी कामकाजमा केन्द्रित हुन्छन् । ‘अस्पतालको डाक्टर त ११ बजे आउँछ’, ‘विद्यालयको शिक्षक त झापा जान लागेको छ’, ‘नगरपालिकाको योजना त मुखियाले लिएको छ’– यी कुरा गुनासो हुन् तर यसलाई परिवर्तनको विषय बनाउन सकिन्छ । गफ यसरी मोड्न सकिन्छ, ‘अब हामी नागरिक स्वयं पालिकाको वेबसाइट हेर्छौं’, ‘आउनुहोस्, प्रत्येक योजना सुरु हुनुभन्दा पहिले अनुगमन समिति बनाऔँ’, ‘सामुदायिक स्कुलको अभिभावक भेलामा हामी बजेटकै विषय उठाऔँ’ । गफलाई जब सक्रिय नागरिकतामा रूपान्तरण गरिन्छ तब मात्रै गफले देश बनाउँछ ।

हाम्रो गफहरूमा ‘पैसा भए त के गर्नु’ भन्ने किसिमको पीडाभाव देखिन्छ तर गफमा कहिल्यै चर्चा हुँदैन, ‘हामीसँग जे छ, त्यसलाई केमा लगानी गर्न सक्छौँ ?’ एउटा टोलमा ३० जना छन् । प्रत्येकले मासिक पाँच सयको बचत गरे भने १५ हजार हुन्छ । त्यो बचतले एकजना बेरोजगारका लागि साइकल पसल खोल्न सकिन्छ । गफमा हामी बैंकको ऋण, विदेशको सपना र आफ्नै कमजोरीको शोक गर्छौँ । हाम्रो क्षेत्र समृद्ध बन्न सक्छ भन्ने विषय गफको केन्द्र बन्नुपर्छ । गाउँमा उत्पादन हुन्छ तर ब्रान्ड हुँदैन, त्यसैले बजार हुँदैन । गफमा यो कुरा उठेपछि मात्रै कसैले भन्छ, ‘ए, हाम्रो आँपलाई प्याक गरेर बेच्न सकिन्छ त !’ त्यही गफबाट कोल्ड स्टोरको कुरा आउँछ, साना उद्योगको योजना बन्छ ।

हाम्रो गफले सिकाउने होस् । हामी गफमा हाँसो खोज्छौँ तर ज्ञान खोज्दैनौँ । एउटा ६० वर्षको अनुभवी कृषकसँग २५ वर्षको बेरोजगार युवा बसेर गफ गर्छ भने त्यो युनिभर्सिटीको कक्षा हो । एउटा शिक्षकसँग बसेर स्कुलको अवस्था बुझ्दा त्यो नीति निर्माणको आरम्भ हो । गफ शिक्षाको प्रयोगशाला बन्न सक्छ, हामी गफ गर्ने साथी सही छान्न जान्यौँ भने । गफसँगै सपना पनि मिसिनुपर्छ । गफ यस्तो होस्, जहाँ कोही भन्छ, ‘म मेरो गाउँमा एक दिन मेडिकल खोल्न चाहन्छु ।’ अर्को भन्छ, ‘म म्युजिक एकेडेमी खोल्छु ।’ तेस्रो भन्छ, ‘हाम्रो तालमा रिसोर्ट बनाउने योजना छ ।’ सपना देख्नुलाई गफले प्रोत्साहित गरिदेओस्, आलोचना होइन प्रेरणा दिइयोस् ।

गफबाटै लोकतन्त्र पनि बलियो बन्छ । गफमा हामी नेताको आलोचना गर्छौँ तर गफमै किन नउठोस्, ‘भोलिको नगरसभा हामी सबैले हेर्नुपर्छ’, ‘कुन प्रतिनिधिले के गरे भन्ने सूची बनाऔँ’, ‘राजनीतिमा नयाँ अनुहार ल्याउन हामीले अभियान चलाऔँ’ । यस्ता गफ आन्दोलनको सूत्र बन्न सक्छन् । गफमा साहित्य पनि जन्मिन्छ । गफमा संगीत, नाटक, चित्रकला, लोकसंस्कृति उठ्न सक्छ । एउटा गफले लोकगीत बनाउँछ, अर्कोले कविता लेखाउँछ । चौतारीमा भएका गफबाट कथा लेखिन्छ, रेडियो कार्यक्रम जन्मिन्छ ।

गफ भनेको सिर्जनाको बीउ हो, यदि त्यहाँ भाव छ भने । गफमा आज हामी विगत सम्झिन्छौँ, ‘पहिले यस्तो थिएन, अहिले यस्तो भयो ।’ त्यसमा केवल दुःखको चित्र मात्र होइन, समाधानको बाटो पनि हुनुपर्छ । गफ पीडा पोख्ने माध्यम हो तर सँगै भविष्यको खोजी गर्ने ठेगाना समेत हो ।
गफ सस्तो माध्यम हो, धेरै सस्तो । पैसा लाग्दैन, मञ्च चाहिँदैन, कागज चाहिँदैन, केवल मन चाहिन्छ, मस्तिष्क चाहिन्छ र एउटा सकारात्मक दृष्टिकोण चाहिन्छ । गफमा हामी तीन थरी कुरा गर्न सक्यौँ– १. आफूले के गर्न सक्छौँ । २. अरूलाई के सिकाउन सक्छौँ । ३. समाजलाई के दिन सक्छौँ । त्यो गफ शुद्ध, सशक्त र समृद्ध हुनेछ ।

गफ अब बौद्धिक आन्दोलन बनोस् । बसाइ जहाँ भए पनि, जहाँको चौतारीमा भए पनि, जहाँको चियापसलमा भए पनि, जुन पार्टीमा भए पनि गफ यस्ता गरौँ, जसले हामीलाई के गर्ने भनेर सोच्न बाध्य बनाओस् । आफू बसेको ठाउँमा अब गफ यस्ता गरौँ, जहाँ एउटा चिया गफले एउटा सोच जन्माओस्, त्यो सोचले एउटा योजना बनाओस् र त्यो योजनाले देशलाई एक इन्च अगाडि बढाओस् । यही हो, गफको देशमा क्रान्तिको कथा ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार