श्यामलाल पोखरेल । बुटवल ।
नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेललले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीति गर्न नमिल्ने बताएका छन् । उनले राष्ट्रपति जस्तो उच्च पदमा रहेको सम्माननीय व्यक्ति राजनीतिमा आउन नैतिकताले पनि नदिने र नमिल्ने बताए ।
अर्थमन्त्रीसमेत रहेका एमाले नेता पौडेलले उनलाई एमालेले राष्ट्रपति बनाएपनि एमालेको सक्रिय राजनीतिमा आउन नहुने बताउँदै भने, ‘उहाँ हामी सबैको अभिभावक हो, सक्रिय राजनीतिमा आउन हुन्न ।’
एमाले रुपन्देहीले बुधबार बुटवलमा नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै संविधानको रक्षा गर्ने अभिभारा बोकेको सम्मानित व्यक्तित्व सक्रिय राजनीतिमा आउन नहुने र सम्मानित भएर बस्नु पर्ने बताए । पूर्वराष्ट्रपतिकै भूमिकामा रहन नेता पौडेलले विद्यादेवी भण्डारीलाई आग्रह गर्दै देश र जनताको चिन्ता र चासो दिएर बस्न सुझाव दिए ।
गणतान्त्रिक व्यवस्थामा राष्ट्रपति कुनै दलको हुन नहुने विषयमा एमाले ठहर गरेको बताउँदै संविधान रक्षकका हिसाबले एमालेको सक्रिय राजनीति गर्नुहुँदैन भन्ने पार्टीको बैठकले निष्कर्ष निकालेको बताउँदै नेता पौडेलले भने, ‘देशको अभिभावक बन्नुस्, राजनीति हामी गर्छौँ ।’
विद्यादेवी भण्डारीको सदस्यता नवीकरण प्रक्रिया नमिलेको उल्लेख गर्दै सदस्यता नवीकरण गर्ने व्यवस्था एमालेमा नभएको र सदस्यता त्यागेकाले नवीकरण गर्ने नभएर नयाँ प्रक्रियाबाट जानुपर्ने उनले तर्क गरे ।
उनले एमालेलाई कमजोर बनाउने र विभाजन गराएर रमाउन खोज्नेहरु पहिल्यैदेखि सक्रिय रुपमा लागि परेको बताउँदै कसैका कारण एमाले कमजोर नहुने भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यङ्य गर्दै आलोचना गरे । जसले एमालेलाई अनावश्यक विरोध गरेर विभाजन गराउन खोज्छ, उ आफैँ साइड लागेको इतिहास रहेकाले अहिलेपनि एमालेलाई चलाउनेहरु साइड लाग्ने बताए । पार्टी नेतृत्वको उमेर हदका विषयमा बोल्दै उनले भने, ‘७० वर्षे उमेर हदबारे धेरै छलफल भयो ।
सचिवालयले विगतमा राखेको विषयपछि हटाइयो ।’ कसैले भन्दैमा सरकार नढल्ने दाबी गर्दै उनले सरकारले मुलुकमा सुशासन, आर्थिक समृद्धि र विकास दिने गरी अघि बढेको बताए । काँगे्रस र एमालेको गठबन्धन देशमा सुशासन र विकास गर्न बनेको बताउँदै यो सरकार २०८४ सम्म रहने दाबी गरे । नेकपाका संस्थापक महासचिव पुष्पलालप्रति सम्मान व्यक्त गर्दै कम्युनिष्ट पार्टीमा पुष्पलालको महत्वपूर्ण योगदान रहेको बताउँदै एमाले पुष्पलालले देखाएको बाटोमा अगाडी बढेको दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्